लुम्बिनी बौद्ध विश्वविद्यालयका सिनेट सदस्य डा. चन्द्रकुमार लक्सम्बाको निधन भएको छ। बेलायतमा रहेका डा. लक्सम्बालाई कोभिड-१९ को लक्षण देखिएपछि फ्रिम्ली पार्क अस्पताल बेलायतमा भर्ना गरी उपचार भइरहेकोमा सोमबार हृदयघात भएको पारिवारिक स्रोतले बताएको छ। ६० वर्षको उमेरमा , माघ १३ गते मंगलबार दिउँसो निधन भएको हो।
नेपालमा रहेका उनका साला, नेकपा (नेकपा) का नेता चित्रगुप्त साँवाले उनको निधन भएको भन्दै सामाजिक सन्जालमा पोस्ट गरेका छन्। यस्तै, बेलायतस्थित ताप्लेजुङ समाज युकेका अध्यक्ष बुद्धिमान दर्नालले पनि डा. लक्सम्बाको निधन भएको भन्दै ताप्लेजुङ समाज युकेको सामाजिक सन्जालमा समवेदना प्रकाशित गरेका छन्। ताप्लेजुङको सिकैँचामा जन्मेका लक्सम्बा विद्यार्थीकालमा २०३६ सालमा अस्कल क्याम्पसको स्ववियू सभापति पनि भएका थिए।
त्यसपछि बेलायती सेनामा भर्ती भएका लक्सम्बाले सैन्य सेवामा १९ वर्ष बिताएका थिए। उनले सेवाकाशपछि बेलायतको सरे विश्वविद्यालयबाट ‘लाइफ लङ लर्निङ”मा विद्यावारिधि गरेका थिए। उनी सेन्टर फर नेपाल स्टडिज, युकेको पूर्व कार्यकारी निर्देशक, अक्सफोर्ड विश्वविद्यालयको रिसर्च फेलो आदि रहेका थिए। उनले दर्जनौं अनुसन्धान गरेका छन्।
लक्सम्बा पछिल्लो समय नेपाल फर्किएर नेपाल खुला विश्वविद्यालयमा प्राध्यापनरत थिए। उनलाई केही महिनाअघि मात्र बौद्ध विश्वविद्यालयको प्राज्ञ सदस्य नियुक्त गरिएको थियो। लक्सम्बा बेलायतको नेपाली समाजका अगुवा पनि हुन्। उनी ताप्लेजुङ समाज युकेका दुई कार्यकाल अध्यक्ष, गैरआवासीय नेपाली संघ युकेका उपाध्यक्ष रहेका थिए। साथै उनी गोरखा भूतपूर्व सैनिकहरुको समानअधिकार प्राप्तीको आन्दोलनमा पनि सक्रिय थिए।
उनको सम्पादनमा युरोपको नेपालीपत्र साप्ताहिक र गोरखा भ्वाइस पाक्षिक पत्रिका पनि प्रकाशन भएको थियो। साथै २०६२/६३ सालमा नेपालबाट प्रकाशित हुने “नेपाल फोकस” नामक विचारप्रधान मासिकको सल्लाहकार हुनुको साथै आर्थिक व्यवस्थापन गरेका थिए।
उनका श्रीमती र दुई छोरा छन्। उनको अकल्पनीय र असामयिक निधनले बेलायत, बेलायतका नेपाली र नेपाली बौद्धिक व्यक्तित्वहरुबीच नजिक्याइरहने एक गतिशील बौद्धिक व्यक्तित्वको कमी हुने महशुस गरिएको छ।
यस घडिमा नेपाल रिडर्सको तर्फबाट श्रद्धाञ्जलि चढाउँदै शोकाकुल कल्पना साँवालगायत परिवारजनमा समवेदना प्रकट गर्दछौं।