यस्तो क्षण आउँछ भनेर मलाई पहिले नै थाहा थियो। कुकुर भुकेजस्ता चर्का भाषणहरूमा लगाम नलगाइँदा आखिर यस्तै भीडभाड र दंगा फैलन्छ भन्ने अनुमान मलाई थियो। २०२० को राष्ट्रपतीय चुनावको इलोक्टरल कलेजको औपचारिक भोट गन्ने क्रम चलिरहँदा हिजो दंगाकारीहरूले अवरोधहरू छिचोल्दै क्यापिटोल हिल छिरे। यो कृत्य क्यापिटोल हिल नजिकै हाम्रा राष्ट्रपति डोनल्ड ट्रम्पको अध्यक्षतामा ‘अमेरिका जोगाउँ’ मार्चपछि भएको थियो।
यसलाई अझ प्रष्ट पारौं। ‘घरेलु शसस्त्र गोरा आतंकवादी’हरू क्यापिटोल हिलको संघीय भवनभित्र छिरे, जहाँ निर्वाचित अधिकारीहरू नियमित कामकारवाही संचालन गरिरहेका थिए। भवनभित्र बन्दुक बोकेका व्यक्तिसमेत छिरेका थिए। हिंसाका क्रममा एक जनाको ज्यान गयो। भवनबाट कंग्रेस सदस्य (सांसद)हरूलाई तत्कालै सुरक्षित स्थानतर्फ लगियो। दंगाकारीहरू भने बैठक कक्षमा बसे र झण्डा फहराए, हल्ला गरे र चिच्याए।
कतिपय व्यक्तिहरू भ-याङहरूमा बसे र फोटो खिचे। कतिपयले प्रहरी अधिकृतहरूसँग बसेर सेल्फी खिच्नसमेत भ्याए। प्रदर्शनकारीहरूले आफूहरू रातभर क्यापिटोल हिलमै बस्ने र २०२० को राष्ट्रपतीय निर्वाचनमा चुनाव जितेका राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई जसरी पनि रोक्ने कुराको ऐलान गरे। यो अस्तव्यस्ता रोक्न अन्तत : वासिङ्टन नजिकैका मेरिल्याण्ड र भर्जिनिया राज्यबाट नेसनल गार्ड र प्रहरीको सहयोग मागियो।
यो घटनालाई केही पहिले काला अल्पशंख्यकहरूले अमेरिकामा गरेको प्रदर्शनीसँग जोडौं। उतिखेर काला जातिका प्रदर्शनकारीहरूमाथि टियर ग्याँस हानिएको थियो। उनीहरूले गरेको सभ्य र शान्तिपूर्ण प्रदर्शनमा रबर बुलेट हानिएको थियो र निर्घात पिटिएको थियो। प्रहरी ती दमनका लागि तयार थिए र हातहातमा टियर ग्याँस बोक्नका लागि प्रहरीलाई अनुमति थियो। निशस्त्र मान्छेविरुद्ध उनीहरूले व्यापक तयारी गरेका थिए, भारीभक्रम हतियारले युक्त थिए।
र हिजो त्यस्तो हुन्छ भनेर डिसी प्रहरीलाई अवश्य थाहा थियो। देशभरीबाट आफ्ना नेतालाई सहयोग गर्न भनेर ट्रम्पका समर्थकहरू वासिङ्टन आएका छन् भन्ने कुरो तिनलाई पहिले नै थाहा थियो। उनीहरूलाई दंगा र हिंसा फैलन सक्छ भन्ने अनुमान अवश्य थियो। तर कसरी कसरी यी गोरा मान्छेहरू भित्र सदनको काम चलिरहँदा नै भित्र छिर्न सके। उनीहरू भित्र छिर्दा पनि उनीहरूलाई कसैले पिटेन। उनीहरू भित्र छिरेर झ्याल ढोका तोडफोड गर्दासमेत तत्कालै टियर ग्याँस प्रहार गरिएन। र पनि डोनल्ड ट्रम्प भन्दैछन्, ‘प्रदर्शनकारीहरूलाई म माया गर्छु र उनीहरूको पीडा महसुस गर्न सक्छु।’
अमेरिका एकदमै अप्ठ्यारो अवस्थामा नेसनल गार्डको प्रयोग गरिन्छ र पछिल्लो पटक नेसनल गार्डको प्रयोग गत वसन्तमा भएको थियो। विशेष गरी ‘लफेयाट चोक’मा भएको ‘ब्ल्याक लाइभ्स म्याटर्स’ (कालाको जीवन उत्तिकै महत्वपूर्ण छ) नामको विरोध सभामा टियर ग्याँसको प्रयोग भएको थियो। प्रदर्शनकारीहरूलाई तितरबितर पार्दै त्यहाँबाट हटाएर सेन्ट जोन्स चर्चका अगाडि डोनल्ड ट्रम्पले बाइबल बोकेर एउटा फोटो खिच्नकै लागि त्यसो गरिएको थियो। तर यतिसम्म विभेद किन ? किन सबै प्रदर्शनकारीलाई उस्तै व्यवहार गरिन्नँ?
