संयुक्त राज्य अमेरिकालाई स्वतन्त्रता प्रदान गर्ने ऐतिहासिक शान्ति सम्झौतामा ग्रेट ब्रिटेन र अमेरिकाबीच सेप्टेम्बर ३, १७८३ मा हस्ताक्षर भएको थियो। त्यसको पाँच महिना पछि २२ फेब्रुअरी १७८४ मा न्यु–योर्क बन्दरगाहबाट चीन जाने उद्देश्यले पहिलोपटक अमेरिकी जहाज रवाना भयो। उक्त पानी जहाजको नाम इम्प्रेस अफ इन्डिया (Empress of India) थियो। त्यो जहाज न्युयोर्क एवं फिलाडोल्फियाका ब्यापारीहरूको कम्पनीको थियो र त्यसका कमाण्डर ग्रिन थिए।
त्यस यात्राको वर्णनका साथै क्यान्टनका अन्य दुई यात्राहरूको वर्णन सुरुवाती चीनियाँ ब्यापारका सन्दर्भमा धेरै चाखलाग्दा विवरणहरूका निम्ति हामी मेजर साम्युएल शा (क्यान्टोनका पहिला आवाशीय अमेरिकी वाणिज्य दूत) का टिपोटहरू प्रति ऋणी छौ। उनी जर्नेल नोक्सका कुनै बेलाका सहायक थिए । उनी अत्यन्त महत्वपूर्ण सामग्रीका रुपमा इम्प्रेस अफ इन्डिया (Empress of India) नामक पानी जहाजमा सवार थिए र त्यसको लगत्तै पछि १७८५ मा उनी “कुनै प्रकारको तलव, शुल्क वा खान्की नपाउने शर्तमा” चीनमा पहिलो अमेरिकी दूत (Consul) का रुपमा नियुक्ति गरिए।
इम्प्रेस अफ चाइना जहाज क्यान्टन भन्दा १४ मील तल ह्वाम्पोआमा २८ अगस्ट १७८४ मा पुग्यो र पहिलो पटक चिनिया बन्दरगाहमा अमेरिकी झण्डा फहराइयो।
इम्प्रेस अफ इन्डिया नामक जहाजले शुरु गरेको त्यो ब्यापार चाँडै उल्लेखनीय रुपमा बृद्धि भयो। सन् १८१९ सम्म आइपुग्दा, त्यतिबेलाको लेखाजोखा अनुसार, सन् १८१८–१९ को अवधिमा चीनले आयात गरेको सामानहरूको मूल्य अमेरिकी डलर ९८ लाख ७६ हजार २०८ थियो।
शुरुवाती दिनहरूमा क्यान्टनमा वैदेशिक ब्यापारका लागि अनुमति दिने शर्तहरू अनौठा थिए। चीनका सम्राटले १०–१२ ब्यापारीहरू नियुक्त गरे। तिनीहरू स्थानीय तवरमा “हङ्ग ब्यापारीहरू” वा “को हङ्ग” का नामले चिनिन्थे – र तिनीहरूलाई मात्र विदेशीसँग ब्यापार गर्ने अनुमति थियो। यिनै मानिसहरूका माध्यमले सरकारले भन्सार महसुल असूल गर्दथ्यो र त्यसका अतिरिक्त उनीहरू विदेशी ब्यापारीहरूका असल चालचलनका निम्ति जिम्मेवार ठहरिन्थे। “कोन्सू कोष” भनिने एक प्रकारको बीमा कोष विदेशी ब्यापारीहरूका निम्ति धेरै सुविधाजनक लाग्ने एउटा बन्दोवस्त थियो। यो सामान्य भन्सार महशुलका अतिरिक्त थोरै थप गरेर असूल गरिन्थ्यो। यो कोष, सिद्धान्ततः, टाट पल्टिन लागेका हङ्ग ब्यापारीहरूका वैदेशिक ऋणका दायित्वहरू चुक्ता गर्ने प्रयोजनका निम्ति परिलक्षित थियो, तर ब्यवहारमा त्यो कोष कर्मचारीहरूलाई खुशी पार्न, सम्राटलाई जन्मदिनको उपहार खरिद गर्न तथा त्यस्तै अन्य कामहरूका निम्ति उपयोग गरिन्थ्यो।
