कोरोनाका कारण पीडित बनेका कृषकलाई पहिलो चरणमा दिइने राहतको प्रस्ताव कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले मन्त्रिपरिषद्मा पेश गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार राहत प्याकेजको स्रोत व्यवस्थापनमा सहमति जुटे साना र ठूला कृषकका लागि सोमबार पहिलो चरणको राहत सरकारले घोषणा गर्नेछ ।
कृषि मन्त्रालयले तीन प्रकारको क्षेत्रगत राहत प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेको छ । जसअनुसार गाईपालन गरेर दुग्ध व्यवसाय गरेका साना किसान, सानो क्षेत्रमा कृषिजन्य उत्पादनमा सहभागी न्यून आय भएका कृषक र कुखुरा पालन व्यवसायमा रहेका कृषकहरुले पहिलो चरणमा राहत पाउनेछन् ।मन्त्रालयले प्रस्ताव गरेको राहत प्याकेज अनुसार गाईपालन गरेर दुग्ध व्यवसाय गर्ने साना किसानले स्थानीय सहकारी डेरीको सिफारिसमा एक महिनासम्म प्रतिलिटर दूधमा १० रुपैयाँ अनुदान दिन भनिएको छ ।
त्यस्तै, एक पटकमा पाँच सय संख्याभन्दा कम बोइलर कुखुरा पालन गर्ने कृषकलाई अर्को पटकको कुखुरा पालनमा प्रतिकुखुरा ६० रुपैयाँ र सोही संख्यामा लेयर्स कुखुरा पालक कृषकलाई प्रतिकुखुरा एक सय २० रुपैयाँ अनुदान दिन प्रस्ताव गरिएको छ ।थोरै जमिनमा तरकारी, फलफूल एवं कृषि पेशा गर्ने किसानका लागि उनीहरुको उत्पादनको लागत मूल्याङ्कन गरेर नगद अनुदान दिनुपर्ने मन्त्रालयको सिफरिसमा भनिएको छ ।
ठूला कुखुरापालक तथा कृषकहरुलाई भने ऋणको सीमा बढाइने, ब्याजदरमा अनुदान दिने जस्ता विषय समेटेर राहत सिफारिस गरिएको मन्त्रालयले जनाएको छ ।क्षतिको मूल्याङ्कन गर्न मन्त्रालयले परिचालन गरेको संयन्त्रको सिफारिसका आधारमा प्रथम चरण राहतको तयारी गरिएको मन्त्रालयले जनाएको छ । राहत अनुदानको आकार निकै ठूलो भएकाले यसमा केही संशोधन हुनसक्ने मन्त्रालय स्रोतले बताएको छ । अनलाइनखबर