सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विदेशी बुहारीलाई विवाह गरेको ७ वर्षपछि मात्रै अंगीकृत नागरिक दिने निर्णय गरेको छ। आज बसेको पार्टी सचिवालय बैठकले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने व्यवस्थामा सहमति जुटाएको हो।
‘नेपाली पुरुषसँग विवाह गर्ने महिलाले अंगीकृत नागरिकता प्राप्त गर्न विवाहपछि ७ वर्ष देशभित्र बसेको पुष्टि हुनुपर्छ, बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, विदेशमा नागरिकता वा अन्य कुनै प्रमाणपत्र लिएको भए परित्याग गर्ने कारबाही चलाएको प्रमाण पनि पेश गर्नुपर्छ।’ श्रेष्ठका अनुसार ७ वर्षसम्म सामाजिक, सांस्कृतिक, आर्थिक सम्पूर्ण अधिकार विवाह गरेको दिनदेखि नै प्राप्त गर्नसक्ने गरी आवासीय परिचयपत्र प्रदान गरिनेछ। अमेरिकी सहयोग परियोजना एमसीसीबारे आज कुनै छलफल नभएको प्रवक्ता श्रेष्ठले बताए।
संसदको राज्य व्यवस्था समितिमा नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा सहमति हुन नसकेपछि नेकपाले सचिवालय बैठकबाट ७ वर्षको प्रावधान राख्ने निर्णय गरेको हो। यसमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका सांसदहरुले असहमति जनाउँदै आएका छन्। यसअघि ऐनमा नेपाली नागरिकसँग विवाह गरेर आउने बुहारीले सम्बन्धित देशको नागरिकता त्यागेर नेपाली नगारिकता प्राप्तिको प्रक्रिया अगाडि बढाउन कुनै समय सीमा निर्धारण गरिएको थिएन। नागरिकता संशोधन विधेयक लामो समयदेखि संसदमा विचाराधीन रहेको छ।
पटकपटक यसका प्रावधानहरुमा छलफल भए पनि सहमति जुट्न सकेको छैन। नेपाली कांग्रेसले मधेशवादी दलहरुले अहिलेकै प्रावधानअनुसार विवाह गरेलगत्तै अंगीकृत नागरिकता प्राप्त गर्न सक्ने प्रावधान राख्नुपर्ने बताउँदै आएका छन्। अहिले पनि सोही प्रावधान छ। विधेयक अहिले संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा रहेको छ। समितिमा अहिले अंगीकृत नागरिकताको विषयमा नै छलफल भइरहेको छ। समितिको छलफलमा सहमति जुट्न नसकेपछि गृहमन्त्री रामबहादुर थापाले राजनीतिक सहमतिका लागि भन्दै एक हप्ताको समय मागेका छन्।