भारतले दुई वटा भ्याक्सिनलाई अनुमति दिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार आफ्नो सामाजिक सञ्जालमार्फत् दुई कम्पनीका खोपलाई आपतकालीन् प्रयोगका लागि अनुमति दिइएको जनाएका हुन् । उनका अनुसार सिरम इन्स्चिट्युड अफ इन्डियाको ‘कोभिसिल्ड’ र भारत बायोटेकको ‘कोभ्याक्सिन’ खोपलाई भारतले अनुमति दिएको हो ।
सिरमले अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेन्काले मिलेर बनाएको भ्याक्सिनलाई भारतमा कोभिसिल्ड नाममा उत्पादन गर्दैछ । सेरम विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक कम्पनीसमेत हो । कोभिसिल्डको प्रभावकारिता ७०.४ प्रतिशत रहेको बताइएको छ ।
भारत बायोटेकले बनाएको कोभ्याक्सिनको प्रभावकारिताबारे भने सम्पूर्ण विवरणहरू आइसकेका छैनन् । भारतले आउँदो छ महिनाभित्र ३० करोडभन्दा बढी मानिसलाई कोरोना भ्याक्सिन दिने बताएको छ ।