Wednesday, March 3, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home यो हप्ता

इतिहासको गाली खाने या मुर्ख शासकविरुद्ध लड्ने ?

by nepal_readers
February 9, 2021
- यो हप्ता
इतिहासको गाली खाने या मुर्ख शासकविरुद्ध लड्ने ?
Share on FacebookShare on TwitterEmail

नेपोलिन बोनापार्टको एउटा भनाई छ, ‘मृत्युको आधारमा कोही पनि शहिद हुँदैनन्, मृत्युको कारण के हो त्यसको आधारमा कोही शहिद हो कि होइन भनेर निर्धारण हुन्छ ।’ बोनापार्टहरूको युगमा शहिदहरूको परिभाषा यसरी लगाईदै गर्दा र मृत्युको कारण के हो भनेर खोजिँदै गर्दा कोही पनि राष्ट्रको सीमानाका लागि, सीमाना तन्काउन होस् वा बचाउनका लागि उसको मृत्यु भयो भने उसलाई शहिद हुन योग्य ठानिन्छ । युरोपमा मात्रै होइन, हामी एशिया र अमेरिकामा हेर्न सक्छौँ । थुप्रै ठाउँमा यसरी नै शहिदहरू बनेका छन् र शहिदहरूका परिभाषा बनाइएको छ ।

हाम्रो सन्दर्भमा भने स्थिति त्यो रहेन । चारजना शहिदहरूले २००७ सालमा माघ १० देखि १६ गतेसम्म शाहदत् प्राप्त गर्दै गर्दा होस् वा यसबाट प्रेरणा पाएर पछिल्लो समयसम्ममा हजारौँ सपूतहरू, जसलाई हामीले शहिदहरू भनेर बुझ्छौँ, कसैले पनि सीमानाका लागि शाहद् प्राप्त गरेका थिएनन् । हाम्रो सन्दर्भ नेपालको सीमानाका लागि थिएन । हामीसँग सीमाना थियो, तर त्यो सीमानाभित्र शासन गर्नेले तपार्इं र मेरो शान, मान र सम्मान खोसेकाले त्यहीँ सीमानाभित्र हाम्रो सम्मानका लागि हाम्रा सपूतहरूले आफ्नो जीवन शाहदत् गरे, जसलाई हामी शहीद भन्दैछौँ ।

पञ्चायतमा होस् वा माओवादीको युद्धका बेला शहादत गर्ने होस्, सबै शहीदहरूले यसैका लागि शहादत् प्राप्त गरे । सबै साहदत् तपाई र मेरो सम्मान र शानका लागि हो । तपाईं र मेरो उज्यालोका निम्ति थियो । थोरैलाई उज्यालो भएर पुग्दैन । त्यसैले उज्यालो सबैलाई चाहिन्छ भन्ने थियो । तपाईं र मेरो स्वतन्त्रताका लागि थियो । समानताका लागि थियो । गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्री त्यो दिन गोली खान तयार नभएको भए, आज रत्नपार्कमा न यो मञ्च बन्थ्यो, न तपाई हामी थपडी मार्न पाउथ्यौँ । तपाईं हामी यसरी उभिन पाएका छौँ भने यस्ता धेरै शहीदहरूको रगतले त्यो आधार दिएको छ । त्यो प्रेरणा दिएको छ ।

दरबारका महत्वाकांक्षा

२००७ सालमा आएको परिवर्तन पश्चात केही वर्षको संक्रमणपछि जब २०१५ सालमा निर्वाचन भयो । त्यो निर्वाचनपछि जब पहिलो जननिर्वाचित सरकार बन्यो, त्यो सरकारले आफ्नो कार्यकाल पूरा गर्न पाएको भए, दरबारले अनावश्यक महत्वकांक्षा नराखेको भए, आज सायद नेपालमा संवैधानिक राजतन्त्र कायम रहन्थ्यो होला । आज हामीसँग ६० वर्षदेखिको संसदीय प्रजातन्त्र हुन्थ्यो । यो गर्विलो इतिहास पनि हुन्थ्यो । हामीसँग बालियो लोकतान्त्रिक चेतना हुन्थ्यो, संस्कार हुन्थ्यो र संस्था हुन्थ्यो । हामीसँग भरपर्दो अदालत हुन्थ्यो । हामीसँग राम्रा विश्वविद्यालयहरू हुन्थे होलान् । हामीसँग लोकतान्त्रिक चेतना पनि हुन्थ्यो र त्यसलाई बोक्ने संस्थाहरू पनि हुन्थे ।

