कोरोना भाइरस (कोभिड-१९) का कारण गत चैत्र ११ देखि भएको लकडाउन र स्थगित परीक्षालाई वैकल्पिक विधिबाट हल गर्न नसकेकोे भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । सरकारले कोरोनाको कारण देशभरि लकडाउन गरेपछि स्थगित परीक्षा र पठनपाठनलाई लिएर विश्वविद्यालयले वैकल्पिक विधि अपनाउन नसकेको कारण लाखौं विद्यार्थीहरु डिप्रेसनको शिकार भइरहेका छन् ।
त्रि.वि.मा लामो समयको किचलोपछि पदाधिकारी नियुक्त भएपनि स्थगित परीक्षा र पठनपाठनलाई कुन विधिबाट हल गर्ने भन्नेबारे निर्णय गर्न सकेको छैन ।प्रदर्शनमा सहभागी अनेरास्ववियू सम्बद्ध रमेश विष्टले ‘काठमाडौं विश्वविद्यालय लगायत विभिन्न सँस्थाहरुले स्थगित परीक्षालाई वैकल्पिक विधिबाट हल गरेर भर्चुअल पठनपाठन शुरु गरेपनि त्रि.वि.ले भने निर्णय गर्न नसक्दा विद्यार्थीहरु आर्थिक र मानसिक तनावमा रहेको’ बताए । एसईई र काठमाडौं विश्वविद्यालयले सम्बन्धित स्कूल क्याम्पसको आन्तरिक मूल्यांकनको आधारमा परीक्षा मूल्यांकन विधि अपनाएर समस्यालाई सम्बोधन गरिसकेको छ ।
त्रि.वि.ले केही पहिले भाद्र १ गतेबाट स्थगित परीक्षा र पठनपाठन सञ्चालनको लागि विश्वविद्यालयले निर्देशन जारी गरेपनि हाल दोस्रो चरणको कोरोना संक्रमण समुदाय स्तरमा फैलिएपछि विभिन्न संकायहरुले उक्त निर्णय कार्यान्वयन गर्न नसक्ने भन्दै विज्ञप्ति जारी गरिरहेका छन् भने सरकारले पछिल्लो मन्त्रीपरिषदको निर्णय अनुसार कम्तीमा २ महिना अघि शैक्षिक क्षेत्र सञ्चालन गर्न नसकिने कुरा जनाइसकेको छ ।
यो संकटको कारण विद्यार्थीहरु आफ्नो अन्यौल भविष्यलाई लिएर आर्थिक र मानसिक तनाव भोग्नुपरिरहेको कारण विश्वविद्यालयले चाँडो भन्दा चाँडो वैकल्पिक व्यवस्था अपनाएर विद्यार्थीहरुलाई तनावमूक्त गराउन ध्यानाकर्षण गर्दै उनीहरुले त्रि.वि. परिसरमा प्रदर्शन गरेका हुन् । विष्टका अनुसार, त्रि.वि.ले उक्त आन्तरिक मूल्यांकनको आधारमा परीक्षांक मूल्यांकन विधिलाई त्रि.वि.ले अपनाउन ढिला गरिरहँदा विद्यार्थीहरुले मार खेप्नुपरिरहेको बताए ।
साथै, त्रि.वि.मा भइरहेको राजनीतिक भागबण्डाले निम्त्याएको समस्याको कारण शैक्षिक सँस्था अराजकताको थलो बनेर विद्यार्थीहरुको भविष्यलाई अन्यौलग्रस्त बनाइरहेको प्रति पनि उनीहरुको आक्रोश रहेको बताए ।