प्रतिनिधिसभा विघटनबिरुद्धका मुद्दामाथि बहस प्रारम्भ भएपछि प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले पहुँच पुर्याएर भेट गर्न आउने सबैलाई स्पष्टसँग भनिदिनुभएको थियो ‘मेरो पनि एउटा मत हुन सक्ला । तर, इजलासको संयुक्त मतमा मेरो मत बहुमततर्फ हुनेछ ।’ अर्थात् व्यक्तिगत रूपमा आफूले जे सोचे पनि समग्रमा इजलासको बहुमत धारणाभन्दा फरक मत नराख्ने विचार उहाँले राख्दै आउनुभएको उच्च स्रोतले बताएको छ ।
निवेदक र विपक्षीको तर्फबाट बहस,फेरि जवाफी बहस र एमिकस क्युरीको धारणा आइरहँदा यता अदालतमा फैसलाको गन्ध सुँघ्न बालुवाटारले धेरै पटक प्रयास गरेको बताइन्छ । गत शुक्रबार बहसका सबै प्रक्रिया सकिएपछि त्यो क्रमले लिएको गति अरुलेभन्दा बढी अदालत र श्रीमानहरूले महसुस गर्नुभएकै थियो ।
त्यसैले होला बहस नोट बुझाउने म्याद सोमबार सकिएपछि मंगलबार बिहान साढे १० बजेदेखि संवैधानिक इजलासका श्रीमानहरूसँग प्रधानन्यायाधीशले संयुक्त छलफल गर्नुभएको थियो । त्यहि क्रममा उहाँले ‘सपना श्रीमान जहाँ उभिनुहुन्छ,त्यहिँ निर्णय हुन्छ, त्यो नै सर्वसम्मत हुन्छ’ भनेर फैसलाबारे आफ्नो छनक दिनुभएको थियो ।
मंगलबार फैसला आउनुअघिको अवस्थाबारे सविस्तार चर्चा गर्दै स्रोत भन्छ ‘प्रधानन्यायाधीश राणाले अपरान्हतिर सबैसँग माग्नुभएको राय क्लियर्ली आएको थियो । शुरुदेखि आफू फरक नहुने भनेर बताउँदै आउनुभएका उहाँलाई चारै जनाबाट एउटै खालको राय प्राप्त भएपछि खुदो पल्टिएको थियो । असहमतिको स्वर नै आएन र सर्वसम्मत आदेशको आधार बनेपछि साँझ नै फैसला सुनाउने निर्णय तत्काल गर्नुभयो ।’
त्यसअघि न्यायाधीशहरुबीच संविधानको निश्चित धाराबारे खुल्ला व्याख्या भएको थियो । अन्तिममा ल त्यसो भए यसरी जाऊँ भन्ने बित्तिक्कै ठिक्क पारिएको आदेशको पुछारमा संक्षिप्त निर्णय थप्ने बित्तिक्कै सबैले एउटै पृष्ठमा भटाभट दस्तखत धस्काउनुभएको हो ।
हुन तः पछिल्लो समयमा राणाले आफ्ना अति निकटस्थहरूसँग पनि सर्वसम्मत निर्णय हुने क्लियरली बताउँदै आउनुभएको थियो । मंगलबार साँझको फैसलापछि अरुकोझैँ अढाइ वर्ष प्रधानन्यायाधीश बन्ने सपना प्रधान मल्लको हाइट एकाएक चुलिएको छ ।
प्रारम्भमा राणालाई संवैधानिक इजलास गठनमै महाभारत भएको थियो । राजनीतिक पार्टी,त्यसमा पनि सत्तारुढ दल नेकपा मुछिएको विषय भएकाले जसरी पनि पूर्वएमाले भनेर चिनिएका एकजना श्रीमानलाई इजलासमा हाल्नैपर्ने दबाब र बाध्यतामा उहाँ हुनुहुन्थ्यो । त्यसअघि इजलासमा राखिएका न्यायाधीश हरिकृष्ण कार्की हट्ने वातावरण बनेपछि उहाँलाई फेरि त्यहि पहिलेको समस्याले पिरोल्यो । तर, बुध्दिमत्तापूर्ण ढंगले मल्ललाई रोज्नुभएको परिणाम अहिले सुखद अनुभूतिमा परिणत भएको छ ।-जनआस्था