काठमाडाैं– पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकहरुले निष्कर्ष निकालेका छन्। वायोप्सी, डोटा नोक परीक्षण, इन्डोस्कपी अल्ट्रासाउन्ड, पीइटी सिटी स्क्यानसहित अन्य परीक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको प्रमाणित गरेकाे उनका स्वकीय सचिव विश्वदीप पाण्डले जानकारी दिए।
देखिएको ट्युमरलाई भने बेलैमा नै ढिला नगरी दुई/तीन महिनाभित्रै शल्यक्रियाद्वारा फाल्नुपर्ने चिकित्सकले सुझाव दिएकाे उनको भनाइ छ। ‘यदि बेलैमा शल्यक्रिया नभएमा भने क्यान्सरको खतरा पनि हुनसक्ने कुरामा चिकित्सकले आज भएको परामर्शमा सचेत गराउनुभएको छ,’ उनले भने।
भट्टराईको फेब्रुअरी २२ बाट भारतको दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण भइरहेको थियो। उनले डा प्रोफेसर विक्रम भाटियासँग परामर्श लिएका थिए। भट्टराई भोलि फागुन १८ गते मंगलबार नेपाल वायुसेवाको जहाजबाट नेपाल फर्कनेछन्।-नेपाल लाइभ