पुराना वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधन भएको छ । मानन्धर विगत एक महिनादेखि पाटन अस्पतालमा उपचार गराइरहेका थिए। ९१ वर्षीय नेता मानन्धरको सोमबार राति ८ः२० मा निधन भएको हो । राणाविरोधी आन्दोलनदेखि निरन्तर कम्युनिष्ट आन्दोलनमा लागेका मानन्धर सादगी नेताका रुपमा परिचित थिए । मानन्धरले कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउन निरन्तर प्रयास समेत गर्दै आएका थिए । उनले जिन्दगीभर कुनै पनि सरकारी पद लिन चाहेनन् ।
नेकपा (संयुक्त) स्थापनामा महत्वपूर्ण योगदान भएका उनलाई वि.सं. २०४६ को जनआन्दोलनपछि मन्त्री बन्न आग्रह गरिए पनि उनले अस्विकार गरेका थिए । त्यसको सट्टा निलाम्बर आचार्यलाई उक्त जिम्मेवारी सम्हाल्न मानन्धरले अनुरोध गरेका थिए । संयुक्त वाममोर्चा निर्माणमा पनि उनको उल्लेखनीय योगदान थियो । उनका छोरा सुनिल मानन्धर नेकपा हाल (माओवादी केन्द्र) का नेता छन् । मानन्धरका तीन छोरीहरू छन् ।