नेकपा प्रचण्ड–माधव समूहसम्बद्ध अनेरास्ववियूले संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
अनेरास्ववियू कार्यालय, बागबजारमा बसेको बैठकले यही पुस २१ गतेदेखि २९ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । कार्यक्रमअनुसार आज सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाइएको छ र प्रत्येक कलेजमा कालो ब्यानर राखेर विरोध प्रदर्शन र कोणसभा गरेको छ।
पौष २२ गते उपत्यकामा लाल्टिन जुलुस् र उपत्यकाबाहिर आवश्यकताअनुसार लाल्टिन र स्टिी र लाठी जुलुस, २३ गते देशव्यापी रुपमा प्रधानमन्त्रीको पुत्ला जलाउने, २४ गते सिडियो कार्यालयमा ज्ञापनपत्र तथा धर्ना, २५ गते असंवैधानिक कदमविरुद्ध सडक वहस कार्यक्रम, २६ गते बयलगाडा प्रदर्शन, २७ गते प्रतिगमनबिरुद्ध सडक कविता गीत र गजल कार्यक्रम गर्ने, २८ गते सडक नाटक र सडक आर्ट (स्ट्रिट वाल पेन्टिङ), २९ गते सडकमा प्ले कार्डसहित कार्टून प्रदर्शन गर्ने बताइएको छ ।
यस्तै, संसद विघटनको विरोधसँगै संघीय संसदबाट सर्वसम्मत रुपमा जारी गरिएको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सामा भएको भूमि फिर्ता गर्न र उक्त भूमिसहित शिक्षा मन्त्रालयले प्रकाशित गरेको पाठ्यसामग्री तत्काल वितरण गर्न संघर्ष गर्ने निर्णय पनि अनेरास्ववियूले गरेको छ ।
कक्षा ११ को पाठ्यक्रममा देखिएको अन्यौल तत्काल अन्त्य गर्न दवावमुलुक कार्यक्रम सञ्चालन गर्ने, कोभिड-१९ का कारण अवरुद्ध परीक्षा तत्काल शुरु गर्न र अनलाइन कक्षाको नाममा मनपरि ढंगले लिइएको शुल्क खारेज गर्न आन्दोलन गर्ने निर्णय पनि बैठकले गरेको छ ।