अफिम ब्यापारका सिलसिलामा उठेका विवादका कारण सन् १८४२ मा इङ्गल्याण्ड र चीनका बीच युद्ध भयो र नानकिङ सम्झौता भएपछि बन्द भयो। यस सम्झौताबाट वैदेशिक ब्यापारका लागि ५ वटा बन्दरगाहहरू; क्यान्टन, एमोय, फुचो, निङ्पो र सांघाई खोलिए। यसले अमेरिकाका निम्ति सम्भावनायुुक्त ब्यापार हुन सक्ने ठानी राष्ट्रपति टेलरले मित्रता, शान्ति तथा ब्यापारको सम्झौता–वार्ता गर्ने उद्देश्यले चीनमा राजदूत पठाउने अठोट गरे। संयुुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय श्वेत पत्र (United States Statutes at Large) मा चीनको पहिलो उल्लेख ३ मार्च १८४३ को संस्करणमा पाइन्छ । त्यसले “समान राष्ट्रिय लेनदेनका शर्तमा आधारित भएर संयुक्त राज्य अमेरिका र चीन साम्राज्यका बीचमा भविष्यमा ब्यापारिक सम्बन्ध स्थापित गर्न राष्ट्रपतिलाई सक्षम बनाउन” ४०,००० डलर छुट्टयाएको देखिन्छ। उक्त श्वेत पत्रका अनुसार (संख्या ३, अध्याय ९०, संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय श्वेत पत्र, ठेली–५, पृष्ठ ६२४) ‘‘सिनेटको सल्लाह र सम्मति विना कसैलाई पनि चीनको मिसनमा नियुक्ति गरिनु हुँदैन र बन्दोबस्तीका खर्च बाहेक कसैलाई पनि ९,००० डलर भन्दा बढी तलव दिइनु हुँदैन ।’’ राजदूतको पद, त्यति बेला सेन्ट जेम्सको दरबारमा मन्त्री रहेका एडवार्ड एभर्टलाई प्रस्ताव गरियो तर उनले उक्त पद अस्वीकार गरे। त्यसपछि कालेव कसिङ् (Caleb Cushing) लाई नियुक्त गरियो। उनलाई चीन प्रस्थान गर्न र सम्राट ताउक्वाङ् (छिङ् वंश) लाई निम्न बमोजिमको (त्यसबेलाका राष्ट्रपति जोन टेलरको) पत्र हस्तान्तरण गर्न निर्देशन दिइयो।
म, संयुक्त राज्य अमेरिका (यहाँ राज्यहरूका नाम दिइएका छन्) को राष्ट्रपति जोन टेलर, मैले आफै हस्ताक्षर गरेको शान्ति तथा मित्रताको यो चिट्ठी मौसुफ समक्ष पठाउँछु।
हजुरको सुस्वास्थ्यताको म कामना गर्दछु, संसारको ठूलो भू–भागमा फैलिएको चीन, एउटा महान साम्राज्य हो। चीनियाँँहरू असंख्य छन्। तपाईंका लाखौ लाख प्रजाहरू छन्। २६ राज्य मिलेर बनेको संयुुक्त राज्य अमेरिका चीन जत्तिकै विशाल छ, तथापी हाम्रा जनताहरू त्यति ठूलो संख्यामा छैनन्। उदाउँदो सूर्यले चीनका विशाल पहाड तथा नदीहरूको अवलोकन गर्दछ। जब त्यो त्यहाँ अस्ताउँछ, त्यसले