सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले कास्की क्षेत्र नम्बर २ बाट निर्वाचन नलड्ने प्रष्ट पारेका छन्।हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको स्थानमा हुन लागेको उपनिर्वाचनमा आफू उम्मेदवार नबन्ने गौतमले स्पष्ट पारेका हुन्। गाैतमकाे यो निर्णयसँगै विद्या भट्टराईले उक्त क्षेत्रबाट उमेदवारी दिने पक्कापक्की भएको छ । यस निर्णयले स्थानीयहरुको नयाँ रवीन्द्र अधिकारीको रुपमा विद्या भट्टराईलाई देख्ने आशा यथार्थमा बदलिने भएकोछ।
गाैतमले फेसबुकमा स्टाटस लेख्दै उनले आज बसेको पार्टीको सचिवालय बैठकलाई आफू कास्की जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नदिने जानकारी गराएको समेत उल्लेख गरेका छन्।आफूलाई कास्कीबाट उम्मेदवार बन्न नेकपा अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत आग्रह गरेको उनले स्टाटसमा खुलाएका छन्। चुनाव लड्न आग्रह गर्ने सबैप्रति उनले धन्यवाद समेत दिएका छन्।
२०७४ मा प्रतिनिधिसभा सदस्य पदका लागि बर्दिया क्षेत्र नम्बर ‘१’ बाट उम्मेदवारी दिँदा विपक्षीको तुलनामा वाम गठबन्धनसँग ३२ हजार मत बढी हुँदा पनि पराजित भएको स्मरण गर्दै उनले लेखेका छन्, ‘त्योभन्दा अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो।’ कास्कीको निर्वाचनमा स्थानीयलाई नै स्थानमा दिनुपर्नेमा समेत उनले जोड दिएका छन्। स्मरण रहोस् विद्या भट्टराई स्थानीय हुनुका साथै अनेरास्ववियूकी केन्द्रिय सचिव हुन्। त्रिविविमा प्राध्यापन गरेकी उनी दिवङ्गत वौद्धिक नेताको असली अनुयायी हुनसक्ने क्षमता राख्दछिन्।