काँध चढ्नेका खुट्टाले बनाएका
कोखाको घाउ देखाउँदैन खगेन्द्र संग्रौला
बस्, काढ्छ कहिलेकाहीँ सुस्केरा–
‘मान्यवर, गणतन्त्रको योद्धाले चटके हुन पाउँछ ?’
तथापि, तिमीसँग एक झिल्को मात्र भए पनि
एजेन्डा छ भने उज्यालोको
तम्तयार छ बोक्न तिमीलाई
खगेन्द्र संग्रौलाको एक थान काँध।
(विनोदविक्रम केसी, पेज १५)
जीवित मानिसका बारेमा उसको जीवनी र कार्यहरूबारे केही बोल्नु र लेख्नु सहज हुँदैन। मानिस गतिशील हुन्छ। एकसमय अपनाएका जीवन मूल्यप्रति उ सधैँ निष्ठावान नरहन पनि सक्छ। मान्यताहरू बदल्न सक्छ। झन् राजनीतिक क्षेत्रमा सत्तासँग पौंठेजोरी खेल्नेहरू कुन बेला उपियाँ झैं फड्केर सत्ताकै कित्तामा पुग्छन् भन्ने पनि निधो हुँदैन। आज गज्जब मानिएको उसको व्यक्तित्व कतिबेला कता ढल्किन्छ र लेख्नेलाई लाजमर्नु हुन्छ भन्नै सकिन्न।
२०३० देखि २०४३ सम्म एउटा क्रान्तिकारी आदर्श र परिवर्तनकारीहरूका लागि आइकन बनेका केपी ओलीबारे उतिबेला कसैले लेखेको हुन्थ्यो र अहिले आफ्नो घरको आँगनमा शिव, बुद्ध र सरस्वतीको मूर्ति राखेर नेपाली समाजलाई परम्परागत मूल्य र वैदिक धर्मको अनुपालन गर्न प्रेरित गरिरहेका एमालेका अध्यक्ष कमरेड ओलीबारे लेख्न बस्थ्यो भने कस्तो सोच्दो हो?
जनयुद्धका नायक प्रचण्ड र अहिलेका प्रचण्डलाई, प्रतिबन्धित काँग्रेसका नेता र अहिलेका देउवालाई तुलना गर्दा कस्तो पाउँदो हो? अहो! कुनै समय मोहन विक्रम सिंहलाई माओ भन्दै पछि लाग्नेहरूका मनमा अहिले कमरेड एमबीको कस्तो विम्ब बसेको होला? एकसमय धेरैका लागि हिरो रहेका सीपी मैनाली अहिले एउटा सीमान्त राजनीतिक व्यक्तित्वका रुपमा झण्डै निवृत्त जीवन बिताइरहेका छन्। समाजमा उनको विगत र वर्तमानबारे तुलना गरेर हत्तेरी भनेको सुनिन्छ।
कसैको मृत्युपछि उसको बारेमा लेख्नु कम जोखिमपूर्ण हुन्छ। कमसेकम उसले आफ्नै जीवनको मूल्य बदल्दैन। उसका बारेमा धारणा भने फरक–फरक रहन सक्छन्। प्रदिप गिरी लेनिनलाई इतिहासको आफ्नो कालखण्डका गज्जबका क्रान्तिकारी नेता थिए भन्छन् तर चैतन्य मिश्र उनै लेनिनले मार्क्सवादलाई गलत बाटोमा लगेको भन्छन्। सन् १९४९ पहिलेका माओ र सांस्कृतिक क्रान्तिका समयमा पत्नी चियाङ्को वशमा परेका अशक्त माओ उस्तै मान्छे हैनन्। अहिले उनीहरूका बारेमा जे पनि भन्न पाइयो तर उनीहरूको कार्य र भूमिका बदल्न सम्भव छैन।
यस्तो अवस्था साहित्य र कला सिर्जनामा लागेका सर्जकका बारेमा पनि लागू हुन्छ। ०६३ अघिका रामेश र अहिलेका रामेश, ०५१ अघिका मोदनाथ प्रश्रित र अहिलेका प्रश्रित फरक व्यक्तित्व हुन्। यसरी जीवित मानिसका बारेमा बोल्न अप्ठेरो हुन्छ भन्ने जान्दाजान्दै युवा लेखक उज्ज्वल प्रसाईले आफ्नो पिता या हजुरबा पुस्ताका लेखक खगेन्द्र संग्रौलामाथि विमर्श गर्दै उनको जीवनका अनेक आयामको चर्चा गरेर पुस्तक प्रकाशित गरेका छन्, एक बागी: खगेन्द्र संग्रौलाको साधना र सङ्घर्ष।
