कामचलाउ प्रधानमन्त्री खड्गप्रसाद ओलीको समूहले यही २३ गते काठमाडौंको नारायणहिटी राजदरवार अघि गर्न लागेको सभाका लागि सरकारले सवारी चालक अनुमति पत्र (लाइसन्स)को लिखित र प्रयोगात्मक परीक्षा नै स्थगित गर्ने भएको छ । काठमाडौं उपत्यकामा हुने लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षा स्थगित भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले सूचना जारी गरी जानकारी दिएको छ ।
देशमा पंचायती शासन व्यवस्था हुँदा राजाको कुनै क्षेत्र विशेषमा आगमन हुँदा त्यहाँका स्कुल, अस्पताल र अन्य सरकारी कार्यालयहरू नै बन्द हुने गर्थे । गणतन्त्रमा पनि एउटा पार्टीको गुटको सभाका लागि सरकारी काम नै बन्द गर्ने कुरालाई लिएर सर्वत्र आलोचना भएको छ। सिंगो महानगरीय ट्राफिक प्रहरी महाशाखाले नै आफ्ना नियमित कार्यक्रम स्थगित गरेर उक्त सभाका लागि खटिनुपर्ने भनी सूचना निकालेपछि त्यसबारे अनेक टिकाटिप्पणी सुरू भएका छन् ।
यसअघि गर्दै आइएका कुनै पनि सभा जुलुसका नाममा यसरी कसैका परीक्षा स्थगित भएका थिएनन् । लामो समयको प्रतिक्षापछि लाइसेन्स परीक्षा दिन कुरेकाहरूको परीक्षा पछाडि धकेल्ने योजनाले परिक्षार्थीहरू समेत उत्तिकै क्रुद्ध छन् । ट्राफिक प्रहरीले भने यातायात व्यवस्थामा चुनौती रहेकाले परिक्षा स्थगित गर्ने बताएको छ । यसअघि नेकपाको बहुमत पक्षले काठमाडौंमा विशाल जनप्रदर्शन गर्दा पनि प्रहरीले लाइसेन्स परिक्षा नै स्थगित गराएको थिएन ।