विश्व खाद्य दिवसको अवसरमा धरानको कृषि बजारले देशभरकै उत्कृष्ट कृषि बजार भइ प्रथम पुरस्कार जितेको छ ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कृषि विभागले विश्व खाद्य दिवसको अवसरमा धरानको कृषि बजारलाई देशभरीको उत्कृष्ट कृषि थोक बजार व्यवस्थापन समिति तर्फ प्रथम स्थान हाँसिल गरेको भन्दै पुरस्कृत गरेको छ । धरानको कृषि बजारले यसपटक समेत गरेर छैठौ पटक उत्कृष्ट कृषि थोक बजारको पुरस्कार जितेको छ । त्यस्तै धरान कृषि बजारका व्यापारी बद्री चौधरी राष्ट्रिय स्तरमा उत्कृष्ट कृषि व्यापारी भइ प्रथम स्थानको पुरस्कार जितेका छन् ।
नेपालमै कै उत्कृष्ट कृषि बजार भएर पुरस्कार जितेकोमा संघिय सांसद जय कुमार राईले बधाई दिदै प्रशंसा गरेका छन् । उनले कृषि बजारले धरानकै नाम उच्च गरेको भन्दै कृषि बजारको व्यवस्थापनकालागि थप पहल गर्ने बताए । धरानको कृषि बजारबाट बार्षिक सवालाख मेट्रिक टन एवं सवाँ ५ अर्बको कारोबार गर्दछ ।
धरानको कृषी बजारले उत्कृष्ट बजार सेवा प्रबाह, मूल्य सुची, निःशुल्क शौचालय, निःशुल्क वाइफाई, निःशुल्क तौलिने व्यवस्था, महिलाका लागि छुट्टै शौचालय सहित सेनेटरी प्याडको व्यवस्था, कृषक सुत्ने घरको व्यवस्था, सेक्युरिटी गार्ड र सिसिटिभीको व्यवस्था, युरो गार्ड सहितको खानेपानीको व्यवस्था, खसी बाख्रा राख्ने निःशुल्क घरको व्यवस्था लगायतको सेवा प्रवाह गर्दै आएको छ ।