दरबारको महत्वाकांक्षाले ३० वर्ष खेर गयो । अहिले पनि कहीँकतै युवाहरूले भनेको देख्छु, ‘राजा आउ देश बचाउ ।’ दरबारले ३० वर्ष यही ठाउँबाट एकल शासन गर्ने मौका पायो । दरबारविरुद्ध जो बोल्थ्यो, उसलाई अराष्ट्र करार गरिन्थ्यो । हाम्रा कैयन् साथीहरू मारिए । प्रतिस्पर्धीविहिन राजनीति र ३० वर्षको स्थिरतापछि नेपालको अवस्था के रह्यो ?

२०४६ सालमा जनआन्दोलन हुँदै गर्दा नेपाल संसारकै सबैभन्दा गरीब देशमध्येमा परेको थियो । त्यतिबेला संसारकै सबैभन्दा बढी विदेशी रिन बोकेको देश मध्ये एउटा देश नेपाल पनि थियो । तब न जनता उर्लिए र फेरि परिवर्तनको उद्घोष भयो । ४६ साल पछाडि फेरि एउटा अवसर नेपालले पायो । तर त्यसपछि हामीले पनि ग¥यौँ । हामीपनि चुँक्यौँ । आनि माओवादीको अनावश्यक युद्धको दुस्साहस यसले फेरि अर्को १० वर्ष खेर गयो । त्यसबीचमा दरबारले फेरि अर्को महत्वकांक्षा लियो ।

०६२/६३ सालको आन्दोलन, त्यस आन्दोलनबाट आएको परिवर्तन र त्यसको व्यवस्थापन गर्न अर्को १० वर्ष लाग्यो । यत्रो लामो आरोह अवरोह पछाडि हामीले एउटा संविधान निर्माण ग¥यौँ। संविधान भनेको एउटा निर्जिव दस्तावेज मात्रै होइन, यो संविधानमा हामी ६ सय ले काम गरेका छौँ । यो संविधान यो जनआन्दोलनसँग जोडिएको छ । यो संविधान त्यो जनआन्दोलनसँग मात्रै जोडिएको छैन । यो संविधान ती चार शहीदहरूसँग पनि जोडिएको छ र यो संविधान तपाई हामीले नचिनेका सयौँ शहीदहरूसँग जोडिएको छ ।

शास्त्र नजान्नेलाई अस्त्र

सीमानाका लागि होइन, तपाईं र मेरो सीमानाभित्र हाम्रै स्वतन्त्रता र सम्मानका लागि कयौँ साथीहरू बलीमा चढे । त्यो लामो आरोह अवरोहपछि हामी अन्तिममा एउटा निस्कर्षमा पुग्यौँ, त्यो निश्कर्षलाई दस्तावेजीकरण ग-यौँ र अहिले एउटा संविधान निर्माण ग-यौँ । यही संविधानमा टेकेर यो भन्दा अगाडिको यात्रा लिएर जाने हामीले उद्घोष पनि ग-यौँ । यो संविधानलाई राम्रोसँग नियालेर हेर्नुभयो भने त्यहाँ मृत्त अक्षरहरूमात्रै होइन, त्यहाँ कहीँकतै स्पन्दनहरू सुन्नुहुन्छ । हाम्रा शहीदहरूका आवाज सुन्नुहुन्छ । स्वतन्त्रताका लागि गरिएका ती आन्दोलनका चाँपहरू सुन्न सक्नुहुन्छ । त्यसैले आज हामी भनिरहेका छौँ, ‘यो संसदको विघटन होइन, यो संविधान विघटन हो ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले यो संविधानमा टेकेर घर बनाउने मौका पाउनुभयो । संविधान हामी सबैले बनाएको जग हो, उहाँले त्यो जगमा टेकेर घर बनाउने मौका पाउनुभयो । उहाँ त हेड मिस्त्री हो, मिस्त्रीहरूको नायक । उहाँलाई पाँच वर्षका लागि जिम्मा दिइयो । तर शास्त्र नजानेकाले अस्त्र चलाउन जानेनन्, ढंग पु-याएनन् । घर बनाउन नसक्नेले ‘मैले घर बनाउन सकिन वा जानिन’ भन्नुपर्नेमा उहाँले दिएको अस्त्र प्रयोग गरेर त्यही जगमा हान्न थाल्नुभयो र जग भत्काउन थालियो ।

