सिमीकोट तल्लोगाउँ हुम्लाकी लालकला बोहराले गाउँ प्रवेश गर्ने बाटोमा हप्ता दिनदेखि पहरा दिइरहेकी छन्।तल्लोगाउँ प्रवेश गर्ने चारवटै बाटोमा ४/४ जनाको समूह बनाएर दैनिक १६ जना महिलाले पालैपालो पहरा दिँदै आएको उनी बताउँछिन् ।
उनी भन्छिन,’कोरोनाभाइरसको डरले अपरिचित कसैलाई पनि गाउँ आउन र गाउँलेलाई पनि बाहिर जान दिएका छैनौँ। हामीले बिहान ६ देखि साँझ ७ बजेसम्म पहरा दिन थालेपछि गाउँले पनि ढुक्क छन्।’सिमीकोट तल्लोगाउँका महिलाले जस्तै सुर्खेतको चौकुने गाउँपालिका शोभानचौरका युवाले पनि गाउँ आउने बाटोमा चौबिसै घण्टा पहरा दिँदै आएका छन् ।
समुदाय अग्रसर
सिमाना जोडिएको कैलाली जिल्लामा कोरोनाभाइरसको सङ्क्रमण देखिएपछि आफूहरूले शोभानचौर र कैलालीको सावा जोडने झोलङ्गे पुलमा गत चैत्र २३ गतेदेखि रातदिनै पहरा दिइरहेको युवा गंगाराम रानाले बताए ।उनी भन्छन्, ‘कसैको करकापले होइन। आफू पनि जोगिउँ र गाउँलेलाई पनि जोगाऔँ भनेर स्वतस्स्फूर्त रूपमा पुलमा पहरा दिइरहेका छौँ।’
त्रास बढ्दै गएपछि कोरोनाभाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि कर्णालीका गाउँगाउँमा अहिले स्थानीयले स्वतस्स्फूर्त रूपमा सावधानीका विभिन्न उपायहरू अपनाएको देखिन्छ।गाउँ प्रवेशमा रोक, मूल बाटोमा पहरा, जबरजस्ती गाउँ आउनेलाई जरिबाना, पुलमा ताला लगाएर पहरा, गाउँमा अपरिचित मान्छेहरु देख्ने वित्तिकै प्रहरीलाई खबर गर्ने जस्ता काम गर्दै आएको उनीहरू बताउँछन्।
गाउँ प्रवेश गर्ने बाटोमा पहरा दिँदै आएकी सिमीकोट तल्लोगाउँकी उजेली रावत भन्छिन, ‘कोरोनाभाइरस लाग्यो भने कसैले पनि छुन र भेटन पाउँदैनन रेरु त्यसैले यस्तो भाइरसलाई गाउँमै छिर्न नदिने भनेर पहरा दिइरहेका छौँ।’
सङ्कटको बेला रक्षक
रुकुमको तकसेराबासीले पनि गाउँ प्रवेश गर्ने तीन वटै बाटोमा बिहान ६ देखि राति १२ बजेसम्म पहरा दिँदै आएका छन्।त्यसका कारण गाउँलेले पनि सुरक्षित महसुस गरेको बताउँदै शिक्षिका सीताकुमारी बुढा भन्छिन्, ‘पहरा दिएको पनि आफ्नै लागि हो। पछि दुस्ख नहोस् भनेर समयमै सावधानी अपनाएका छौँ।’
कोरोना भाइरसको जोखिमबाट जोगिन सुर्खेतको चौकुनेबासीले अछाम र कैलाली जोड्ने १० वटै झोलुङ्गे पुलमा ताला लगाएर पहरा दिइरहेका छन्।गाउँलेकै सहयोगमा बहिरबाट आएका १५ जना मान्छेलाई क्वारन्टीनमा राखिएको चौकुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले बताए।
आफ्नो लागि आफैँ सचेत नहुने हो भने कोरोनाभाइरसलाई रोक्न नसकिने त्यसरी सुरक्षामा जुटेका युवाहरू बताउँछन्।चौकुने शोभानचौरका युवा टेकबहादुर सलामी सङ्कटको बेला गाउँको रक्षक भएर काम गर्दा खुशी लागेको बताउँछन्।
उनी भन्छन, ‘पुलमा चौबिसै घण्टा खटिन थालेको दुई हप्ता भयो, हाम्रो कारणले गाउँ सुरक्षित हुन्छ भने जतिदिन पनि सेवा गर्न तयार छौँ।’गाउँलेकै सक्रियताले गर्दा सुरक्षा निकायको पहुँच नपुगेका गाउँघरमा पनि लकडाउन निकै प्रभावकारी देखिएको बताइएको छ।
सरकारले एक स्थानीय तहदेखि अर्को स्थानीय तहमा जान रोक लगाएको छ भने गाउँलेहरूले एकबाट अर्को वडामा जान-आउन दिएका छैनन्। -बीबीसी