उनीहरु ‘नेता’ बन्ने ध्याउन्नले संगठित भएका थिएनन् न यो उनीहरुको उपार्जनको मेलोमेसो नै थियो। उनीहरु त सामाजिक मिशनमा थिए। उनीहरु ठान्थे उनीहरु बाँची रहेको समाज अन्यायपूर्ण छ जसलाई तानाशाही राज्यले भरथेग गरेको छ, त्यसको शिर्षमा निरंकुश राजतन्त्र छ। अन्यायपूर्ण यस कारणले थियो कि समाजको प्रचण्ड बहुमत हिस्सा शक्तिको सोपानमा फगत करिया हुन अभिशप्त थियो – मुलुकको राजनीति, अर्थतन्त्र र संस्कृति सत्ताधारीको हित र मर्जी अनुसार चल्नु पर्थ्यो। त्यसले यस प्रणालीलाई ‘अजेय’ किल्ला बनाउन राज्यको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई राजाको कमाण्डमा एकीकृत त गर्यो नै भिन्न राजनीतिलाई वर्जित गर्न ‘निर्दलीय पंचायती पंचायती व्यवस्था’ थोपरी दियो। त्यसो त यसको शुरुवात नै जन निर्वाचित सरकारलाई अपदस्त गरी सबका सबलाई खोर बाख्री खोर गर्दै र बालबाल बचेकाहरु ‘डाँडो काट्न’ विवस पारेर शुरु गरिएको थियो। भित्र आफै कमजोर र थियो त्यो र ‘शीत युद्ध’का शक्तिसँग चलखेल गर्दथ्यो।
उनीहरुले ठाने यसलाई नबदली सवल, समुन्नत र स्वतन्त्र राष्ट्र निर्माण गर्न सकिदैन। बदल्नु भनेको टालटुल गर्नु होइन। त्यसैले उनीहरुले क्रान्तिको शंखनाद गरे – त्यो पनि माथिबाट होइन, तलैबाट हस्तक्षेप गरेर। त्यसका निम्ति ‘स्थानीय सत्ता’ कब्जा गर्ने रणनीति अख्तियार गरे, भूमिहीन गरिब किसानलाई भर गरे र स्थानीय ‘वर्गशत्रु सफाया’को अभियान संचालन गरे। नक्सलबाडी आन्दोलनको ‘वसन्तको मेघ गर्जन’ र चिनियाँ ‘सांस्कृतिक क्रान्ति’का प्रभाव पनि थिए उनीहरुमा। त्यसको ठीकै कोणबाट आलोचना पनि नभएको होइन। पछि गएर आन्दोलन भित्रैबाट सच्याइयो पनि। तथापि उनीहरुको निष्ठा र इमानमा उनीहरुको राजनीति, सिद्धान्त र दर्शनमा विमति राख्नेहरुले पनि शंका गरेनन्। बरु उल्टै उनीहरुको स्पिरिटको मुग्ध प्रशंसा गरे।
उनीहरुले जे गरे सामुहिक र संस्थागत निर्णय लिएर गरे। सामाजिक मिशनले उनीहरुलाई यति निर्भिक र समर्पित बनायो कि उनीहरुलाई बन्दी बन्दा दिईएको पाशविक यातना त के कुरो गोलीका पर्रा छातीमा छुट्दा पनि क्रान्तिको रणघोष गर्न कत्ति हिचकिचाएनन्। उनीहरुले अख्तियार गरेको सामाजिक मुक्तिको तागत गद्दीमा होइन, सम्भ्रान्तहरु संगको हातेमालो या मुलाहिजाबाट होइन शोषण र उत्पीडनमा परेका निमुखा जनको घर दैलोमा गएर जागृत, संगठित र आन्दोलित गर्नमा थियो।
