शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिट संयोजक डाक्टर शेरबहादुर पुनले कोरोना भाइरस संक्रमणको शंका लागेर अस्पताल आउने बिरामीको संख्या उल्लेख्य रूपमा घटेको बताएका छन्। कोभिड–१९ को शंका लागेर आउने बिरामीको संख्या घट्नुलाई पुनले आशाको पहिलो किरण भनेका छन्।
उनले माइक्रोब्लगिङ साइट ट्वीटरमा लेखेका छन्, “तथ्यांकको विश्लेषण गर्दै गर्दा आज मैले आशाको पहिलो किरण देखें। लकडाउन बढ्दै जाँदा कोरोना शंका लागेर आउनेहरूमा भारी गिरावट देखें।”बिरामीको संख्या घट्नु अत्यन्तै सकारात्मक सूचक भएको उनले बताए। उनले भनेका छन्, “यद्यपी लकडाउनको पूर्ण पालना निरन्तर गरौं। सतर्क र सजगता अपनाऔं।”
देखापढीसँगको कुराकानीमा पुनले भने, “विदेशबाट आउनेहरूमा पनि यो अवधिमा लक्षण देखिन सक्थ्यो। लकडाउन गर्नुको कारण पनि भित्रिसकेका संक्रमित कोही भए पहिचान गर्न र उपचार गर्न सजिलो होस भनेर नै हो। तर, यो संख्या एकदम न्यून पाइयो।”
कोरोना भाइरस संक्रमण भएको शंकामा टेकु अस्पतालमा उपचार गराउन आउने बिरामीको संख्यामा उल्लेख्य कमी आएको छ।
उनकाअनुसार, शुरूमा दैनिक २०/३० जना मानिस कोभिड-१९ को शंका लागेर उपचार र परीक्षणका लागि आउने गरेकोमा अहिले यो संख्या चाररपाँच जनाभन्दा बढेको छैन।तर, भारतमा कोभिड-१९ का बिरामी बढिरहँदा भारतीय सीमाबाट नेपाल भित्रिने क्रम अझै नरोकिएको र पछिल्लो समय भित्रिएकाहरू पनि सबैजना क्वारेन्टाइनमा नरहेको भन्ने सुनिएकाले भन्दै त्यसले जोखिम बढाएको उनले बताए।
“नाकाबाट भित्रिनेहरूलाई कडाइ गर्दै पछिल्लो समयमा भित्रिएका र उनीहरूको सम्पर्कमा आएकाहरूलाई निगरानीमा राखेर सावधानी अपनाउन सके साँच्चै कोभिड-१९ नियन्त्रण हामीबाट टाढा छैन्”, पुनले भने।