अवश्य पनि खगेन्द्र संग्रौला आफै सर्वप्रिय व्यक्तित्व हैनन्, उनी आफ्ना कुरा वेधडक राख्छन् र सत्ताका स्थायी आलोचक हुन्। उनलाई अतिसय राम्रो र उदाहरणयोग्य नराम्रो मान्नेहरूको नेपाली समाजमा कत्ति कमी छैन। यस्तो व्यक्तित्वलाई तटस्थ बसेर मूल्यांकन गर्नु कतै पनि सहज हुँदैन किनभने उज्ज्वल स्वयं खगेन्द्र दाईसँग राम्रै प्रभावित र उठवस भएका व्यक्ति हुन्। उनले जे जसरी यो आँट गरे त्यो प्रशंसनीय किन पनि छ भने हामीकहाँ मरेपछि अनेक पद्वी र सम्मान गर्नेहरू पनि उही व्यक्तिलाई जीवित छँदा सम्मान गर्न चाहन्नन्।
उनी दलित उत्पिडित र सीमान्त समुदायमा जति प्रिय छन् सत्ताको पटांगिनी र तवेलामा बस्नेहरूबीच उत्तिकै अप्रिय पात्र। तर, जसले उनका बारेमा लेख्छ उसले दुवैपक्षका अतिवादी तर्कहरूलाई बेवास्ता गर्दै सम्यक मूल्यांकन गर्ने साहस गर्नैपर्छ।
धेरैलाई ०५० साल पछिका संग्रौलाको जीवित व्यक्तित्व जहिले पनि डाह र इर्ष्या विषय बनेको छ। सामान्य झोला देव्रे काँधमा भिरेर सडक मापन गर्दै यता–उता विरोध जुलस र सभाहरूमा हिँडिरहने, कोही कसैलाई उसको शक्ति जतिसुकै माथि होस् किञ्चित हेयका दृष्टिले हेरेर तौलने र सत्तामाथि निरन्तर प्रश्न गर्ने संग्रौलाको होचो कद जसलाई पनि टाउको पछाडि ढल्काएर हेर्नुपर्ने गरी अग्लो लाग्छ। जति सुकै मुर्मुरिएर उनलाई गाली गर्नेलाई पनि उनको साधारण ‘गेटअप’ सहितको सरल व्यक्तित्व असाधारण लाग्छ। उनका अघि आफुलाई पुड्को अनुभव गर्छ।
उनी दलित उत्पिडित र सीमान्त समुदायमा जति प्रिय छन् सत्ताको पटाङ्गिनी र तवेलामा बस्नेहरूबीच उत्तिकै अप्रिय पात्र। तर, जसले उनका बारेमा लेख्छ उसले दुवैपक्षका अतिवादी तर्कहरूलाई बेवास्ता गर्दै सम्यक मूल्यांकन गर्ने साहस गर्नैपर्छ। यो जोखिम प्रसाईले उठाएका छन्। र, यो खगेन्द्र संग्रौला मात्र हैन अरु नेपाली स्रष्टाहरूको पनि सम्मानको विषय हो।
खगेन्द्रमाथि न्याय गरेर लेख्नु सामान्य कुरा किन पनि होइन भने उनको पनि जीवनको लय गतिशील छ। लेखककै भनाइमा ‘नकटो दोर्जेको सालिक’ लेखेर महेन्द्रीय राष्ट्रवादको घोर समर्थक देखिएका संग्रौलापछि मधेश आन्दोलनका पक्षमा सीमासम्म उभिन पुगे धर्नाकारी भएर। यो उनमा आएको परिवर्तन थियो। यस्ता परिवर्तन जीवन छउञ्जेल रहन्छन्।
