सगरमाथाको नाम परिवर्तन गर्ने तथा त्यसमा भारतको दाबी ‘ठोक्नु पर्ने’ बताएको भारतको निजी समाचारले आफूलाई “बडे भैया” बनेर सगरमाथाको दावीलाई अन्यत्र मोड्न खोजेको छ।
नेपालमा विरोध भएपछि सो अभियानलाई जी न्यूजका सम्पादक सुधिर चौधरीको ‘टोन’ मा भने परिवर्तन ल्याएका भएपनि भारतीय गोदी मिडिया भारतीय शासककै मनोभावनाबाट अलिकति पनि फरक नभएको देखिन्छ।
उनले भारत अंग्रेजबाट स्वतन्त्र भए पनि अझै पनि सगरमाथा अंग्रेजको ‘गुलाम’ रहेको भन्दै आफूहरुले त्यही गुलामीको विरोध गरेको उनले दाबी गरेका छन्। सगरमाथा क्षेत्रमा जाँदाको भिडियो फुटेजमा माउन्ट एभरेस्ट भारतको दाबी रहनु पर्ने बताएका चौधरीले बुधबार स्टूडियोबाट बोल्दा हिमालमा नभई त्यसको नाममा आफ्नो दाबी रहेको भनी सच्याएका छन्।
तथापी नेपालले विश्वको सर्वोच्च शीखरलाई ऐेतिहासिक तथ्यका आधारमा सगरमाथा नाम दिएको कुरा उनले कहीं चर्चा गरेनन्। नेपालले अङ्ग्रेजले दिएको एभरेष्टलाई चार दशकभन्दा अघि नै खारेज गरिसकेको थियो।
‘माउन्ट एभ्रेस्ट माउन्ट सिक्दर बन्दा हिमाल भारतको हुन्छ भन्ने होइन। हिमाल त्यहिँ रहने छ। तर इतिहासमा भएको गल्ती सुधार हुन्छ।’ चौधरीले भनेका छन्। यति भन्दाभन्दै पनि उनले अर्को किचलो मच्चाएका छन्।
उनी भन्छन् -‘नेपाल–भारत राम–लक्ष्मण जस्तै हुन्। यो भनाइमा नै उनले पुनः भारतलाई राम र नेपाललाई लक्ष्मण उपमा दिएर पुनः “बडै भैया” को रवाफलाई स्पष्ट गरेका छन्।