चीन सीमा क्षेत्रको गलवान उपत्यकामा भएको दुई देशका सेनाबिचको भिडन्तको तीन दिनपछि चीनले १० भारतीय सैनिकलाई स्वतन्त्र गरेको छ ।द हिन्दूमा प्रकाशित खबर अनुसार चीनले बिहीबार बेलुका १० भारतीय सैनिकलाई स्वतन्त्र गरेको हो।
सुहासिनी हैदर र दिनकर पेरीले हिन्दूमा लेखेको समाचार अनुसार भारत र चीनको आर्मीका मेजर जनरल तहमा भएको वार्तापछि बन्धक रहेका भारतीय सैनिक स्वतन्त्र भएका हुन्।
पूर्व लद्दाखसँगैको गलवान उपत्यकाको वास्तविक नियन्त्रण रेखा (एएलसी) मा गएको सोमबार राति भारत र चीनका सैनिकबिच भिडन्त भएको थियो । सो भिडन्तमा भारतका एक उच्च सैनिक कमाण्डरसहित २० जनाको ज्यान गएको थियो।भिडन्तको क्रममा चीनको नियन्त्रणमा रहेका १० भारतीय सैनिक मेजर जनरल तहमा भएको वार्तापछि स्वतन्त्र भएको खबरमा उल्लेख छ।
यसरी स्वतन्त्र हुनेमा भारतीय सेनाका एक लेफ्निेन्ट कर्णेल र तीन मेजर पनि रहेका छन्।बुधबार बेलुका भारत र चीनका मेजर जनरल तहको वार्तामा भएको सहमति अनुसार १० भारतीय सैनिकलाई बिहीबार बेलुका पाँच बजेतिर चीनले रिहा गरेको र उनीहरुलाई कुनै चोट नपुर्याइएको सुरक्षा स्रोतलाई उद्धृत गर्दै हिन्दूले जनाएको छ।
भारतीय सेनाले अब एलएसीमा भएको भिडन्तपछि कुनै पनि भारतीय सैनिक बेपत्ता वा सम्पर्क बाहिर नरहेको स्पष्ट पारेको छ।