बिपी राजमार्ग र मध्यपहाडी लोकमार्ग पहिराका कारण अवरुद्ध भएका छन्। सिन्धुली सडकखण्डमा पर्ने दुवै राजमार्गमा लेदो र पहिरो खसेपछि राजमार्ग अवरुद्ध बनेको हो। बिपी राजमार्गअन्तर्गत सुनकोशी गाउँपालिकामा पर्ने कमेरे फाँटमा सडकमा लेदो खस्दा राजमार्गमा दुवैतर्फीका सवारी साधन रोकिएका छन्। अवरुद्ध राजमार्ग पुनः सञ्चालन गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए।
केही समयअघि उक्त स्थानमा खसेको लेदो पन्छाई एकतर्फी सवारीसाधन सञ्चालन गरिए पनि फेरि लेदो खसी राजमार्ग अवरुद्ध भएको उनले जानकारी दिए। उक्त स्थानमा डोजर लगाई लेदो पन्छाउने काम भइरहेको पनि उनले जानकारी दिए। यस्तै मध्यहाडी (पुष्पलाल) राजमार्गअन्तर्गत बादुरे र सोखु खोलामा ठूलो बाढी आएपछि सवारी आवागमन रोकिएका छन्। उक्त स्थानमा पप्पुु कन्स्ट्रक्सनले पुल समयमा नै नबनाउँदा खोलामा आएको बाढीका कारण साधन रोकिनुपरेको हो। यस्तै मध्यपहाडी लोकमार्गको सिन्धुली सडकखण्डअन्तर्गत गोलञ्जोर गाउँपालिकाका बलेनी र कुखुरेटारमा सडकमा खसेको पहिरो पन्छाउने काम सकिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उपेन्द्र न्यौपानेले जानकारी दिए । उक्त राजमार्गअन्तर्गत गोलञ्जोर–१ च्याकुटारबेँसीमा सडकमा खसेको पहिरो पन्छाउन डोजर पठाइएको उनले जानकारी दिए ।
उक्त स्थानमा पहिरो जाँदा एक घर जोखिममा परेको भनी जानकारी आए पनि घर जोखिममा नपरेको उनले जानकारी दिए। सडकमा पहिरो खसेपछि त्यस उताको सवारी साधन आवागमन रोकिएको र डोजरले पहिरो पन्छाउने उनको भनाइ रहेको छ । सिन्धुलीमा मनसुनको सक्रियतासँगै केही दिनदेखिको निरन्तर वर्षाका कारण खोलामा पानीको बहाव बढेको र सम्भावित बाढीपहिराबाट बच्न र बचाउन प्रशासनले आग्रह गर्दै आएको उनको भनाइ छ। जिल्लामा केही दिनदेखि निरन्तर वर्षा भएको र हालसम्म जनधनको क्षति नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। रासस