भाष्यहरु कुनै चिजलाई कसरी हेर्ने एउटा जड–दृष्टिकोण हो। भाष्य आफैं निर्माण हुनसक्छन् तर कैयनलाई नियतका साथ निर्माण गरिन्छन्, व्यापक गराइन्छन् र लोकप्रिय बनाइन्छन्। भाष्यहरुको प्रयोग या दुरुपयोग ऐतिहासिक सूचना तथा तथ्यहरु, वर्तमानका सूचना तथा जानकारीहरु, तपाईं–हाम्रा भावनाहरु, आदर्श परिदृश्यहरु, तपाईं–हामीसँग नभएका सूचना तथा जानकारीहरुका आधारमा टेकेर प्रयोग गरिन्छ। यसको मनशाय आफ्नो व्यवशाय र कर्मलाई विस्तार गर्नका लागि पछुवा वा समर्थक तयार गर्नु रहेको हुन्छ।
भाष्य जडदृष्टिकोण हो– यसमा कुनै पनि सङ्गति हुँदैन। जस्तै
- यसले सधैं ऐतिहासिक सूचना तथा तथ्यलाई तरोडमरोड गर्छ। यसले कुनै तथ्य वा सूचनालाई प्रयोग गरिहाल्यो भनेपनि उसका तर्कहरुलाई सहयोग पुग्नेलाई मात्र स्वीकार गर्छ र उसका तर्कहरुसँग बाझिने सूचना कि लुकाउँछ वा कि निन्दा गर्छ।
- यसले वर्तमान सूचना तथा तथ्यहरुलाई तरोडमरोड गर्छ। सूचनाको वैधताका प्रमाणहरुलाई बदनाम गर्न र खारेज गर्न अनेकन सिध्दान्तहरु कथ्ने गर्छ।
- यसले जनसमूहको भावनालाई गर्नुसम्म प्रयोग वा दुरुपयोग गर्छ जस्तै कहिले यसले संदेहवादको या कहिले आस्थाको आड लिन्छ ।
- यसले आदर्श वा रामराज्यको परिदृश्य देखाउँछ जसले तपाईं–हाम्रो संदेहवादलाई भजाउँछ। यसले कहिले स्वर्ग देखाइदिन्छ कहिले बलवान तस्वीर देखाउँछ।
- यसले तपाईं–हामीमा रहेको सूचना तथा जानकारीको कमी र सूचना तथा तथ्य बटुल्ने हाम्रो अल्छिपनलाई भजाउँछ या दुरुपयोग गर्छ।
- अन्तमा वाकचातुर्यता भएको पात्रलाई प्रवक्ताको रुपमा अघि सार्छ। त्यो प्रवक्ता हाम्रो अघि सर्वज्ञानी जस्तो भएर तयारीका साथ मञ्चमा मात्र देखा पर्छ।
हाल कैयन भाष्यहरु सर्वत्र सुनिएका छन् तर हामीहरु केही मात्रको पछुवा भएका छौं। भाष्यहरु विकसित राष्ट्र र विकासोन्मुख राष्ट्रमा फरक –फरक सुनिन्छन्। तर अन्तर्य र अर्थ समान छन्। जस्तै “बनाऔं राष्ट्र-पुनः महान” “हाम्रो मुलुक महान हो” या “हाम्रो मुलुक महान थियो”। हाल यस्तो भाष्य अमेरिका, युरोप वा अफ्रिका वा एशियामा प्रचलित छन् र आआफ्ना स्वार्थअनुरुप प्रचारमा छन्। यसैगरी “त्यो मुलुक हाम्रो शत्रु हो”, “त्यो जात चोर हो”, “त्यो जात ठग हो”, “त्यो धर्मावलम्वी आतङ्कवादी हो”, “हाम्रो संस्कृति संकटमा छ” “त्यो जात राष्ट्रघाति हो” आदि।
भाष्यहरु एक कथनका रुपमा मात्र प्रचारित भएका हुँदैनन्। यसलाई विभिन्न ढाँचामा वा वाक्यमा प्रचार या स्थापित गरिएका हुन्छन्। जस्तै उदाहरणका लागि लिनुहोस्: “हाम्रो राष्ट्र महान हो” भन्ने भाष्यलाई स्थापित गराउन अनेकन कदमहरु चालिन्छन्।
- हाम्रो राष्ट्र सबैभन्दा महान थियो
- हाम्रो राष्ट्र अब महान रहेन
- के तपाईं राष्ट्र र जनता फेरि उठोस् भन्ने चाहनुहुन्न
- यदि हामीले यो वा त्यो गर्यौं भने हामी उठ्नेछौं र समृद्ध हुनेछौं। जस्तै यो व्यक्तिलाई जिताउनु होस् या हराउनु होस्। युवालाई नरोक– वृद्ध बाटो छोड।
- हामीलाई वर्तमान अवस्थामा पुर्याउन यी जिम्मेवार छन्– जस्तै, राजनीतिक दलहरू या त्यसका बृध्द नेताहरु, खसआर्यहरु, भारत, आदि।
यी कुराहरु प्रचार गर्न राजनीतिज्ञ, समाचार एङ्कर, सेलिब्रेटी, वकिल, सामाजिक सञ्जालका व्यक्तित्वहरूलाई प्रवक्ताको रूपमा प्रयोग गरिन्छ।
यसरी प्रसारित भाष्यहरूलाई पत्याइहाल्ने हो भने तपाईंहामी पछुवा बन्छौं कहिल्यैपनि चिन्तक वा अगुवा बन्न सक्दैनौं। भाष्यहरु दक्षिणपन्थी या वामपन्थी दुवै पक्षले बनाएका हुन सक्छन्। जसले बनाएका भएपनि तिनीहरूले प्रसारका लागि एउटै ढाँचालाई प्रयोग गर्छन्। हामीले थाहा पाउनु पर्ने कुरा के हो भने जसले गरेका भएपनि तथ्य र तार्किक तर्क छैन भने ती बकवास हुन्। यदि तपाइँहामीले तर्क र सामान्य ज्ञानलाई प्रयोग गर्यौं भने निर्मित भाष्यहरुका पछुवा हुदैनौं।
एक क्षण सोचौं– हामीहरु आजकाल के के भाष्यहरुका पछाडि कुदिरहेका छौं। हामी पछुवा होइन अगुवा बनौं।
सन्दर्भ सामग्री स्रोत – श्वेताभ गनग्वारद्वारा लिखित The Rudest book ever ।