संसद विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको दाहाल–नेपाल पक्षले आज काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । काठमाडौं उपत्यकाका वरिपरिका जिल्लाबाटसमेत कार्यकर्ता उतारेर प्रचण्ड–माधव समूहले राजधानीमा शक्ति प्रदर्शन गरेको हो । विरोधसभामा एक लाख बढी कार्यकर्ता उतार्ने सो समूहले दाबी गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाको दाहाल–नेपाल पक्षले आज राजधानीमा आयोजना गरेको शक्ति प्रदर्शन शान्तिपूर्ण हुने बताइएको छ ।विहान ११ बजेबाट काठमाडौंका विभिन्न स्थानबाट निस्किएको जुलुश शान्तिपूर्ण रुपमा अघि बढिरहेको संघर्ष समितिले जनाएको छ ।
सडक प्रदर्शनमा काठमाडौं र आसपासका जिल्लाबाट आएका लाखौं कार्यकर्ताहरु सहभागी भएका छन् । प्रदर्शनमा केन्द्रीय संघर्ष समितिले निर्धारण गरेका नारा मात्रै लगाउन निर्देशिका जारी गरेको छ ।
सबै जुलुश रत्नपार्कमा जम्मा भई मूल जुलुसमा परिणत हुनेछ । त्यसपछि उक्त जुलुस रत्नपार्क–बागबजार–पुतलीसडक–प्रदर्शनी मार्ग–भद्रकाली–सहिदगेट–एनएसी–भोटाहिटी–रत्नपार्क–विद्युत प्राधिकरण हुँदै सभामा परिणत हुने बताइएको छ । सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव नेपाल लगायतले सम्बोधन गर्नुहुनेछ ।
एकैपटक धेरै स्थानबाट जुलुश निस्कदा राजधानीको ट्राफिक व्यवस्थापन भने चुनौतिपूर्ण बनेको छ। सवारीसाधन बीचैमा रोकिदा र अन्यत्र डाइभर्ट गरिदा यात्रुहरुले कठिनाइ भोग्न बाध्य भएका छन् ।