नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रामेछाप नगर कमिटीले आफ्नो नेता तथा कार्यकर्तालाई उपभोक्ता समितिमा बसेर काम नगर्न निर्देशन दिएको छ । पछिल्लो समय उपभोक्ता समितिको रोहवरमा काम गर्दा आर्थिक अनियमितता बढेको ठहर गर्दै कमिटीले यस्तो निर्णय गरेको नगर कमिटी अध्यक्ष मोतिलाल तामाङले बताए।
नगर कमिटीका पदाधिकारी, नगर सदस्य तथा वडाका अध्यक्ष र सचिवहरुलाई विकास निर्माणसम्बन्धि कुनै पनि उपभोक्ता समितिमा नबस्न निर्देशन गरेको हो। शनिबार नगर कमिटीका दोस्रो पूर्ण बैठकले निर्णय गर्दै नेता तथा कार्यकर्तालाई यस्तो निर्देशन गरेको हो।
नगर कमिटीको बैठक शुक्रबार र शनिबार दुई दिन बसेको थियो । तामाङले नेता कार्यकर्ता यस्ताखाले विवादमा फस्न नहुने भन्दै जनताबाट क्लिन चिट लिएर रहन पनि आग्रह गरे ।उपभोक्ता समितिमा बसेर काम गर्दा नेता तथा कार्यकर्ताहरु आर्थिक अनियमितता लगायत विभिन्न सामाजिक रुपमा विवादमा आउने र पार्टी बदनाम हुनेतर्फ जाने भएकाले यस्तो निर्णय गर्नु परेको कार्यालय सदस्य रोशन पाख्रिनले बताए।
स्थानीय जनप्रतिनिधि तथा पार्टीका नेता कार्यकर्ता यस्ता खाले विवादमा आउने क्रम रहेका बेला नेकापाले यस्तो निर्णय गरेको हो ।इमानदारी, पारदर्शिता नेता तथा कार्यकर्ताको मुख्य गहना भएकाले नेता कार्यकर्ता यस्ता खाले विवादमा आउन नहुने अर्का कार्यालय सदस्य नरेश बाबू श्रेष्ठले बताए । उनले अहिले स्थानीय तहमा अनियमितता र अपारदर्शीता बढेकोले नेकपाका नेता कार्यकर्ता यस्तो कुराबाट सधै सचेत रहन पार्टीको निर्देशन जारी भएको बताए । नागरिक खबर