संयुक्त राज्य अमेरिकाका त्यति नै विशाल पहाड तथा नदीहरूको अवलोकन गर्दछ। हाम्रा भूभागहरू एउटा ठूलो महासागर देखि अर्को महासागरसम्म फैलिएका छन् र पश्चिममा हामी तपाईंका भूभागबाट महासागरबाट मात्रै छुट्टिएका छौं। हामीले हाम्रा विशाल नदीहरूको मुखहरूबाट यात्रा शुरु गर्यौं भने र निरन्तर रुपमा घाम अस्ताउने दिशा तिर यात्रारत् रह्यौ भने हामी जापान एवं त्यसै गरी पँहेलो सागर पुग्छौं।
अब मेरो भनाई के छ भने दुई वटा यस्ता मुुलुकहरूका सरकारहरूको शान्तिपूर्ण सम्बन्ध हुनुपर्छ। उनीहरूले एक अर्कालाई इज्जत गरुन् तथा बुद्धिमतापूर्ण ढंगले काम गरुन्, यो नै उचित तथा भगवानको इच्छा मुताबिक हुन्छ। त्यसकारण मैले यो देशका बुद्धिमान तथा शिक्षित ब्यक्तिहरू मध्ये एक कालेव कुसिङ्लाई हजुरको दरबारमा पठाउँदैछु। चीनमा उनको पहिलो आगमनमा नै उनले हजुरका कुशलक्षेमको जानकारी लिने छन्। उनलाई हजुरको महान शहर पेकिङ् जान र त्यहाँ यो पत्र पेश गर्न कडा निर्देशन दिइएको छ। उनका साथमा सचिवहरू तथा दोभाषेहरू रहनेछन्।
चिनियाँहरू हाम्रा जनतासँग ब्यापार गर्न, हामीलाई चिया तथा रेशम बेच्न मन पराउछन्, जसका बदलामा हाम्रा जनताहरू चाँदीको भुक्तानी र कुनै कुनै बेलामा अन्य वस्तुहरूको भुक्तानी गर्दछन्। तर, चिनियाँ तथा अमेरिकीहरूले ब्यापार गर्ने हो भने, नियमहरू हुनुपर्छ, ता कि तिनीहरूले हाम्रा र तपाईंहरुका पनि कानूनहरू उल्लङ्घन नगरुन्। हाम्रा मन्त्री, कालेव कुसिङ्, ब्यापार नियमन गर्ने सन्धी गर्न अधिकार प्राप्त छन्। यो न्यायपूर्ण होस्। कुनै पनि पक्षलाई अन्यायपूर्ण तरिकाले फाइदा नपुगोस्। जनताहरूले क्यान्टनमा मात्र होइन, अपितु एमोय, निङ्पो, साङ्घाई, फुचो र चीन एवं संयुक्त राज्य अमेरिका दुवैलाई लेनदेन गर्दा फाइदा पुग्न सक्ने यस्ता अन्य सबै ठाउँहरूमा ब्यापार गरुन् तर त्यसो गर्दा उनीहरूले न त तपाईंहरुका कानूनहरूको उल्लङ्घन गरुन् न हाम्रा । हामी फटाहाहरूको पक्ष लिने छैनौ। हामी उनीहरूलाई तपाईंंहरूका कानूनहरू उल्लङ्घन गर्न उक्साउने छैनौ। त्यसकारण हामीलाई के शंका छैन भने यो पत्र लिएर हाम्रा शान्तिदूत पेकिङ् आएर त्यसलाई मौसुफका हजुरमा पेश गर्दा हजुरलाई खुशी नै हुनेछ। र, हजुरका उच्च अधिकारीहरूले हजुरको आज्ञा बमोजिम ब्यापारिक गतिविधिहरूलाई नियमन गर्न उनीसँग सम्झौता गर्नेछन् ता कि चीन र अमेरिका बीचको शान्तिमा बाधा पुग्ने कुनै घटना नहोस्। मौसुफ कै बाहुलीबाट सम्झौतामा हस्ताक्षर होस्। हाम्रो महान जनप्रतिनिधि परिषद्, सिनेटका तर्फबाट उक्त सम्झौतामा म हस्ताक्षर गर्नेछु । र, तपाईंको गाथमा आराम रहिरहोस् तथा शान्तिका विजय होस्।