यत्ति हो, कसैको परिवर्तन निरन्तर अग्रगामी हुन्छ, समयको गति अनुकुल हुन्छ, रुढ र बासी विचारहरूको चोला बदल्दै नित्य नविकृत व्यक्तित्व विकास हुँदै जान्छ। र, कोही उपियाँ फड्के जसरी आफ्ना कमरेडहरूको गोलोबाट उफ्रेर परिचक्री वर्गवैरीहरूको गोलोमा पुग्छ र आफ्नै व्यक्तित्वको लाज ढाक्ने लगौंटीमा पित्क्याएर भिजाउँछ। संग्रौलाको परिवर्तन सतत् नयाँ मूल्य र गतिशील जीवनको खोजीको परिवर्तन हो। त्यसैले उनी जे छन् त्यही लेख्ने लेखकीय धर्म निर्वाह गर्दा पछुताउनु र दोष खेप्नु पर्दैन। यही काम उज्ज्वलले गरेका छन्।
लेखक प्रसाई
पाँचथरे संग्रौलाको संघर्ष र साधनाको सन्धान गर्ने लेखक उज्ज्वल प्रसाई झापामा हुर्के बढेर र पढ्ने लत लिएर काठमाडौँ प्रवेश गरेका युवा चिन्तक हुन्। पत्रकारिता, अध्यापन र लेखन हुँदै अनुसन्धान अनुवादकर्मसहित उदाउँदो बौद्धिक छवि बनाएका प्रसाईले निकै मेहनत गरेर संग्रौलाको जीवन यात्रा र लेखन यात्राका अनेक पाटा सुक्ष्म रुपले केलाएका छन्। स्वयं संग्रौलाका स्मृतिपटबाट हराएका अनेक सिर्जना र सन्दर्भ खोजीखोजी उनले पुस्तक र यसका पात्र संग्रौलाको आद्योपान्त चित्र उतारेका छन्।
पुस्तक संग्रौलाको अटोवायोग्राफी होइन बरु विद्यार्थी, शिक्षक, राजनीतिकर्मी, शिक्षकको नेता, साहित्यकार र सार्वजनिक बौद्धिक कर्मका रुपमा संग्रौलाले आफ्नो समयसँग गरेका संवादहरूको विभिन्न कोणबाट गरिएको परीक्षण हो।
यो आफैमा जटिल र लामो खोजमूलक लेखन हो। तर, उनले यसलाई सरल बनाएर पाठकहरूलाई संग्रौलाका दुःख सुख, उनको बाल्यकाल र परिवार, युवाकाल र अनेकावली विद्रोह, क्रान्तिकारी विचार तथा क्रान्ति नजिक ल्याउन गरिएका सचेत प्रयत्नहरू, जीवनको उतारचढाव र सिर्जनाका अनेक वान्कीबारे पाठकलाई सुरुचीपूर्ण बनाएर पस्केका छन्।
पुस्तक संग्रौलाको अटोवायोग्राफी होइन बरु विद्यार्थी, शिक्षक, राजनीतिकर्मी, शिक्षकको नेता, साहित्यकार र सार्वजनिक बौद्धिक कर्मका रुपमा संग्रौलाले आफ्नो समयसँग गरेका संवादहरूको विभिन्न कोणबाट गरिएको परीक्षण हो। यसो गरेर उज्ज्वलले नेपाली प्रगतिवादी साहित्य, नेपालको कम्युनिष्ट आन्दोलन र यसबीचमा लोकतन्त्र र गणतन्त्रको प्राप्ति तथा समावेशी र न्यायपूर्ण समाजका लागि भएका अनेक सीमान्त समुदायका आन्दोलनको इतिहासको पनि अभिलेखीकरण गरेका छन्। यो यस अर्थमा, ०१५ देखि ०७२ सम्मको नेपालको राजनीतिक साहित्यिक आन्दोलनको इतिहास अध्ययन गर्नेहरूका लागि मज्जाको सन्दर्भ सामग्री पनि हो। यसका लागि उज्ज्वललाई बधाई दिनुपर्छ।
पुस्तकमा भएका कुरा