प्रधानमन्त्री ओलीका आसेपासेका धुपौरेहरूले ‘प्रभु तपाईले गल्ति गर्नुभयो, तपार्इंलाई घर बनाउन जिम्मा दिइएको थियो, तपाईंलाई दिइएको घनले यसको ईँट्टा फोरेर यसमा पर्खाल लगाउनुहोला भन्ठानेको, तपार्इंले जग भत्काउन थाल्नुभयो’ भन्नुपर्नेमा उनीहरू ‘क्या बात्, क्या भत्काउनुभयो’ भन्दै वरिपरि हिँडिरहेका छन् ।

प्रधानमन्त्रीलाई के लागिरहेको छ भने जसरी आफ्नो वरिपरि हिँड्नेहरूले उहाँको कदमको प्रशंसा गरिरहेका छन्, यसैगरी जनताले प्रशंसा गरिरहेका छन् । क्षमा गर्नुहोला प्रधानमन्त्री ज्यू, तपाईले जनताको अवमूल्यन् गर्दै हुनुहुन्छ । तपाईं आज राति बालुवाटारमा सुत्दै गर्दा एकपटक आँखा चिम्म गरेर सम्झनुहोस्, भोलि जब तपाईं इतिहास बन्नुहुनेछ, त्यो बेलामा नेपाली जनताले तपाईलाई कसरी सम्झनेछन् भनेर ।

तपाईंलाई जनताले ५० औँ वर्षको आरोह अवरोह पछाडि नयाँ युगको सुरुवात गर्ने मौका दिएका छन् । यो अभूतपूर्ण अवसर पाएका प्रधानमन्त्री जसको सनकको कारणले गर्दा सिंगो देशलाई दुर्घटनामा पु¥याउने पात्रका रुपमा तपाईंलाई सम्झिनेछन् । तपाईलाई एउटा अयोग्य पात्रका रुपमा सम्झिनेछन् । तपार्इंलाई जनताले सिंगो संविधानलाई विघटन गर्ने एउटा पात्रका रुपमा सम्झिनेछन् ।

तपाईंलाई जनताको मतको अपमान गर्ने पात्रका रुपमा सम्झिनेछन् । नेपालको इतिहासका पानाहरू लेखिँदै गर्दा जनताको अधिकारका लागि लड्ने पात्रहरूको पानामा प्रधानमन्त्री केपी शर्मा ओलीको नाम लेखिने छैन । तपाईंलाई कसैले पनि त्यो पाना पल्टाएर हे¥यो भने भेट्ने छैनन् । तपार्इंको नाम नेपाली जनताको अधिकार खोस्ने शासकहरूको पंक्तिमा लेखिने छ । त्यसैले तपाइको बारेमा धेरै चिन्ता छैन । तपाईंका धुपौरेहरूका बारेमा त केही भन्नुपनि छैन ।

‘कांग्रेस अलमलिनु हुँदैन’

प्रधानमन्त्री ज्यू, अहिलेको चिन्ताप्रति होइन, प्रश्न तपाईंलाई मात्रै होइन । प्रश्न हामीलाई पनि हुन्छ । चिन्ता आज आफ्नै गर्नुपर्ने बेला आएको छ । भोलि इतिहासले हामीलाई प्रश्न गर्ने छ, त्यो बेला नेपाली कांग्रेसले के गरिहरहेको थियो ? भनेर । त्यतिबेला कांग्रेसले भन्न पाउँछ, प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक कदम हो भनेर उभिएको थियो । तर यसो भन्न पाउने यो अधिकारालाई हाम्रै केही साथीहरूले अलमलाइदिनुभएको छ ।

