सङ्घीय सरकार कृषि मन्त्रालय र प्रदेश सरकारका कृषि मन्त्रालयबीच पाँच बुँदे समझदारी भएको छ । हिजो र आज सङ्घीय मन्त्री र प्रदेशमन्त्रीबीच भएको छलफलले उक्त समझदारी कायम गरेको हो ।कृषिमन्त्री घनश्याम भुसालले सातवटै प्रदेशका कृषिमन्त्रीसँग नेपालको कृषि क्षेत्रमा दीर्घकालीन विकासका लागि प्रदेशका विभागीय मन्त्रीसँग सुझाव लिन दुईदिने बैठक आयोजना गरेका थिए।
बैठकले नेपालको कृषिको विकासका लागि पाँच बुँदे समझदारी कायम गरेको बताइएको छ । बैठकले कृषि विकासका लागि सङ्घीय र प्रादेशिक मन्त्रालयबीच योजना, कार्यक्रम, बजेट निर्माण समन्वयात्मक ढङ्गले गरिने पहिलो समझदारी कायम गरेको छ ।यसैगरी समझदारीको दोस्रो बँुदामा कृषि विकासका योजना र कार्यक्रम कार्यान्वयनमा आवश्यक सहकार्य गर्ने, तेस्रो बुँदामा कृषि क्षेत्रको संरक्षण र विकासका लागि तिनै तहका सरकारबाट प्रदान गरिने सेवासुविधा, स्रोत परिचालनमा एकरुपता कायम गरिने समझदारी भएको छ।
त्यस्तै चौथो बुँदामा कृषि नीति, योजना र कार्यक्रम तर्जुमा तथा कार्यान्वयनमा सङ्घ र प्रदेश सरकारबीच मन्त्री र सचिवस्तरीय संयन्त्र बनाउने, पाँचौँ बुँदामा तिनै तहका सरकारबीच समन्वय र सहकार्य गर्न छिटै स्थानीय तहसँग समन्वय बैठक गर्ने समझदारी भएको छ ।मन्त्री भुसालले सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय गरेर कृषिको विकासका आगामी योजना, नीति, कार्यक्रम र बजेट सम्बन्धमा प्रदेश सरकारका मन्त्रीसँग सुझाव लिए।
मन्त्री भुसालले कृषि प्रधान मुलुक भनेर परिचित नेपाललाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने गरी कृषिको योजना अगाडि सार्ने रणनीति बनाएको बताइएको छ ।राष्ट्रिय पूँजीको विकासमा योगदान दिने हिसाबले तिनै तहका सरकारबीच आवश्यक सहकार्य तथा समन्वय गरेर निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाउने गरी कृषि मन्त्रालयले योजना बनाइरहेको छ।
मन्त्री भुसालले कृषिमा युवापुस्तालाई प्रत्यक्ष संलग्न गराएर नेपालका बाँझाबारी र खेतलाई हराभरा गराउने विषयमा योजना बनाएका हुन् ।बैठकमा सातवटै प्रदेशबाट सहभागी भएका कृषिमन्त्रीले आ–आफ्नो प्रदेश सरकारले कृषि क्षेत्रको सम्बन्धमा लिएको नीति, कार्यक्रम, योजना र बजेट सम्बन्धमा जानकारी गराएका थिए।
बैठकमा प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री प्रदेश १ का राम राना, प्रदेश २ का शैलेन्द्र साह, वाग्मती प्रदेशका दावा दोर्जे लामा, गण्डकी प्रदेशका लेखबहादुर थापा, प्रदेश ५ का आरती पौडेल, कर्णाली प्रदेशका बिनिता देवी चौधरी र सुदूरपश्चिम प्रदेशका विमला केसीको सहभागिता थियो।