चारसय छयत्तर पेजको यो पुस्तकले एकपाखे रुपमा संग्रौला यस्ता हुन्, उस्ता हुन् भन्ने बखान मात्र गरेको छैन। भूमिका र धन्यवाद बाहेक १८ अध्याय या उपशीर्षक रहेको यो पुस्तकको पहिलो अध्याय संग्रौलाको बाल्यकालबाट आरम्भ हुन्छ। ‘सुभाङका शासक खलक’ शीर्षकको पहिलो अध्यायमा लेखकले संग्रौलाको हुर्काइसँग जोडिएका, जन्मस्थान, परिवार, सुभाङको समाज, त्यहाँका बासिन्दाका सुख–दुःख, संघर्ष र राजनीतिका उड्दै जाने बाछिटाका कथा सबै खोतलेका छन्, जसले संग्रौलाको व्यक्तित्व निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए।
मानिस आफै र एक्लै केही होइन। उसको मानसिक विकास र व्यक्तित्व उसले बेहेरेको समाज, त्यतिबेलाको भौतिक विकास, सांस्कृतिक चेतना र त्यसमा निरन्तर आइरहने गतिशील परिवर्तनका प्रभावबाट निर्माण हुने हो। हरेक व्यक्तिको व्यक्तित्व निर्माणको एउटा ऐतिहासिक प्रक्रिया हुन्छ।
लेखक उज्ज्वल आफ्नो लेखन धर्मप्रति निकै सजग र प्रतिबद्ध देखिन्छन्। संग्रौलाको बाल्यकालीन समाज र जीवन बुझ्न उनले सुभाङको यात्रा पनि गरेका छन्, पुस्तकालय चाहरेका छन्, उनका बालसखादेखि समकालीन मित्रहरू भेटेका छन्। यसले संग्रौलालाई नभेटेको वर्तमान र भावी पुस्ताका पाठकहरूलाई संग्रौलासँगै यात्रा गर्न सहज बनाएको छ। शासक खलकका संग्रौलाका बाको घर समाजमा रहेको हैकम, दलित र तल्लो वर्गका गाउँलेहरूले पाएका हण्डर, शिक्षाको प्रवेश र उत्सुकता जस्ता संग्रौलाको लेखनमा आएका अलग–अलग कथाहरू एकैठाउँमा समेटेर सरसरती पढ्न पाइने बनाएका छन्। पाँचथर र तेह्रथुममा स्कुले शिक्षा र आइएसम्म पढ्दाका उनको संगत र शिक्षकहरूले भरेका भविष्यप्रतिका आसावादले अहिलेका संग्रौला बन्न मद्धत गरेको बुझ्न सकिन्छ।
यसैपनि मानिस आफै र एक्लै केही होइन। उसको मानसिक विकास र व्यक्तित्व उसले बेहोरेको समाज, त्यतिबेलाको भौतिक विकास, सांस्कृतिक चेतना र त्यसमा निरन्तर आइरहने गतिशील परिवर्तनका प्रभावबाट निर्माण हुने हो। हरेक व्यक्तिको व्यक्तित्व निर्माणको एउटा ऐतिहासिक प्रक्रिया हुन्छ। यसैले लेखकले शासक संग्रौलाका धेरै सन्तानमध्येका काइँलो छोरा खगेन्द्र संग्रौला कसरी एउटा विद्रोही र बागी लेखक तथा अभियन्ता बने यसमा कसको भूमिका कस्तो छ भन्ने विषयमा समग्रतामा खोतल्ने प्रयास गरेका छन्। वामदेव पहाडी समेतका शिक्षकहरू त्यसै मेसोमा सामेल गरिएका छन्।
आमा, डिल्लीबजार तिरकी बिनु, खुदीका मुक्ति खनाल र लमजुङ नागिधारका गुरुङ्की छोरी बन्दिपुरमा नर्सिङ पेशा गरी बस्ने जमुना लगायत अनेकसँगका संगतले संग्रौलाले जीवनका अनेक–अनेक मोडमा केही सिकेका छन् केहीलाई सिकाएका छन्। यीनका विस्तारित चर्चा पुस्तकमा छन्।
शहरमा हुर्कदों प्रेमलाई ओइल्याउन दिएर उनी पुग्छन् सुसाई रहेको मर्स्याङ्दी र गडगडाउने खुदी खोलाको किनारमा अर्थात् लमजुङको खुदीमा शिक्षक हुन्। दिउँसो शिक्षक, रात विरात साधारण किसान र विद्यार्थीहरूसँग राजनीतिक कक्षा।