हाम्रा प्रभुको वर्ष १८४३ को जुलाई महिनाको १२ गते वासिङ्गटनमा यो पत्र लेखियो । हजुरको असल मित्र।
चीन आइपुगेपछि कुसिङ्ले के थाहा पाए भने उनको सम्राटसँग भेट हुने कुनै सम्भावना थिएन, किनभने उनी आश्रित–राज्यका प्रतिनिधिका रुपमा आएका थिएनन्। त्यसकारण उनले पेकिङ्ग भित्रन नपाई मकाऊमा नै वाङ्घिया सम्झौता–वार्तामा आफूलाई सीमित राखे, जुन चीनसँग गरिएको अमेरिकाको पहिलो सम्झौता थियो। त्यसमा जुलाई ३, १८४४ मा कालेव कुसिङ् तथा चीनियाँ साम्राज्यका आयुक्त कियिङ्ले हस्ताक्षर गरेका थिए।
तपाईंंका सन्देशहरूको विश्लेषण पछि, हामी यस राज्यका मन्त्रीहरूले पूर्वका राजाको सुनौलो नजरका अघि पेश गरेनौ, किनभने त्यसो गरी हामीले त्यो सुनौलो नजरमा क्रोध उत्पन्न गराउन तथा आफुलाई ठूलो कोपभाजनको शिकार बनाउन पटक्कै चाहँदैन थियौ । तथापी, तपाईं महासागरको अर्को किनारको निवासी भएको तथा दिव्य दरबारका संस्कार एवं प्रचलनहरू तपाईंलाई थाहा नभएको हुन सक्ने कुरालाई नम्रतापूर्वक मनन गर्दै, विगतका भूलहरू माफी योग्य हुनसक्छन्, तर अब आइन्दा ठीक के हुन्छ भने, तपाईंंले स्थापित नियमहरूको पालना गर्नै पर्छ तथा प्रतिष्ठानुसार भेट चढाउनै पर्छ।
वाङ्घीयाका सम्झौतामा एउटा प्राक्कथन र चौतिस वटा धाराहरू थिए। त्यसमा भन्सार महसुलको अनुसूची राखिएको थियो। संक्षिप्तमा त्यस सम्झौता मातहतका बन्दोवस्त निम्न बमोजिम थिए।
१. ग्रेट ब्रिटेनले खोलेका ५ वटा बन्दरगाहमा ब्यापार गर्न अमेरिकीहरू स्वतन्त्र हुने। अन्य राष्ट्रका जनताहरूलाई समय समयमा प्रदान गरिने सबै बिशेषाधिकारहरू उनीहरूलाई पनि उपलब्ध हुने।
२. सम्झौतामा उल्लेखित बन्दरगाहहरूमा अमेरिकी नागरिकहरूलाई बसोवास तथा ब्यापारिक स्थानहरूको आवास गृहहरू, अस्पतालहरू, चर्चहरूको निर्माण र चिहान राख्ने ठाउँको ब्यवस्थापनको स्वतन्त्रता हुने, तर त्यस स्थानहरूको निर्धारण अमेरिकी एवं चीनियाँ अधिकारीहरू बीचको आपसी सहमतीमा गरिने र सम्झौताले सीमा तोकेका भन्दा बाहिर कुनै पनि विदेशीलाई यात्रा गर्ने अनुमति नहुने।
३. अमेरिकी नागरिकहरूको ब्यक्तिगत तथा सम्पत्तिको सुरक्षा स्थानीय अधिकारीहरूले प्रदान गर्ने।
