न्यारोबडी जहाज किन्न एयरबसले नेपाली अधिकारीलाई ४ करोड घुस खुवाएको खुलासा

नेपाल एयरलाइन्सले सन् २०१५ मा खरिद गरेका न्यारोबडी जहाजमा भ्रष्टाचार भएको आरोप लागेको छ।जहाज खरिदबिक्रीमा जहाज निर्माता कम्पनी एयरबसले नेपाल एयरलाइन्सका अधिकारीहरूलाई घुस खुवाएको आरोप लागेको हो। फ्रान्स र बेलायतका भ्रष्टाचारविरोधी निकायले संयुक्त रूपमा गरेको अनुसन्धानले यस्तो देखाएको हो।

अनुसन्धान प्रतिवेदनअनुसार एयरबसले नेपालमा जहाज बिक्री गर्नका लागि सन् २०१४ र २०१५ मा दुई पटकमा ३ लाख ४० हजार युरो पठाएको उल्लेख गरिएको छ। यससम्बन्धी समाचार नेपालमा पहिलो पटक अंग्रेजी पत्रिका द काठमान्डु पोष्टले लेखेको थियो।त्यतिबेला नेपाल एयरलाइन्सको महाप्रबन्धक मदन खरेल थिए।

अनुसन्धानको क्रममा नेपाल एयरलाइन्सका अधिकारीसँग पनि बयान लिइएको बताइएको छ। दुई साताअघिसम्म नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्ष रहेका खरेल अहिले भने राजीनामा दिएर विदेश गइसकेका छन्।एयरबसले नेपालमा जहाज बिक्री गर्न सन् २००७ देखि नै एकजना व्यापारीलाई एजेन्ट नियुक्त गरेको प्रतिवेदनमा उल्लेख छ। एजेन्ट बनेका ती व्यापारीले नेपाल एयरलाइन्ससँग सेटलमेन्ट मिलाउने काम गरेको बताइएको छ।

त्यसपछि सन् २००९ मा एयरबसबाट नेपाल एयरलाइन्सले एउटा एयरबस ए ३२० र एउटा ए ३३० जहाज किन्नेगरी एमओयु भएको थियो। तर पछि सन् २०११ मा खरिद सम्झौता भने दुबै जहाज ए३२० किन्ने सम्झौता भयो।खरिद सम्झौता हुनुअघिसम्म विभिन्न चरणमा नेपाल एयरलाइन्सका कार्यकारी तहबाट पत्रचार भएको र सेटलमेन्टका लागि निकै प्रयास भएको बताइएको छ।

एइरबसका दुई न्यारोबडी जहाज सन् २०१५ मा नेपाल आइपुगेका थिए।नेपाल एयरलाइन्सलाई एयरबस आफैंले घुस भने दिएको छैन। उसले भारतीय उपमहाद्वीपमा काम गर्न भन्दै एउटा कम्पनीसँग सम्झौता गरेको छ।नेपाल एयरलाइन्ससँगको जहाज खरिद प्रक्रिया सफल पार्नका लागि १८ लाख अमेरिकी डलर दिने प्रतिवद्धता जनाइएको प्रतिवेदनमा उल्लेख छ।यो जहाज खरिद प्रकरणमा केही समयअघि संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अनुसन्धान गरे पनि प्रतिवेदन भने गोप्य राखिएको छ। सेतोपाटी

फेसबुकबाट तपाईको प्रतिक्रिया