उनीहरुमा जे थियो त्यसमा ‘म’ मलाई’ मेरो गुट’ मेरो मान्छे’ थिएन। जे थियो ‘मिशनका हामी’ थियो र त्यो हामी हरेक ‘नेता’ ‘कार्यकर्ता’को स्वत्व र अस्मिताको रक्षा गर्थ्यो। न तलका कारिन्दा थिए, न त माथिका बाबु साहेब। सरल थिए फारुतिनो थिए। उनीहरुको यो समर्पण र तरिका परिवर्तन र प्रगतिको मुखापेक्षी युवा तथा विद्यार्थीहरुको ठूलो प्रेरणा बन्यो। नेपाली राजनीतिमा उनीहरुले शुरु गरेको त्यस अभियानलाई ‘झापा विद्रोह’ भनेर चिनिन्छ।
आजकै दिन, २०२९ साल फाल्गुन २१ गते त्यस विद्रोहका अग्रणी नेता – नेत्र घिमिरे, रामनाथ दाहाल, विरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई झापाको सुखानीमा लागेर तत्कालिन राज्यले निर्ममतापूर्वक हत्या गर्यो। उनीहरुकै शहादतको बलले गर्दा पनि तत्कालिन एमाले र अन्ततः आजको नेकपा बनेको हो।
आज मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित छ। यसमा पनि उनीहरुको योगदान अविस्मरणीय छ। उनीहरुको सपनाको सवल, समुन्नत र स्वतन्त्र राष्ट्र बनाउनका निम्ति आजको संघीय लोकतान्त्रिक गणतन्त्रले आधार दिएको छ। त्यसो त प्रणाली आफैमा पर्याप्त न हुने रहेछ। हाम्रो सामाजिक भागोलिक यथार्थमा प्रणालीसंग संगति राख्ने संरचनात्मक सुधारको अभिभारा हाम्रो काँधमा छ।
सामाजिक विभाजन र असन्तुलित विकासले हामीलाईलाई विकासर र समृद्धिमा यसरी लाग्न भनिरहेको छ ताकि त्यो ‘राजनीति, नोकरशाही तथा व्यवसायिक पुँजीको माखे साङ्ग्लो’बाट बाहिर निस्केर सिमान्त वर्गको पहुँचसम्म पुगोस्। हामी अन्तर्राष्ट्रिय समुदाय बीच आफ्नै बुतामा सिधा खडा हुन सकौँ, सबैसँग मित्रता बनाई राखौँ तर आफ्नो अस्मिता र स्वतन्त्रताको मुल्यमा होइन।
हाम्रा यी अभिष्टसँग मेल खाने नव जागरण हाम्रो सांस्कृतिक अभियान बनोस्। त्यसको निम्ति गतिलाई तीव्र बनाउने हो भने उत्तिकै निष्ठा, ईमान र स्पिरिट चाहिन्छ नै। अझ, मिशन बिर्सेकाहरु र शहीदहरुले बनाएको गुढमा कोरल्लिएका ‘कोइली’बाट आन्दोलन र सामाजिक मिशनलाई जोगाउनु पनि उत्तिकै जरुरी छ।
जसले आफ्नो जीवन आहुति गरे, हामी बाँचेकाहरुले कम्तिमा पनि उनीहरुलाई सम्झेर आ-आफ़्नो ठाउँबाट सकेको योगदान गर्न सकौं! हाम्रा जिम्मेवारी बाँकी छन् :
‘आरु ढकमक्क फुलेको बेला
एक दिन रानी चरी डाली डाली नाचेको बेला
तिमीले कर गर्यौं,”आज यतै बस न :
किनकी तिम्रो घोडा लखतरान भा’को छ ।”
मैले भने, “म जानै पर्छ
किनकि मेरा रेशम किरा भोकै छन्।’
(चु ये, चीनकी छिन वंश(२६५-४२०) की कवियित्री।)
अमर शहीदहरु ! श्रद्धा सुमन ! लाख लाख वन्दना !!
साभारः २०७५ फागुन २१ गते मंगलवारकाे फेसबुकबाट।