संसद पुनःस्थापनापछि नेकपाको ओली पक्ष दुई मतमा विभाजित भएको छ। नेकपालाई औपचारिक रूपमा फुटाउने वा जुटाउने भन्नेबारे ओली गुटभित्र मत विभाजित भएको छ। एक पक्ष पार्टी फुटाउनै पर्ने पक्षमा छ भने अर्को पक्ष पार्टी जुटाउनु पर्ने पक्षमा छ। गत शुक्रबारको मन्त्रिपरिषद् बैठकमा आफ्ना मन्त्रीहरूसित प्रधानमन्त्री ओलीले पार्टीलाई कसरी अघि बढाउने भन्नेबारे धारणा माग गर्दा सो कुरा झनै प्रष्ट भएको हो।
आफ्नो धारणा राख्दै उपप्रधानमन्त्री ईश्वर पोखरेल, सहरी विकासमन्त्री प्रभु साह, ऊर्जामन्त्री टोपबहादुर रायमाझी र खानेपानीमन्त्री माणि थापाले एमाले ब्युँताउन ओलीलाई सुझाब दिएका थिए। समय घर्किसकेकाले अब पार्टी एकता हुन नसक्ने उनीहरूको मत थियो । पोखरेललगायत मन्त्रीहरूले छिटोभन्दा छिटो पार्टी फुटाउनुपर्ने सुझाव ओलीलाई दिएका थिए। खासगरी पूर्व माओवादीबाट आएका मन्त्रीहरूले ओलीलाई व्यक्तिगत रूपमा भेटेरै समेत पार्टी फुटाउन सल्लाह दिएको स्रोतले बताएको छ।
ओलीले सर्वाेच्चको फैसलापछि संसद् पुनर्स्थापना भएपछि तत्कालै राजीनामा दिने कि नदिने भन्नेबारे समेत मन्त्रीहरूसँग सल्लाह मागेका थिए। रायमाझीले ओलीलाई सल्लाह दिँदै भने, ‘उनीहरू (प्रचण्ड–माधव)ले अविश्वासको प्रस्ताव ल्याउँछन् । त्यही मौकामा अर्को पार्टी खोलौँ।’ अविश्वासको प्रस्ताव ल्याएपछि पार्टी फुटाउँदा त्यसलाई जस्टीफाई गर्न सहज हुने रायमाझीको तर्क थियो। रायमाझीले अब एमालेलाई ब्युँताएर अघि बढ्न ओलीलाई सुझाव दिएका थिए।
मन्त्रीपरिषद् बैठकमा मन्त्री मणि थापाले भने, ‘प्रचण्ड–माधवसँग पुनर्मिलन गरिए अपमानित हुइन्छ।’ उपप्रधानमन्त्री पोखरेलले पनि ओलीलाई एमाले ब्युँताउन सुझाव दिएका थिए। यद्यपि, गृहमन्त्री रामबहादुर थापाले भने पार्टी विभाजनबारे कुनै धारणा राखेनन् । युवासंघको किचलोलाई लिएर थापा ओलीबीच खटपट बढेको स्रोतको भनाई छ ।
स्रोतका अनुसार उपप्रधानमन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री विष्णु पौडेलबीच मन्त्रिपरिषद् बैठकमा पहिले देखि नै द्वन्द्वको स्थिति रहेकोमा संसद विघटनको घोषणा खारेज भएपछि झगडा अझै बढेको छ । शुक्रबारको बैठकमा पार्टी फुटाउनुपर्छ भन्ने पोखरेल र पार्टी एकता बचाउन पहल गर्नुपर्छ भन्ने पौडेलबीच बीच भनाभनसमेत भएको थियो।
बैठकको निचोड निकाल्दै आफ्ना मन्त्रीहरूलाई भने, ‘अहिलेसम्म केही भएको छैन । अबचाहिँ धेरै हुनसक्छ । अब हुने राजनीतिक घटनाको सामना गर्न तयार हुनुहोस् ।’