अमेरिकामा कोरोना भाइरसको संक्रमण यसअघि ठानिएको भन्दा तीन हप्ता पहिले नै पुगेको नयाँ तथ्य खुलेको छ । कोरोना भाइरसको संक्रमणका कारण अमेरिकामा व्यक्तिको मृत्यु यसअघि ठानिएको भन्दा कम्तिमा २० पहिले नै भएको खुलेको हो ।
क्यालिफोर्नियामा भएको शव परीक्षणबाट गएको फेब्रुअरी ६ र १७ मा निधन भएका दुई व्यक्तिको मृत्युको कारण कोभिड–१९ रहेको खुलेको हो । यसअघिसम्म अमेरिकामा कोरोना भाइरसका कारण पहिलो व्यक्तिको फेब्रुअरी २६ मा भएको ठानिएको थियो ।सियाटलमा २६ फेब्रुअरीमा एक व्यक्तिको कोरोना भाइरसका कारण निधन भएको थियो । यस्तै क्यालिफोर्नियामा मार्च ४ मा कोभिड–१९ बाट पहिलो व्यक्तिको निधन भएको खुलेको थियो । क्यालिफोर्नियाको सान्टा क्लारा काउन्टीमा भएको शव परीक्षणबाट अमेरिकामा कोरोना भाइरसको टाइमलाइन परिवर्तन गरेको हो ।
फेब्रुअरी ६ मा निधन भएकी ५७ वर्षकी महिला कोरोना भाइरसका कारण अमेरिकामा मृत्यु हुने पहिलो व्यक्ति रहेको खुलेको हो । शव परीक्षण प्राप्त नमूना सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन ९सिडिसी० मा पठाइएको थियो, त्यसपछि कोरोना भाइरसका कारण उनको मृत्यु भएको पुष्टि भएको हो ।सान्टा क्लारामा मार्च ६ सम्म तीनजनाको मृत्यु भएको थियो र सबैको कोरोना भाइरसकै कारण निधन भएको खुलेको सान्टा क्लारा काउन्टीले जनाएको छ । त्यो बेला अति सीमित मात्रै परीक्षण हुँदै आएको थियो ।
अमेरिकामा हालसम्म कोरोना भाइरसका कारण कम्तिमा ४६ हजार ५८३ जनाको ज्यान गएको छ । यस्तै संक्रमितको संख्या ८ लाख ३९ हजार भन्दा बढी पुगेको छ ।