४. अमेरिकीहरूले चीनमा कुनै पनि अपराध गरे पनि उनीहरू चीनियाँ न्याय प्रणालीबाट गुज्रन नपर्ने, तर संयुक्त राज्य अमेरिकाले नियुक्त गर्न सक्ने प्रतिनिधि वा त्यस्तै कुनै निजामति कर्मचारीको स्वविवेक अनुसार मुद्दा चलाइने वा दंडित गरिने।
५. संयुक्त राज्य अमेरिका र चीनमा उच्च अधिकारीहरू बीचको सम्वाद आपसी सम्वाद (चाउ हुइ) का रुपमा समानताका आधारमा सञ्चालन गरिने; तल्लो तहका अधिकारीहरू बीचको सम्वाद पनि त्यसै प्रकारका हुने; एक राष्ट्रको तल्लो तहको अधिकारीले अर्को राष्ट्रको माथिल्लो तहको अधिकारीलाई सम्बोधन गर्दा स्मरणपत्र (सिन चिन) का तौरतरिका अपनाउने; सामान्य ब्यक्तिहरूले माथिल्लो अधिकारीहरूलाई सम्बोधन गर्दा निवेदन (पिन चिङ्) को तौरतरिका अपनाउने । कुनै पनि अवस्थामा कुनै पनि एक पक्षलाई आपत्तिजनक हुन सक्ने सम्वोधनका रुप वा तौरतरिका प्रयोग नगर्ने।
६. सामान्य नियम कानूनको परिधिभित्र नरही, त्यसको बर्खिलाफ हुने गरी कुनै अमेरिकी नागरिकले कुनै पनि प्रतिबन्धित ब्यापार वा अफिमको ब्यापार गरेको पाइएमा, उ चीनियाँ अधिकारीहरूबाट दंडित हुन सक्ने ।
वाङ्घीया सम्झौताको उद्देश्य अमेरिकाबाट चीनमा निर्यातको उल्लेखनीय मात्रामा प्रवर्ध्दन गर्नु थियो र यस्ता निर्यातको मूल्य सन् १८४० मा ४,६९,००० डलरबाट बढेर, सन् १८४५ मा २०,७९,३४१ डलर पुग्यो।
सन् १८४४ सम्ममा संयुक्त राज्य अमेरिकाका प्रथम प्रतिनिधिका रुपमा कालेव कुसिङ् चीनको पेकिङ् जानु अघि, दुई राष्ट्रहरू बीचको सम्बन्ध बस्तुहरूको आदानप्रदानमा सिमित थियो। चीनबाट अमेरिकामा हुने प्रमुख आयातहरू चीया, चीनियाँ माटोका भाडा, कुखुराहरु र रेशम थिए भने अमेरिकाबाट चीनमा हुने प्रमुख निर्यातहरू–अमेरिकी सूतिका उत्पादनहरू, तामा, गिनसेङ्, मुद्रा र लण्डनका प्रत्याभूति (Bills of credit)थिए। सम्झौतायुक्त सम्बन्ध एकपटक स्थापित भइसके पछि तथा अमेरिका र चीन बीचको ब्यापार दिन दुई गुना र रात चौगुना बढ्न थाले।
अमेरिका र चीन बीचको ब्यापार बृद्धिपछि वैदेशिक समुदायको स्थानीयहरूसँगको पारस्परिक सम्बन्धका सन्दर्भमा प्रसस्तै ब्यबहारिक समस्याहरू खडा भए। त्यस्ता सवालहरू मध्ये एक थियो– अमेरिकी प्रतिनिधिहरूको हैसियतको निर्धारण गर्नु।
वाङ्घीयाको सम्झौता अनुरुप अमेरिकाले चीनमा रहेका आफ्नो नागरिकहरूको न्याय निसाफ आफै गर्न पाउने अधिकार सुरक्षित गरेको थियो। मार्च १, १८५५ को कानून अनुरुप प्रतिनिधि कार्यालयहरू (Consulates) सन्तोषप्रद रुपमा स्थापित गरिएका थिए; तर प्रतिनिधिहरूको क्षेत्राधिकार तथा न्यायनिसाफका विवरणहरू संकलन गर्न कठिनाई थियो र सन् १८५६ मा राष्ट्रपति पियर्स तथा सन् १८५७ मा राष्ट्रपति बुचनानले यस बिषयमा कङ्ग्रेसलाई सूचित गरेका थिए।