काठमाडौं आएर त्रिचन्द्र कलेज पढ्न थालेका संग्रौला विस्तारै साहित्य अध्ययनको विस्तारित दुनियाँमा प्रवेश गर्छन् र सँगै साहित्य सिर्जनाका लतिका बन्छन्। वामपन्थी वृत्तमा उनको साहित्य सिर्जनाले एउटा परिचय बनाउँदै पनि जान्छ। सभा गोष्ठीहरूमा पुग्छन्। वामपन्थी विद्यार्थी नेताहरूसँगको सरसंगतले विचारमा निखार ल्याउँछन्। र, विस्तारै त्यतिबेलाको राजनीतिक अन्धकारबीच विद्रोहको विगुल फुक्दै गरेका आन्दोलनहरूको रापतापमा परेर कम्युनिस्ट राजनीतिमा सामेल हुन्छन्।
यसले उनलाई समाज बदल्न, नौलो जनवादी क्रान्ति गर्न गाउँमा पुगेर वर्ग संघर्ष उठाउन प्रेरित गर्छ। शहरमा हुर्कदों प्रेमलाई ओइल्याउन दिएर उनी पुग्छन् सुसाई रहेको मर्स्याङ्दी र गडगडाउने खुदी खोलाको किनारमा अर्थात् लमजुङको खुदीमा शिक्षक हुन्। दिउँसो शिक्षक, रात विरात साधारण किसान र विद्यार्थीहरूसँग राजनीतिक कक्षा।
कुनै बेला लमजुङ, मनाङ् र मुस्ताङ्को साल्ट रुटमा कर उठाउने ठेक्कापट्टा पाएका स्थानीय सुब्बा खलकका अध्ययनशिल पूर्व मन्त्री खगेन्द्रजंग गुरुङ विद्यालयका अध्यक्ष हुन्छन्। बेसीशहर कटेपछि उनको हाइहुकुम चल्छ। विद्यालयमै अर्का शिक्षक थिए खगेन्द्र पूर्वेली। तिनभाई खगेन्द्रहरूको मिलोमतोमा भइरहेका राजनीतिक गतिविधिमाथि प्रशासनको आँखा लागिरहन्छ। पूर्वेली मनाङ् भासिन्छन्। संग्रौला विस्तारै ठाउँ छाड्छन् र खुदीबाट चुँदी टुहुरे पसलतिर लाग्छन्। उनको कर्म रोकिँदैन। कथा लेखिरहन्छन्। नाटक लेखेर अभिनय गर्छन्। विद्यार्थी र किसानहरूसँग लुकिलुकी राजनीति गरिरहन्छन् र लखेटिएर बन्दिपुर पुग्छन्।
यो पनि पढ्नुहोस् –
त्यही बन्दिपुरमा नर्सको काम गरिररहेकी लमजुङे गुरुङ्सेनी जमुनासँग पिरती बस्छ र घरजम हुन्छ। अर्को मोड आउँछ, नारायणगढ गएर पढाउन थाल्छन्। यही यात्राका क्रममा उनी नेकपा चौम, सर्वहारावादी श्रमिक संगठनलगायतका कम्युनिष्ट दल र तिनको नेतृत्वको संगतमा पुग्छन्। शिक्षक आन्दोलनमा लागेर संगठनको महासचिव बन्छन्। तर, उनमा एउटा अन्तरसंघर्ष जारी रहन्छ। पारिवारिक जीवन चलाउँदै साहित्य र लेखन मार्फत आन्दोलनमा योगदान दिने कि पूर्णकालीन राजनीतिमा होमिने ? अन्ततः उनको स्वभाव र प्रकृतिले उनलाई लेखनतिर लाग्न लगाउँछ र उनले पछि नफर्कने गरी सक्रिय राजनीतिक नेताको भूमिका परित्याग गर्छन्।
सहरमा झर्ने कुनैपनि गाउँको साधारण परिवारका मानिसका जिजीविषाका अनेक आयाम हुन्छन्। सानो कमाइ होस, सानो घरवास आफ्नै होस्, केटाकेटीलाई राम्रो शिक्षा दिन सकियोस्। र, संग्रौला जस्ता राजनीति सचेत मानिसका मनमा सामाजिक भूमिका र आफ्नो अलग पहिचानको खोजी पनि अभिन्न बनेर आउँछ नै। अनुवाद, भाषा शिक्षण र लेखनका माध्यमबाट पत्नीका आयस्तासमेत मिलाएर उनी माथिका सपना पुरा गर्दै जान्छन्। प्रलेसको महासचिव बन्छन्। विस्तारै हरेक सत्ताधारीका आलोचक बन्छन् र क्रान्तिकारी परिवर्तनका पक्षमा लेखिरहने बोलीरहने र जुलुस सभामा पुगिरहने अभियन्ता पनि।