अब वासिङ्टनमा प्रदर्शन गर्नेहरू घरेलु आतंकवादको मुद्धामा पक्राउ पर्छन्? अथवा संघीय अपराधको कसुरमा तिनलाई मुद्धा चलाईन्छ? अथवा, २०१६ को ‘मालहेर राष्ट्रिय वन्यजन्तु आश्रय’ कब्जा गर्दाताक जस्तै हुन्छ? हामी सबैलाई थाहा छ, त्यतिखेर यदि त्यहाँ संलग्न मान्छेहरू काला जातिका थिए भने उनीहरू झ्याप्पै समातिन्थे।
यसबीचमा, उत्पादकहरूको राष्ट्रिय संगठन (नाम) तथा थुप्रै अरु टिप्पणीकारहरूले क्याबिनेटसँग सहकार्य गरेर संविधानको ‘२५ औं संसोधन’लाई जगाउन आग्रह गरेका छन्। त्यसो गर्दा, राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो राजनीतिक जिम्मेवारी पूरा गर्न नसकेको कारण स्वतः राष्ट्रपतिबाट हट्नेछन्।
तर राष्ट्रपतिलाई हटाए पनि ट्विटरबाट उत्तेजना फैलाउन र -यालीहरू गर्नबाट ट्रम्पलाई कसैले रोक्न सक्ने छैनन्। ट्रम्पका तर्फबाट हिंसा मच्चाउन उनका समर्थकहरूलाई रोक्न सकिने छैन किनभने उनीहरूका अनुसार ‘चुनावको परिणाम त चोरिएको थियो।’ सत्य यो पनि हो, जनवरी २० सम्म पनि उसलाई रहन दिइएन भने उनका समर्थकहरूलाई झनै आक्रोशित बनाउन सक्छ।
हिजो अट्लान्टा, डेन्भर र टोपेका राज्यका क्यापिटोल भवनमा पनि ट्रम्प समर्थकहरू भेला भए। तर अन्यत्र भने अहिलेसम्म हिंसाका घटना भएका खबर आएका छैनन्। तर जे भएको छ, त्यो स्विकार्नयोग्य छैन। यस्तो प्रजातन्त्र हुनै सक्दैन। राष्ट्रपतिबाट उक्साइएको ‘कू’ नै थियो यो। यो अनपेक्षित थिएन र त्यसको प्रभाव अझै सकिएको पनि छैन।
‘कालाको जीवन उत्तिकै महत्वपूर्ण छ’ भन्ने आन्दोलन र सेता आन्दोलनकारीहरूबीच अपनाइएको दोहोरो मापदण्डको विषयमात्र होइन यो। सुरक्षा र न्यायको पनि कुरो हो यो। प्रहरीले गरेको दमन र अत्याचारबारे काला जातिहरूले पनि निरन्तर जवाफदेहिता खोजिरहेका छन्। सेता अमेरिकनहरूले बल प्रयोगद्वारा प्रजातान्त्रिक चुनावको परिणाम रोक्न खोज्दा ‘बिना तयारीका प्रहरी अधिकृत’ हरू भेटे अनि त्यसैलाई अहिले सहानुभुतिका साथ हेरिँदैछ। यो नै गम्भीर कुरा हो।
अमेरिकामा भएकाहरूका सबैका लागि यो चासोको विषय हो, जसले आफ्नो सुरक्षालाई महत्वपूर्ण ठान्छन् । हामीलाई भविष्यबारे बताउनुहोस्। समताबारे बताउनुहोस्। न्यायका बारे बताउनुहोस्। म त्यस्तो देश देख्न चाहन्छु जुन देशले सबै रङ र नश्लका जीवनहरूलाई उत्तिकै महत्व देओस्।
–द इन्डिपेन्डेन्टबाट