सन् १८५३ मा, जति बेला ताए–पिङ् विद्रोह उत्कर्षमा थियो। रवर्ट म्याक्लेनलाई अमेरिकी हितहरू हेर्ने गरी चीन पठाइएको थियो। नोभेम्वर ९, १८५३ मा उनलाई दिइएको निर्देशनमा प्रष्ट गरिएको थियो कि क्रान्तिकारी पार्टी सफल भयो भने उनले सत्तामा पकड जमाएको सरकारलाई मान्यता दिनु पर्थ्यो, तर धेरैवटा स्वतन्त्र सरकारहरू स्थापित भएको अवस्थामा उनले ती सबै समक्ष आफूलाई संयुक्त राज्य अमेरिकाको आधिकारिक प्रतिनिधिका रुपमा प्रस्तुत गर्नु पर्ने थियो। साम्राज्यका अधिकारीहरूले सधै नै, विदेशी राजदूतहरूसँग प्रत्यक्ष सम्वाद गर्न आफ्नो अरुची रहेको देखाए र चाँडै नै के देखा पर्यो भने विद्रोही नेताहरू आफ्नो शर्तहरूमा मात्र संयुक्त राज्य अमेरिकाका आयुक्तसँग सम्वाद गर्दथे।
साम्राज्य–समर्थक अधिकारीहरू मात्र होइन विद्रोही नेताहरू समेत राजदूतहरूको हैसियतबारे समान भ्रम पाल्दथे। मे २४, १८५४ मा सुस्केहाना नामक अमेरिकी वाष्प–जहाजका कमाण्डर फ्रयाङ्कलिन बुचनानले विद्रोही सेनाका प्रमुख सेनापतिलाई सम्बोधन गरी विद्रोही नेता ताए पिङ्ग वान र अमेरिकी आयुक्त म्याक्लेनको प्रत्यक्ष वार्ता गराउन अनुरोध गर्दै एउटा पत्र लेखे। त्यस पत्रको जबाफलाई यहाँ राख्न उचित ठान्नुको कारण, त्यो अति चाखलाग्दो छ। सिनेट आधिकारिक दस्तावेजहरू नं. २२, ३५ औं कंग्रेस, दोश्रो सत्र, ठेली–८, पृ–६२, ६३ मा सँग्रहित भनिएको उक्त जबाफको आधिकारिक अनुवादको लिखत यस बमोजिम छ :–
यहाँका प्रशासकीय दायित्वयुक्त मान्य पदबाट प्रतिष्ठित राज्यका दोश्रो श्रेणीका पहिलो तथा दोश्रो मन्त्रीको कार्यालय प्रमुख, दुई तह पदोन्नति गरिएका लिन र लो ले संयुक्त राज्य अमेरिकाका बुचनानलाई उनलाई समग्र परिस्थितिको जानकारी होस् भन्ना खातिर, यो अत्यन्त जरुरी पत्र पठाएकाछौं। जहाँबाट स्वर्गका पिता तथा स्वर्गका ठूल्दाईले आफ्नो महान अनुकम्पा प्रदर्शित गरे र यस भूमण्डलका अधिपति हाम्रा महाराजधिराजलाई ब्यक्तिगत रुपमा यस पृथ्वीमा अवतरित हुन तथा समग्र भूमण्डलको शान्तिप्रिय एवं सच्चा अधिपति हुन पठाउनुका साथै चौतर्फी प्रगति उन्मूख सरकारको स्थापनाको निम्ति दरबारको सहायक तथा बलियो सर्मथन गर्न पाँच राजाहरूलाई पनि पठाए ।अब त्यसकारण स्वर्गका पिता तथा स्वर्गका ठूल्दाईका अकाट्य आज्ञानुरुप यो शहर, यो भूमण्डलको राजधानी स्थापित तथा निर्माण गरिएका हुनाले, सबैै राष्ट्रहरूले यहाँ आउने र महाराज समक्ष दाम राखेर दर्शन गर्ने तथा चारैवटा समुद्रहरूले झुकेर निर्देशनहरू प्राप्त गर्ने यो अत्युत्तम समय हो।
