विगत २४ घण्टामा नेपालमा थप १,१११ जनामा कोभिड-१९ पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो भने पुष्टि भएका सङ्क्रमितको सङ्ख्याले दोस्रो पटक १,००० नाघेको हो।
सो अवधिमा कोरोनाभाइरस सङ्क्रमणका कारण आठ जनाको मृत्यु भएको छ। अहिलेसम्म एक चिनियाँ नागरिकसहित देशभरि १८३ जनाको कोरोनाभाइरससँग सम्बन्धित कारणले ज्यान गुमाएका छन्।अहिले देशभरि १५,२७३ जनामा सक्रिय सङ्क्रमण भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अपराह्ण आयोजित दैनिक प्रेस ब्रीफिङमा बताए।
तीमध्ये ६,२१० जना घरमै र अन्य ९,०६३ जना संस्थागत आइसोलेशनमा छन्।अहिले फेला परेका सङ्क्रमितमध्ये काठमाण्डौं उपत्यकामा ३७७ जना छन्।यो पनि उपत्यकाका तीन जिल्लामा अहिलेसम्म पुष्टि भएको सर्वाधिक दैनिक सङ्ख्या हो।
को हुन् मृतक?
मृतकहरू काठमाण्डौं ,ललितपुर, बारा, पर्सा, कास्की, कपिलवस्तु, रूपन्देही र बाँके जिल्लाका हुन्।बारा र कास्कीमा मृत्यु हुने महिलाहरूको उमेर क्रमशः २३ र ३२ वर्ष छ।अरू मृतकहरूको उमेर ४८ देखि ७० वर्षसम्म भएको मन्त्रालयले जनाएको छ।
को हुन् सङ्क्रमित?
सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन्। उनीहरू विभिन्न उमेर समूहका भए पनि अधिकांश युवा छन्।तीमध्ये ३३४ जना महिला र ७७७ जना पुरुष भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।अहिले काठमाण्डौं जिल्लामा सर्वाधिक २७० जनामा सङ्क्रमण पुष्टि भएको हो।त्यसैगरी पर्सामा ८५, चितवनमा ४५, मकवानपरमा ६३, ललितपुरमा ६६, भक्तपुरमा ४१, बाँकेमा ७५, रूपन्देहीमा ७२, धनुषामा ३९ र सुनसारीमा ३८ जनामा पनि कोभिड-१९ भेटिएको हो।
के छ अरू तथ्याङ्क?
चौबीस घण्टाको अवधिमा १२,६२९ वटा नमुनाको परीक्षण गरिएकोमा ५६९ जना सङ्क्रमणमुक्त देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।अहिलेसम्म २०,००० भन्दा केही बढी सङ्क्रमितहरू निको भएका छन्।अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित भएका दुई प्रदेशहरू प्रदेश नं २ र वाग्मती हुन्।
देशभरि क्वारन्टीनमा ९,४८८ जना छन्। तीमध्ये सुदूरपश्चिम र गण्डकी प्रदेशमा हुनेको सङ्ख्या बढी छ। गत भदौ २ गते कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्यामा १,०१६ अर्थात् यसअघिअसम्मकै सर्वाधिक दैनिक वृद्धि भएको थियो।
त्यसैगरी भदौ ५ गते सरकारले ८३८ जनामा सङ्क्रमण भएको र ११ जनाको मृत्यु भएको पुष्टि गरेको थियो।भदौ ७ गते थपिएका सङ्क्रमितको सङ्ख्या ८१८ , भदौ ९ गतेको थप ८५५ जनामा सङ्क्रमण, सात जनाको मृत्युर भदौ १० गतेको ११ मृतकसहित कोभिड-१९ एकै दिनमा ११ जनाको मृत्यु, थप ८८५ जना सङ्क्रमित थियो।
यसअघि असार ४ गते ६७१, असार १० गते ६२९, असार १९ गते ७४०, साउन २७ गते ६३८, साउन ३२ गते ६४१ र भदौ ८ गते ७४३ जनामा सङ्क्रमण पुष्टि भएको थियो।अहिले मोरङ, धनुषा, पर्सा, बारा, महोत्तरी, रौतहट, सर्लाही, काठमाण्डौं र ललितपुरमा सक्रिय सङ्क्रमितहरूको सङ्ख्या ५०० भन्दा माथि छ।मुस्ताङ र हुम्लामा भने उक्त सङ्ख्या शून्य छ। – बीबीसी