नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा झापा क्षेत्र नं. १ का सांसद् राम कार्की (पार्थ)ले गल्तीहरु थाती रहिरहेमा उज्यालोले पनि आफ्नो बाटो खोज्ने बताउनुभएको छ ।
झापाको बुद्धशान्ति–१ मा शहीद वेद आचार्य र नारायण आचार्यको १८ औँ स्मृतिको दिवसको अवसरमा आज आयोजित कार्यक्रममा उहाँले त्यस्तो बताउनुभएको हो । उहाँले महान शहीदहरुबाट प्रेरणा लिएर वर्गीय हित, समाज परिवर्तनमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
“यदि कम्युनिष्ट आन्दोलनबाट वर्गीय लडाइँको सम्बन्धच्यूत गरेर पुँजीपतिको साथमा देखा पर्यौं भने समाजवादको लक्ष्यमा पुग्न नयाँ पीढि अवस्य आउने छ”, उहाँले भन्नुभयो, “गल्तीबाट पाठ सिकेर वर्गीय हितमा लाग्नुपर्छ अनिमात्र समाजवाद स्थापित हुनेछ ।”शहीद वेद आचार्य र नारायण आचार्य स्मृति प्रतिष्ठानका अध्यक्ष छत्र तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा शहीद माता हिरादेवी आचार्य, शहीद देवकी पत्नी टीका आचार्य, शहीद राम प्रधानका छोरा डम्बर प्रधानलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष मिरा भुर्तेल, नेकपा जिल्ला कार्यालय सदस्य अरुण श्रेष्ठ, जिल्ला सचिवालय सदस्य पवन तिम्सिना लगायत नेता–कार्यकताको बाक्लो उपस्थिति रहेको थियो । झापा अनलाइन