नेपाल कम्युनिष्ट पार्टीले प्रतिगमनविरुद्ध आज विरोध प्रदर्शन गर्न भइरहेको छ । देशभरीबाट विरोध प्रदर्शनका लागि नेता कार्यकर्ता आउने क्रम जारी छ । प्रदर्शनीमार्गमा पहिलेजस्तै ‘टी’ आकारमा सभा हुने छ । सभाका लागि पुरानोबसपार्क–भद्रकाली सडकखण्डमा मञ्च निर्माण गरिएको छ । विरोध सभाका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन पनि प्रभावित भएको छ । यातायातलाई सहज बनाउन प्रहरीले बिहानैदेखि डाइभर्सन गरेर सवारी संचालन गरेको छ ।
ठूला गाडीहरूलाई चक्रपथभित्र छिर्न रोक लगाइएको छ । जसका कारण वैकल्पिक सडकहरूमा पनि सवारी साधनहरूको जाम सुरु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीका अनुसार जुलुस सकिएर सभामा परिणत भएपछि यातायात आवागमन सहज हुनेछ ।
यस्तो छ जुलुसको रुट
पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट बिहान ११ बजेदेखि जुलुस सुरु हुने नेकपा संघर्ष समितिले जनाएको छ । ती जुलुस सुन्धारामा पुगेर मूल जुलुसमा मिसिई भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुनेछन् । पुल्चोकबाट निस्कने जुलुस कुपण्डोल, थापाथली, त्रिपुरेश्वर हुँदै सुन्धारा पुगेर मुल जुलुसमा मिसिनेछ ।
केशरमहलबाट निस्कने जुलुस दरबारमार्ग, तीनधारा पाठशाला, जमल, कमलाक्षी, असन, इन्द्र चोक हुँदै न्युरोड पुग्नेछ ।
त्रिपुरेश्वरबाट निस्कने जुलुस पनि सुन्धारा पुगेर मुल जुलसमा मिसिनेछ । माइतीघर मण्डलाबाट निस्कने जुलुस थापाथली, त्रिपुरेश्वर हुँदै सुन्धारा पुग्नेछ ।
जमलबाट निस्कने जुलुस कमलादी, असन, इन्द्रचोक, जुद्ध शालिक, न्युरोड हुँदै सुन्धारा पुग्नेछ । त्यसपछि सुन्धाराबाट निस्कने मूल जुलुस सुन्धारा, बीर अस्पताल, जमल, घण्टाघर, बागबजार, पुतलीसडक, पद्मोदय मोड हुँदै प्रदर्शनीमार्गमा पुगेर विरोध सभामा परिणत हुने भएको छ ।