लड्डु कांग्रेसहरू मैदानमा आउनुभएको छ । उहाँहरू भन्नुहुन्छ ‘यो हातमा पनि लड्डु, त्यो हातमा पनि लड्डु ।’ लड्डु–कांग्रेसहरूले गर्दा कांग्रेसमाथि नै प्रश्न उठेको छ । यो प्रश्नलाई हामीले उठ्न नसक्नेगरी थेचारेर हामी अघि बढ्नुपर्छ । जतिखेर मोहन शमसेरले भन्नुभयो ‘तिमी बाहुनको छोरा भएर गद्धिमाथि आँखा लगाउने ?’ त्यतिबेला शमसेरकै अगाडि उभिएर नेता बिपि कोइरालाले भन्नुभयो, ‘महाराज पुर्पुरोमा लेखेर शासन गर्ने दिन गए ।’ हामी त्यो पार्टी कांग्रेसका कार्यकर्ता हौँ । ३० वर्षको पञ्चायतमा दुर्गानन्द झादेखि योगेन्द्रमान शेरचनसम्मले एकचोटी निवेदन लेखेको भए, उहाँहरू प्रधानमन्त्री÷मन्त्री हुन पाउँथे । झुण्डिए, गोली खाए तर मन्त्री र प्रधानमन्त्री बन्न कोही पनि तयार भएनन् ।

हामी चुनावको हिसाबकिताब गरेर बस्दैछौँ । चुनाव जित्ने कुरा एउटा राजनीतिक दलले सोच्छ, सोच्नु हुँदैन भन्ने होइन । के चुनाव जित्न र हार्नका लागि नेपाली कांग्रेसको पार्टी बनेको हो ? आज खेल मैदानमा जाँदै गर्दा अर्को पट्टिको मैदानमा भएका खेलाडीहरू आफैं एक अर्कालाई हान्दैछन् । आफैं एकअर्कालाई हान्दै गर्दा कोही लडेका छन्, कोही ढलेका छन् । गोल हान्न सजिलो हुन्छ भन्ने कुरा तपाईलाई लागेको छ र मलाई पनि लागेको छ । तर गोल हान्न सजिलो हुन्छ भन्दै गर्दा यति त ध्यान पु¥याउ, खेल मैदान नै रहेन भने कहाँ गएर हान्ने हो ? खेल मैदान राख्ने पद्धतिका निम्ति लडेर आएको कांग्रेस होइन यो ? त्यसैले आजको दिन नेपाली कांग्रेसका प्रत्येक साथीले आफैंलाई प्रश्न गर्नुपर्छ, कोही अलमलमा छ भने ।

तपाई निर्वाचनको पक्षमा कि संसद पुनस्थापनाको पक्षमा ? यो गलत प्रश्न हो । तपाई संविधानको पक्षमा हो कि होइन ? प्रश्न यो हो । तपाई संविधानको पक्षमा हो भने तपाई जनताको पक्षमा हो कि होइन ? तपाई न्यायको पक्षमा हो कि होइन ? तपाई आज न्यायको पक्षमा हो कि अन्यायको पक्षमा ? तपाई आज संविधान र जनताको पक्षमा हो कि यो संविधानलाई विघटन गर्ने तत्वहरूको पक्षमा हो ? प्रश्न यो हो । यो प्रश्नमा नेपाली कांग्रेसले स्पष्ट निर्णय गरेर आफूलाई उभ्याएको छ ।

तर निर्णयमा कतिपय साथीहरू अलमलिनुभएको छ । अभिव्यक्तिहरूमा अलमलिनुभएको छ । म तमाम साथीहरूलाई अनुरोध गर्छु, पार्टीको जुनसुकै तहको नेता होस्, उ पार्टीको निर्णयमा बाँधिएको छ र पार्टीको निर्णय यही हो । पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको कदम असंवैधानिक हो । ‘असंवैधानिक कदम मुर्दावाद्,’ पार्टीको नारा यही हो । यो भन्दा दायाँ बायाँ न पार्टीको निर्णय छ, न कसैले निर्णय गराउन पाउँछ ।

