नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य घनश्याम भूसालले पार्टी अध्यक्षद्वय प्रचण्ड र केपी शर्मा ओली जतिकै पार्टीभित्र आफ्नो पनि हैसियत भएको बताएका छन्। स्वर्गीय वाम नेतृ सहाना प्रधानको स्मृतिमा सोमबार राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा नेता भूसालले भने, ‘यो पार्टीमा हामी समान छौं भन्ने औपचारिक कुरा हो, वास्तवमै म समान छु। म कमरेड प्रचण्डजतिकै यो मुभमेन्टको अधिकारी हुँ। म मनसा, वाचा, कर्मणा कमरेड ओली जतिकै छु। यहाँ मेरो मूल्य, मेरो मानवीय मूल्य, मेरो कम्युनिष्ट मूल्य, मेरो वैयक्तिक जीवनको मूल्य कमरेड ओलीभन्दा कम छैन भन्ने कुरा यो वर्गले बुझ्न सके क्रान्तिको ग्यारेन्टी त्यसले गर्छ। अरु आवरणका कुरा हुन्’ उनले भने ।
उनले कम्युनिष्ट आन्दोलनको मिसन शुरू गर्नेहरु विचारधारामा अडिग रहनुपर्ने बताए। सैद्धान्तिक रुपमा आजको समाज दलाल पूँजीवादी भएको पनि उनले औंल्याए। तर यसबाट बाहिर निस्कन त्यो वैचारिक निर्माणमा सँगसँगै छौं भन्ने ग्यारेन्टी गर्नुपर्ने उनको भनाइ थियो। उनले प्रधानमन्त्री ओली र प्रचण्डतर्फ इंगित गर्दै दुवैलाई “म” भन्ने भावना नराख्न अनुरोध गरे। ‘म भन्नेहरु यो संसारमा सत्यानाश भएर गएका छन्, हामी भन्नेहरुको मात्रै विजय भएको इतिहास छ । त्यसैले आफ्ना–आफ्ना स्वार्थमा नलागी हामी भन्ने भावनाका साथ अगाडि बढ्नुको विकल्प छैन ।’ उनले हामी भन्न सके मात्रै कम्युनिष्ट आन्दोलन र देशको समृद्धि सम्भव भएको जिकिर गरे ।