भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधन भएको छ । दिल्लीस्थित सेनाको अस्पतालमा उपचाररत उनको सोमबार निधन भएको हो ।
८४ वर्षीय पूर्वराष्ट्रपति मुखर्जीको निधन भएको उनका छोरा अभिजितिले ट्वीटरमार्फत जानकारी दिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । सोमबार अस्पतालले दिएको जानकारीअनुसार उनको फोक्सोको संक्रमणका कारण उनलाई सेप्टिक सक भएसँगै अवस्था गम्भिर बन्दै गएको थियो ।
सेप्टिक सक संक्रमणका कारण निम्तिने गर्छ । यसले शरीरमा अत्यधिक परिवर्तन निम्त्याउँछ । रक्तचापमा अत्यधिक गिरावट आएपछि सेप्टिक सक हुने गर्छ ।मुखर्जीको निधनको जानकारी दिँदै उनका छोरा अभिजीत मुखर्जीले गरेका ट्वीटमा भनेका छन् स् गह्रौं हृदयका साथ यो सूचित गर्दछु कि आरआर अस्पतालका डाक्टरहरुको अधिकतम प्रयास तथा भारतभरिका जनताका प्रार्थना र शुभेच्छाका बाबजूद मेरा बुबा श्री प्रणब मुखर्जीको निधन भएको छ ।
केही दिनअघि नै पनि मुखर्जीको निधन भएको खबर फैलिएको थियो । तर सो खबर गलत रहेको कुरा उनको छोराले नै ट्वीटमार्फत् बताएका थिए ।हालसालै मात्र मस्तिष्कको अप्रेसन गरिएका मुखर्जी कोरोना भाइरस पोजेटिभ फेला परेका थिए ।
सन् २०१२ मा भारतका राष्ट्रपति बनेको मुखर्जी २०१७ सालसम्म आफ्नो पूर्णकाल राष्ट्रपति रहेका थिए । उनलाई सन् २०१९ सालमा भारत रत्नले सम्मानित गरिएको थियो ।