सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकी नेतृ तथा सांसद पफ्फा भुसालले अमेरिकन सेनासँगको संयुक्त सैन्य अभ्यास कार्यक्रम नगर्न सरकारसँग माग गरेकी छिन । नेतृ भुसालले नेपालको परराष्ट्र नीतिलाई मध्यनजर गर्दै विवादित कार्यक्रम रोक्नुपर्ने बताईन् । बिहिबार प्रतिनिधि सभाको वैठकमा बोल्दै नेतृ भुसालले भनिन्, ‘आगामी नोम्बेम्बर ४ देखि १५ सम्म नेपालको सशस्त्र प्रहरीसँग अमेरिकन सेनाले दुईवटा प्रशिक्षण कार्यक्रमको प्रस्ताव गरेको छ । अन्नपूर्ण राउण्ड र उद्धार कार्यक्रमको नाउँमा कुरिन्टारमा राख्ने गरेर प्रस्ताव गरेको छ । नेपाल असलंग्न परराष्ट्र नीतिमा अडिग रहेको छ । कुनै एउटा राष्ट्रले बनाएको सुरक्षा एलाइन्समा रहनु हुँदैन् ।’
उनले कुनै राष्ट्रले बनाएको सुरक्षा एलाइन्समा नेपाल रहन नहुने बताईन् । इण्डोप्यासिफिक एलाइन्स आफैं विवादमा रहेको बताउँदै नेतृ भुसालले कुनै देशले बनाएको एलाइन्समा लागेर विवादमा पर्नु नहुने बताईन् ।‘यो संगठनमा नेपाल औपचारिक हिसाबले आवद्ध छैन्, यो खालको जोइन्ट प्रशिक्षण नगरियोस् भनेर नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’ भुसालले भनिन्, ‘हामीले यस सन्दर्भमा हाम्रो असलंग्न परराष्ट्र नीतिलाई अबलम्बन गर्दै हामी कुनै पनि देशको एउटा एलाइन्समा लाग्नु हुँदैन् भन्ने कुराको माग पनि गर्न चाहन्छु ।’
अमेरिकन दुतावासको स्पष्टीकरण पत्र के हो?
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ विदेशमन्त्रीको भेटबारे अमेरिकन दुतावासले स्पष्टीकरण सोधेको बारे नेकपा नेतृ भुसालले सरकारसँग जवाफ माग गरेकी छिन् । बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले भनिन् ‘पूर्वप्रधानमन्त्री नेकपा अध्यक्ष प्रचण्डले चिनियाँ विदेशमन्त्रीलाई भेटेर नेपाल एक चीन नीतिको पक्षमा भएको र अहिले चर्चामा रहेको इन्डो प्यासिफिक रणनीतिमा आवद्ध छैन भनेको विषयमा अमेरिकी दूतावासले स्पष्टीकरण माग्दैछ भन्ने आएको छ, यो बारे के हो नेपाल सरकारले भन्न जरुरी छ ।’