विश्वभरि कोरोनाभाइरसको सङ्क्रमण फैलिरहेको छ, तर अझै पनि मानव शरीरलाई कोभिड-१९ रोगबाट बचाउने खोप तयार भइसकेको छैन। धेरै स्वास्थ्य अनुसन्धानकर्ताहरू खोप विकास गर्न लागिपरेका छन्।
किन कोरोनाभाइरसको खोप महत्त्वपूर्ण छ?
कोरोनाभाइरस एकदमै सहज रूपमा सर्छ र अहिले पनि विश्वको जनसङ्ख्याको अधिकांश हिस्सा सङ्क्रमणको जोखिममा छ।खोपले उक्त भाइरससँग लड्ने मानव शरीरको क्षमतालाई बलियो बनाउने भएकाले उनीहरू बिरामी पर्दैनन्।
यसबाट लकडाउनको अवस्थालाई सुरक्षित रूपमा हटाउन सकिन्छ र सामाजिक दूरीसम्बन्धी सुझावहरूलाई खुकुलो बनाउन सकिन्छ।
यो पनि पढ्नुहोस् –
अहिलेसम्म के प्रगति भएको छ?
अनुसन्धानको काम द्रुत गतिमा चलिरहेको छ। विश्वभरि लगभग ८० वटा समूहले खोपबारे अनुसन्धान गरिरहेका छन् र कतिपय ‘क्लिनिकल ट्रायल’ चरणमा पुगिसकेका छन्।
मानवमा खोपको पहिलो परीक्षणको घोषणा अघिल्लो महिना सीयाटलका वैज्ञानिकहरूले गरेका थिए। सुरक्षा र प्रभावकारिता जाँच्न जनावरमा गरिने परीक्षण नगरी अस्वाभाविक रूपमा उनीहरूले यो अनुसन्धान अघि बढाएका हुन्।
खोप विकासका लागि ठूला फर्मास्युटिकल कम्पनीहरू सानोफी र जीएसकेले मिलेर काम गरिरहेका छन्।
अस्ट्रेलियाका वैज्ञानिकहरूले बिरालो प्रजातिको फेरेटमा दुई सम्भावित खोपहरूको परीक्षण गरिरहेका छन्। यो जनावारहरूमा गरिएको पहिलो ‘प्री क्लिनिकल ट्रायलु हो र अनुसन्धानकर्ताहरूले एप्रिल महिनाको अन्त्यमा मानवमा परीक्षण थाल्ने अपेक्षा गरेका छन्।
अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले सेप्टेम्बर महिनासम्म दश लाख खोप तयार पार्ने लक्ष्यसहित मानवमा परीक्षण गरिरहेका छन्।
तर यी खोप कतिको प्रभावकारी बन्न सक्छन् भन्न गाह्रो छ।
यो पनि पढ्नुहोस् –