सुर्खेतको विरेन्द्रनगरमा भएको गाई र गोरुको अस्वाभाविक मृत्यु प्रकरणमा संलग्न व्यक्तिलाई सरकारले कारवाही गर्ने भएको छ । गाई–गोरु मारिएको घटनामा छानबिन सुरु गरेको छ । उक्त घटनाको छानविन गर्न गृह मन्त्रालयले उपसचिव सागरमणि पाठकको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ । समितिलाई १५ दिनको म्याद दिइएको छ । नेपालगञ्जको काञ्जी हाउसबाट दैलेखको श्रीनाथ लैजान भन्दै पठाइएका १८ गाई र ६ गोरु सुर्खेतको वीरेन्द्रनगर ११ स्थित ब्यूरेनी खोलामा मृत भेटिएका थिए । १ सय ४४ गाई, गोरु र बाच्छा–बाच्छी त्यहीँ छाडिएका थिए । यो घटनालाई लिएर चौतर्फी विरोध भइरहेको छ । सबैतिरबाट दबाब बढेपछि गृह मन्त्रालयले घटनाका दोषी पत्ता लगाएर कारबाही गर्न भन्दै समिति बनाएरै छानबिन अघि बढाएको छ ।मन्त्रालयले उपसचिव सागरमणि पाठकको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी गराएको छ । शनिबार विज्ञप्ति निकालेर मन्त्रालयले गौहत्यामा संलग्नलाई कानून बमोजिम हैदसम्म कारबाही गरिने बताएको छ ।
समितिलाई १५ दिनभित्र घटनाबारे अध्ययन गरी संलग्नहरुलाई कानूनी कारबाहीको सिफारिस गर्न कार्यादेश दिइएको छ । गाई गोरु छाड्ने पाँच ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले गौहत्यामा संलग्नलाई कारबाही गर्ने बताए । ‘मन्त्रालय यो घटनाप्रति गम्भीर छ,’ उनले भने, ‘हामीले छानबिन समिति बनाएका छौं, समितिले १५ दिनभित्र घटनाबारे विस्तृतमा छानबिन गर्छ, दोषी पत्ता लगाउँछ र कारबाहीको सिफारिस गर्छ।’