यसरी उनको चारथरी व्यक्तित्व निर्माण हुन्छ। छोरो, लोग्ने र पिताका रुपमा पारिवारिक भूमिका निर्वाह गरिरहेको संग्रौला। शिक्षकका रुपमा पढाइरहेको माष्टर संग्रौला। पार्टी राजनीतिमा लागेको नेता या कार्यकर्ता र जेलयात्री। साहित्य र अखवारी लेखनका माध्यमबाट समाजको रुढ चिन्तनमाथि आफ्नो लेखन मार्फत झर्रो भाषा र मार्क्सली पाइनसहित हस्तक्षेप गरिरहेको, सीमान्तहरूलाई बाटो देखाइरहेको र आफैंलाई निरन्तर परिस्कृत गर्दै पुनर्उत्पादन गरिरहेको संग्रौला।
एकैपटक माओवादीबाट, एमालेबाट, वामपन्थीबाट, दरवारीयाबाट, कथित राष्ट्रवादीबाट, धर्मान्ध दक्षिणपन्थीहरूबाट गाली खाइरहेको। आरोपित भइरहेको। र पनि निरन्तर आफ्नो अड्डी नछाडी सार्वजनिक मञ्चबाट सत्तालाई प्रश्न गरिरहेको।
यही पछिल्लो संग्रौला थियो माओवादी जनयुद्धको प्रारम्भिक दिनमा प्रहरीबाट वेपत्ता पारिएको। माओवादीको निर्मम आलोचना र रमरम समर्थन गरिरहेको। माओवादी कार्यसूचि मानिएका संविधान सभा, गणतन्त्र र समावेशी लोकतन्त्रको वकालत गरिरहेको। अलिअलि प्रज्ञा प्रतिष्ठानमा पनि पुगुँ की भन्ने कल्पना गरे पनि कहिल्यै सरकारी अधिकारी नबनेको। मन नपरेका दिन माओवादीलाई काँधबाट चिलाउनेको मुढा फाले झैं फालेर हल्का भएको।
एकैपटक माओवादीबाट, एमालेबाट, वामपन्थीबाट, दरवारीयाबाट, कथित राष्ट्रवादीबाट, धर्मान्ध दक्षिणपन्थीहरूबाट गाली खाइरहेको। आरोपित भइरहेको। र, पनि निरन्तर आफ्नो अड्डी नछाडी सार्वजनिक मञ्चबाट सत्तालाई प्रश्न गरिरहेको।
उज्ज्वलले राजनीति र लेखनका संग्रौला आयामबारे विस्तारमा चर्चा गरेका छन्। र, केही ठाउँमा उनका कमजोरी उजागर गर्ने प्रयास पनि गरेका छन्, तर यस्तो लाग्छ लेखकले आफ्नो पात्रलाई सफाइ दिने मौका पनि दिएका छन्। यसमा उनको छोरी जन्मदाको अनुभव पर्छ। राजनीति र चितवन चटक्कै छाडेर काठमाडौं हान्निँदा दिइएका पत्नी र छोराछोरीको लालनपालनको जिम्मेवारी सम्बन्धी धारणा पनि पर्छन्। उनको भनाइ जस्तै हरेक क्रान्तिकारीले परिवारलाई प्राथमिकता दिँदा हुन् त क्रान्ति र परिवर्तन कसरी सम्भव हुँदो हो भन्ने प्रश्न गर्न सकिन्छ।
कहिले–कहिले सत्ताको आलोचना गर्ने नाममा बरालिएर परिवर्तनवादीलाई होइन साना–साना सुधारका पक्षधरलाई समर्थन गरेको आरोप पनि उनलाई छ। खासगरि जुनकिरीको संगितका सन्दर्भमा। र, कहिलेकाहीँ व्यक्तिको उछित्तो काढ्दा या समर्थन गर्दा अतिमा गएर लेख्ने बोल्ने गर्दा संग्रौलामा देखिने बहकावको भने उनले साझा प्रकाशन, नयनराज पाण्डेको अनसन र हरिगोविन्द लुँइटेलका विषयमा संग्रौलाले लेखेको लेखले निम्त्याएको अनावश्यक तिक्तताका विषयमा सविस्तार चर्चा गरेर उठाएका छन्।