बुचनान, तपाईंबाट एउटा सार्वजनिक दस्तावेज प्राप्त भएको छ, जस्मा तपाईंंले यहाँ आउने तथा पूर्वका राजाका सुनौलो मुहारको दर्शन गर्ने अभिलाषा प्रकट गर्नु भएको छ; तर हामी राज्यका मन्त्रीहरूले त्यस सामाग्रीहरू पढ्दा के पायौ भने, तपाईंले समानहरूका बीचमा प्रयोग गरिने शब्दावलीको प्रयोगलाई उपयुक्त ठान्नु भएको छ। यो सही तौरतरिकाहरूसँग पटक्कै मेल खाँदैन।
हाम्रा पूर्वका राजा (मौसुफको आयु नौ हजार वर्षको होस्!) ले यस संसारमा अवतरित हुनुका निम्ति र संसारका सबैै जीवित प्राणीहरूलाई दैवका दरबारमा हाजिर गराउने काममा सहयोगी बन्न आदरपूर्वक दैवी आज्ञा प्राप्त गरेका हुनाले, महासागरका किनारमा बसोबास गर्ने तथा दैवका करुणाबाट उत्तिकै अनुप्राणित तपाईंंले पनि घुँडा टेकेर महाराजको दर्शन गर्नु र उपहार चढाउनु पर्दछ र यसरी साँचो अर्थमा शरणागत हुने सिद्धान्तहरूको अनुसरण गर्नु पर्दछ, ता कि दरबारलाई उपहार चढाउने तपाईंंको स्वेच्छा प्रकट होस्।
तर, तपाईंंका सन्देशहरूको विश्लेषण पछि, हामी यस राज्यका मन्त्रीहरूले पूर्वका राजाको सुनौलो नजरका अघि पेश गरेनौ, किनभने त्यसो गरी हामीले त्यो सुनौलो नजरमा क्रोध उत्पन्न गराउन तथा आफुलाई ठूलो कोपभाजनको शिकार बनाउन पटक्कै चाहँदैन थियौ। तथापी, तपाईं महासागरको अर्को किनारको निवासी भएको तथा दिव्य दरबारका संस्कार एवं प्रचलनहरू तपाईंलाई थाहा नभएको हुन सक्ने कुरालाई नम्रतापूर्वक मनन गर्दै, विगतका भूलहरू माफी योग्य हुनसक्छन्, तर अब आइन्दा ठीक के हुन्छ भने, तपाईंंले स्थापित नियमहरूको पालना गर्नै पर्छ तथा प्रतिष्ठानुसार भेट चढाउनै पर्छ।
स्वर्गका पिता तथा ठूल्दाईको अनुकम्पाको जहाँ सम्म कुरा छ, त्यो तपाईंको बुद्धिको बिर्को खोल्न र तपाईंंलाई जगाउन प्रदर्शित भएको छ, जसले गर्दा सच्चा अधिपति नजिक आउन तथा दरबारमा हाजीर हुन तथा दिव्य राजधानीको अझ निकट हुन तपाईंं प्रेरित हुनुभएको छ। यी सबै कुरा स्वर्गका पिता तथा ठूल्दाईका तपाईंप्रतिको अनुकम्पाको रुपमा तपाईंंले पाउनु भएको छ र त्यो तपाईंको सुख पनि हो।
