काठमाडौं नेकपाको बहुमत पक्षले आउँदो माघ २८ गते काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने बताएको छ। बहुमत पक्षको केन्द्रीय संघर्ष समितिको बिहिवार बसेको सचिवालय बैठकले सो प्रदर्शन इतिहासकै विशाल हुनेसमेत बताएको छ । बैठकले प्रतिगमनविरुद्ध जारी आन्दोलनले देशव्यापी जागरण पैदा गरेको उल्लेख गर्दै यसलाई अझ उचाइमा पु-याउन जोड दिएको छ।
बैठकमा अध्यक्षद्वय ‘प्रचण्ड’ र माधवकुमार नेपालले सम्बोधन गर्दै अघिल्लो प्रदर्शनहरूमा प्राप्त समर्थनका लागि सबैलाई धन्यवाद दिँदै संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता र समानुपातिक प्रणालीको रक्षाका लागि आन्दोलन अपरिहार्य रहेकाले फेरि पनि लड्नुको विकल्प नरहेको बताए ।
नेकपाको यो समूहले आफूहरूसँग केन्द्रीय कमिटीको दुई तिहाई रहेकोले विना कुनै दुविधा अघि बढ्नुपर्ने बताएको छ । आजै यो पक्षले दिउसो १ बजे बुटवलमा विरोधसभाको आयोजना गर्दैछ। सभालाई प्रचण्ड, माधव नेपाल र स्थायी समिति सदस्य घनश्याम भुसाललगायतले सम्बोधन गर्ने कार्यक्रम छ।