प्रतिनिधि सभा सांसद एवं नेपाली काग्रेंसका नेता गगन कुमार थापाले कांग्रेस भित्रको अग्रज पुस्तालाई अबको महाधिवेशनमा नेतृत्वको दाबी छोड्न आग्रह गरेका छन्। कांग्रेस भित्र निश्चित उमेर पुगेपछि नेतृत्वबाट बहिर्गमनको थिति बसाउनु पर्ने भन्दै आग्रहको भाषा नमाने अघिल्लो महाधिवेशनमा जस्तै हस्तक्षेप गर्ने बताएका हुन्।
नेपालदीपसँगको अन्तर्वार्ताको क्रममा थापाले भने, ‘बा’हरुलाई यसपाली भन्ने हो, अनुरोध गर्ने हो। त्यो अनुरोधलाई मान्नुहुन्छ भन्ने विश्वास लिने हो। तर नेतृत्वको दाबी गर्ने अधिकार सबैको छ। मेरो पार्टीका नेताहरुलाई यो आग्रह हो; लिडरसिप ग्रो हुन दिनु पर्यो; तपाईहरु थाक्नु भयो भन्ने त मान्नु पर्यो नि। अभिभावकत्व दिने हो अब तपाईहरुले।’
थापाले नेतृत्वले आफ्नो आग्रह र अनुरोधलाई वेवास्ता गरे अबको महाधिवेशनमा पनि पहिलेको जस्तै युवा हस्तक्षेप हुने बताए। उनले भने, ‘हामीहरुले त हस्तक्षेप गर्ने हो। हस्तक्षेप नगर्ने त कुरै छैन। पहिलेको पाली पनि त गरेको नै हो।’
अघिल्लो महाधिवेशन भन्दा अहिले धेरै परिवर्तन भएको, देशव्यापी रुपमा नेता- कार्यकर्तालाई नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने लागेकोले पनि यसपालीको हस्तक्षेपले सकारात्मक परिणाम ल्याउने थापाको विश्वास छ।
‘अघिल्लो पटक माया थियो। यो पटक पार्टी पंक्तीमा ‘थ्रेट’ महसुस भइरहेको छ। पार्टी क्राइसिसमा छ। २०६४ सालमा पार्टी हार्दा कसैलाई ‘क्राइसिस’ को महसुस भएको लागेको थिएन। तर अहिले त पार्टी नै सक्कियो भन्ने लागेको छ,’ थापाले भने।
थापाले कांग्रेस लोकतान्त्रिक परिपार्टी बसाल्ने कुरामा चुकेको बताए।
थापाले अबको महाधिवेशनबाट आउने नेतृत्व जनता समक्ष भोट माग्न जाँदा पत्याउने किसिमको हुनुपर्ने बताए। उनले भने, ‘कम्युनिस्ट पार्टीले जसरी जनमतको अपमान कांग्रेसको यो नेतृत्वले गर्दैन भनेर जनता समक्ष भोट माग्न सकियोस्।’
फरक प्रसंगमा थापाले नेपालका कम्युनिस्ट पार्टीहरु अत्यन्तै निर्लज्ज भएको बताए। उनीहरुको बोली र गराइमा एकरुपता नदेखिएको उनले बताए। उनले भने, ‘तपाई कम्युनिस्ट पनि हुनु भएको छ, मंचमा बसेर गायत्री मन्त्र पढेर पनि हामीलाई नै सुनाउनु हुन्छ। तपाई कम्युनिस्ट पनि हुनु भएको छ, सयौं प्राइभेट कम्पनिको मालिक पनि सँगसँगै हुनु भएको छ। तपाई कम्यिनिस्ट पनि हुनु भएको छ इलेक्टोरल डेमोक्रेसी प्रति पनि प्रतिवद्धता जनाउनु पर्ने भएको छ।’-नेपालदिप