काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषदले गरेको ३८ वटै नियुक्ति परिषदमै फिर्ता गरेका छन्। सापकोटाले मुख्य सचिवलाई पत्राचार गर्दै, पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएकाले संसदीय सुनुवाई गर्न नसकिने लगायतका विविध कारणहरू देखाउँदै नियुक्ति सिफारिस फिर्ता गरेका हुन्। सभामुख सापकोटाले परिषदलाई पत्र लेख्दै सिफारिस फिर्ता गर्नुपर्नाका कारणहरू समेत उल्लेख गरेका छन्।
यसअघि, संवैधानिक निकायहरुमा नियुक्तिका लागि गरिएको सिफारिसको संसदीय सुनुवाईका लागि सभामुखलाई पत्राचार गरिएको थियो। विभिन्न ११ संवैधानिक निकायमा रिक्त रहेका पदमा कामचलाउ प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफ्ना पक्षका मानिसहरु सिफारिस गरेका थिए। ओलीले गरेको सिफारिस कानुन विपरीत रहेको भन्दै सर्वोच्च अदालतमा रिट समेत परेको छ।
उनले आइतबार ८ बुँदे धारणासहित उक्त नियुक्ति सफारिस फिर्ता गरेको जनाएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओली, प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जवरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई पत्रको बोधार्थ पठाइएको छ।
Discussion about this post