साँचो शरणागत भएपनि तपाईंंले निश्चित रुपले दुर्लभ, साह्रै राम्रा र महङ्गा सामाग्रीहरू तयार गर्नै पर्छ र तिनलाई राजाका सम्मानमा अर्पित गर्नु पर्दछ र यसरी तपाईंले दैवी विचार बुझेको प्रदर्शित गर्नु पर्दछ।अब स्वर्गका पिता, सर्वोच्च प्रभु, सर्वोच्च शासक नै एक मात्र सच्चा भगवान, भूमण्डलका सबैै राष्ट्रहरूका आत्माहरूका जनक भएकाले; संसारका तारणहार जेसस, स्वर्गका ठूल्दाई, भूमण्डलका सबैै राष्ट्रहरूका आम ठूला ठूल्दाई भएकाले; हाम्रा अधिपति, दैवी राजा, भूमण्डलका सबै राष्ट्रहरूका शान्तिपूर्ण तथा सच्चा अधिपति भएकालेः त्यसकारण त्यसै अनुरुप, भुमण्डलका सबै राष्ट्रहरूले उनीहरू प्रति शरणागत छन् भन्ने जानी, उनीहरूले स्वर्ग प्रति भक्तिभाव राख्नु तथा अधिपतिको आज्ञा पालन गर्नु पर्दछ। वास्तवमा हामीलाई के कुरामा डर लागेको छ भने, भेदहरूको कल्पना गरेर यो राष्ट्र र त्यो राष्ट्र भनेर सच्चा शास्त्रले बताएको एकत्वलाई नबुझेर, तपाईं आफै पनि स्वर्गका कुरा पूर्णरुपमा आत्मसात् गर्न चुकिरहनु भएको छ। त्यसकारण, हामीले यो विशेष पत्र तपाईंलाई पठाएका हौ।
यदि तपाईंं साच्चै स्वर्गको आदर गर्नु हुन्छ र अधिपतिको आधिपत्य स्वीकार गर्नु हुन्छ भने, भूमण्डलका सबैलाई एउटै परिवारका रुपमा लिने तथा सबै राष्ट्रहरूलाई एकताबद्ध बनाउने हाम्रो दिव्य दरबारले तपाईंको विश्वसनीय उद्देश्यलाई निश्चितरुपमा इज्जत गर्ने नै छ र हरेक वर्ष उपहारहरू ल्याउन तथा दरबारमा तिरो तिर्न अनुमति दिने छ, ता कि दैवी वंशको आशिर्वाद–प्राप्त नदीमा आफूलाई सधैं समाहित गराउँदै, तपाईंहरूका आफ्ना भूमिमा शान्तिपूर्वक बसोवास गर्दै र सभ्यतापूर्वक बाँच्दै तथा गौरवमय जीवनको आनन्द उठाँउदै तपाईंहरू दिव्य अधिराज्यका मन्त्रीहरू तथा जनता बन्न सक्नुहोस् । यो हामी महान मन्त्रीहरूको इमान्दारीपूर्ण चाहना हो। तपाईंले यो पत्राचार अनुरुप कार्य अनिवार्यरुपले गर्नुहुनेछ र यसको विरोध गर्नुहुने छैन। महान तथा शान्तिप्रिय दैवी वंशको चौथो महिनाको २४ औ दिन।
(मंगलबार, ३० मे, १८५४) ।
(सन् १९०२ मा प्रकाशित Allende Ireland द्वारा लिखित China and Powers को छोटो अंश। यो पुस्तक जम्माजम्मी १५० प्रति छापिएका थिए। खासखास व्यक्तिलाई वितरण गरिएका थिए र त्यसपछि यसको प्रिन्टिङ्ग प्लेट नष्ट गरिएका थिए। अर्को भागमा सन् १८५६ मा भएको संयुक्त राज्य अमेरिका र चीनका बीचमा पहिलो पटक भएका शसस्त्र मुठभेटबारे चर्चा छ।)
यो पनि पढ्नुहोस्-
चीनमा पश्चिमाहरुको पहिलो अध्ययन भ्रमण (मार्को पोलोबारे रोचक वर्णनसहित)