तत्कालीन संविधानसभा सदस्य एवं झापाका पुराना कम्युनिष्ट योद्धा धर्मप्रसाद घिमिरे भारत पश्चिम बङ्गालको बागडोग्रामा मृत भेटिएका छन् ।इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार आज बिहान बागडोग्राको प्रहरी कार्यालयभन्दा तीन किलोमिटर पश्चिम एशियाली राजमार्गमा ‘नख्खु जेल ब्रेकर’ घिमिरेलाई मृतावस्थामा भारतीय प्रहरीले फेला पारेको हो ।
झापाको मेचीनगर–१३ दुहागढी घर भएका उनको आठ वर्षदेखि डिप्रेसनको औषधि सेवन गरिरहनुभएको पारिवारिक स्रोतले बताएको छ । तीन दिनअघि दाह्री काट्न घर नजीकैको “चारआली बजार जान्छु” भनी घरबाट बाहिरिएका उनी त्यसपछि सम्पर्कविहीन थिए ।उनले शव बागडोग्रा मेडिकल कलेजमा राखिएको छ । नेपालबाट गएका मृतकका भाइ नरेन्द्रले शव पहिचान गरेका प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए । विसं २०२३ देखि कम्युनिष्ट आन्दोलनमा लागेका उनी ६५ वर्षीय घिमिरे २०६४ सालको संविधानसभा चुनावमा झापा क्षेत्र नं १ मा तत्कालीन नेकपा (माओवादी)का तर्फबाट सभासद् निर्वाचित भएका थिए।
उनले झापा विद्रोहपछि पक्राउ परी नौ वर्ष कारागारको सजाय भोगेका थिए। नख्खु कारागार तोड्नेमध्ये उनी पनि एक थिए। भारतीय प्रहरीले उहाँ एशियाली राजमार्गमा अज्ञात गाडीले ठक्कर दिएर दुर्घटनामा पर्नुभएको र घटनास्थलमै मृत्यु भएको जानकारी दिएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए। मृतक घिमिरेका पत्नी, एक छोरा र दुई छोरी हुनुहुन्छ । स्मरण रहाेस् धर्मप्रसाद घिमिरे फागुन २१ गते २०२९ मा झापा जिल्लाको सुखानीमा मारिएका नेत्र घिमिरेका सहाेदर दाई हुन्।