कञ्चनपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित विघटित प्रतिनिधिसभा सदस्य दीपकप्रकाश भट्टले नेपाली नागरिकमाथि गोली हान्ने भारतीय सुरक्षा फौजलाई कारबाही गर्न माग गरेका छन्। भट्टले घाइतेको उपचारको व्यवस्था गर्न सरकारसँग माग पनि गरेका छन्।
कञ्चनपुरको दोधारा चाँदनी नपास्थित बैलबन्धको नेपाल-भारत सीमामा भारतीय सुरक्षा फौजले सोमबार साँझ १६ वर्षीय नरेन्द्र लुहारमाथि गोली प्रहार गरेको थियो। घाइते लुहारको महाकाली अञ्चल अस्पतालमा उपचार हुँदैछ। आफ्नो निर्वाचन क्षेत्रमा भएको घटनालाई निन्दनीय भन्दै नेकपा (दाहाल-नेपाल समूह) का नेता भट्टले सत्यतथ्य पत्ता लगाउन तथा दोषीमाथि कारबाहीको माग गरेका हुन्।
यसैगरी भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट र वेदकोट नगरपालिकाका मेयर अशोक चन्दले पनि घटनाको विरोध गरेका छन्। उनीहरुसहित नेकपा र कांग्रेसका कार्यकर्ताले सामाजिक सञ्जालमा भारतीय विस्तारवाद मुर्दावादको नारा लेखेर विरोध गरेका छन्। जिल्लाका नागरिक अगुवाले पनि घटनाको विरोध गर्दै दोषीलाई कारबाहीको माग गरेका छन्।
पूर्वमन्त्री उर्वादत्त पन्तले घटनाको विरोध गर्दै ‘भारतीय बिस्तारवाद मुर्दावाद, नेपालमा रहेका भारतीय एजेन्टहरु मुर्दावाद, नेपाली जनता र नेपाल राष्ट्रको स्वाधीनता जिन्दावाद’ नारा फेसबुकमा लेखेका छन्।