मध्यपुर थिमी नगरपालिकाले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालसँगको सहकार्यमा कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेका नगरबासिन्दाको समुदायमा आधारित परीक्षण तथा निगरानी गर्न सुरु गरेको छ । यसका लागि बायोसेफ्टी लेभल टू को मलिकुलर प्रयोशाला मैत्री अस्पतालमा सञ्चालन भएको जानकारी दिइएको छ ।
मध्यपुर नगरपका ९ वडाको सहकार्यमा अहिलेसम्म विभिन्न १५ देशबाट फर्किएका ५३ जनाको पहिचान गरी उनीहरुको स्वास्थ्य अवस्था तथा यात्रा गरेको रुटबारेको जानकारी संकलन भएको पनि बताइएको छ । उनीहरुको नमूना परीक्षण गर्दा सबैमा कोरोना भाइरसको संक्रमण नरहेको पुष्टि भएको जनाइएको छ ।
नेपाल कोरिया मैत्री अस्पतालमा अहिले कोरोना भाइरसका सम्भावित संक्रमितका लागि १६ वटा आइसोलेसन बेड तयारी अवस्थामा राखिएको र २० बेड क्षमताको क्वारेन्टाइन वार्ड पनि तयार पारिएको जानकारी दिइएको छ ।