उनका अनेक गुण छन् तर आलोचना नसहने र आफ्नो सत्तामाथि प्रश्न गर्नेलाई उछित्तो काढ्ने या कसैको दोषभन्दा बढी गालि गर्ने गर्छन् भन्ने आरोप पनि उनलाई लाग्छ। यस्ता प्रसंग पनि समावेश गरेको भए अझ राम्रो हुने थियो।
एउटा कुरा ठोकुवा गरेर भन्न सकिन्छः राजनीतिक नेताका रुपमा खगेन्द्र संग्रौलाले दिने भन्दा कैयन गुना राम्रो योगदान उनले लेखककै रुपमा गरे र नेपाली समाजलाई गुन लगाए। खासगरी ०५८ देखि ०६३ को आरम्भसम्म कायम संकटकाल र राजाको निरंकुश सत्ताका समयमा उनले कुन्साङ काकाको छद्म नाममा कान्तिपुरमा चलाएको स्तम्भ नेपालको अखबारी लेखनकै शक्तिशाली कोलम मानिन्छ। आज जे जस्तो व्यक्तित्व उनको बनेको छ क्रान्तिकारी लेखक र सार्वजनिक बौद्धिकको रुपमा, कुन्साङ काकाका रुपमा प्रस्फुटन भएको थियो।
उनका अनेक गुण छन् तर आलोचना नसहने र आफ्नो सत्तामाथि प्रश्न गर्नेलाई उछित्तो काढ्ने या कसैको दोष भन्दा बढी गाली गर्ने गर्छन् भन्ने आरोप पनि उनलाई लाग्छ। यस्ता प्रसंग पनि समावेश गरेको भए अझ राम्रो हुने थियो।
लेखकले संग्रौलाका अखबारी लेखन, कथा र निबन्धसहित कविता र अनुवादका सबैजसो विषयलाई समग्र अध्ययन गरेका छन्। त्यसैमार्फत संग्रौलाको जीवन र जीवन दृष्टिमा आइरहेका सुक्ष्म परिवर्तनलाई केलाएका छन्। नेपालका जीवित या मृत कुनै सार्वजनिक व्यक्तित्वमाथि विश्वविद्यालयका थेसिस लेख्नेहरूले बाहेक यति गहन रुपमा लेखिएको छैन।
यो पुस्तक चर्चा मात्र हो, समीक्षा हैन। यसैले यहाँ के छ भन्ने त लेखियो तर समग्रमा लेखकबाट लेखिएका पात्रका सिर्जना र कर्ममाथि विस्तारमा चर्चा गरिएन। ०१५ यताको नेपाली राजनीतिको विकासक्रम र त्यसमा खासगरि वामपन्थी राजनीतिका आयामहरू बुझ्न चाहनेका लागि यो संग्रहयोग्य पुस्तक हो। प्रगतिवादी साहित्यका सर्जक, पाठक र संगठकहरू सबैका लागि यो अनिवार्य पाठ्यसामग्री पनि हो। यसप्रकारको पुस्तक लेखेर उज्ज्वलले एउटा महत्वपूर्ण काम गरेका छन् र हामी सबैलाई गुन लगाएका छन्।
एउटा कुरा भन्नै पर्छ यो किताब पढ्न सरल चैं छैन्। लेखकले अड्कलेर र घुमाएर लेखेका छन्। संग्रौला, उनका सिर्जना तथा उनको विचारमाथि लेखकले आफ्नै टिप्पणी दिएका छैनन्। अरुका मुखबाट बोल्न लगाएका छन्। यसलाई अझ सरल बनाउन सकिन्थ्यो।
एक बागी
खगेन्द्र संग्रौलाको साधना र संघर्ष
विधा: जीवनी
लेखक: उज्ज्वल प्रसाई
प्रकाशकः बेला पब्लिकेशन्स्, २०७९
पेज: ४७६
मूल्य: ९४५