प्रश्न कांग्रेसलाई मात्रै होइन, प्रश्न अदालतलाई पनि आउँछ । केही अदालतको बारेमा बोल्नु हुँदैन भन्नुहुन्छ । म फेरि भन्छु बिपि कोइरालाको पार्टीको कार्यकर्ता हो हामी । बिपि कोइराला तिनै हुन् जसले सर्वोच्च अदालततर्फ हेरेर भन्नुभयो ‘यो अदालत हो श्रीमान्, न्यायको चारकिल्लाभित्र न्यायको हत्या नहोस् ।’ पञ्चायतका बेलामा अदालततर्फ हेरेर फाँसी मुद्दा लागेका बेला यसरी बोलेका बिपिका कार्यकर्ताहरू आज रामशाह पथ देखेर परपर भाग्छन् र अदालतका बारेमा ‘बोल्दैनौँ’ भन्छन् भने ती कायर मात्र हुन सक्छन् ।

अदालतको बारेमा कांग्रेसले बोल्दैन भन्ने भ्रम नराखौँ । अदालतमा भइरहेका विषयका बारेमा कांग्रेस बोलिसक्यो र भनिसक्यो, पुष ५ गतेको कदम असंवैधानिक हो । अब अदालतले यो भन्दा दाँयाबाँया फैसला गर्दैन भन्ने हाम्रो विश्वास छ । अदालतले गर्न सक्दैन र गर्नु हुँदैन भन्ने हाम्रो विश्वास हो ।

‘अदालतले संसदको सम्मान राखोस्’

श्रीमान्हरूलाई हामी भन्न चाहन्छौँ, तपाईंहरू संविधान पल्टाएर हेरिराख्नुभएको छ, हेर्ने त्यही नै हो । संविधानका अक्षर र धाराहरू पढिरहनु भएको छ, पढ्ने त्यही नै हो । तर संविधानका ती धारा र अक्षरहरू शुन्यबाट आएका होइनन् । त्यसको सिर्जना कहाँबाट भयो ? त्यो कहाँबाट आयो ? कहाँबाट जन्मियो ? त्यही संविधानसभाबाट जन्मियो । म ती दुईवटा संविधानसभाबाट काम गरेर आएको सदस्य हुँ । पहिलो संविधान सभाको एउटा÷एउटा छलफल तिथि÷मिति याद छ । सुवास नेम्वाङको कोठाभित्र भएका एउटा÷एउटा छलफलहरू अहिले पनि सम्झिरहेको छु ।

पहिलो संविधानसभाबाट संविधान बनेको भए, आज नेपालमा संसदीय व्यवस्था रहने थिएन । त्यो यात्रा पार गरेर हामी दोस्रो संविधानसभामा आयौँ । एकातिर हामीलाई प्रत्यक्ष निर्वाचित कार्यकारी र अर्कोतिर स्थिरता भइदिओस् भन्ने चाहना थियो । तर अर्कोतिर संसदीय व्यवस्था पनि रहिदिओस् भन्ने थियो । संसदीय व्यवस्था रहेन भने नेपालको विविधताको प्रतिनिधित्व हुन सक्दैन भन्ने यथार्थको बोधका बीचमा हामीले एउटा निर्णय ग¥यौँ, हामी संसदीय व्यवस्था राख्छौँ, तर यस्तो संसदीय व्यवस्था राख्छौँ, जसमा हुने व्यवस्था न भूत हो न भविष्य ।

संसारको कुनैपनि देशको संविधानमा नभएको व्यवस्था हाम्रो संविधानमा हामीले राखेको छौँ । एउटा संविधान कसैले मलाई बताइदिओस्, जसमा संसदीय व्यवस्थामा संसदबाट निर्वाचित प्रधानमन्त्रीलाई दुई वर्ष अविश्वासको प्रस्ताव राख्न नपाउने व्यवस्था छ । दुई वर्ष अविश्वासको प्रस्तावको बारेमा जब प्रधानमन्त्री निर्धक्क भएर बस्नुभयो, त्यो बेलामा नेपालको संविधान सिरानी राख्ने ? अनि आज जब यो संविधानले तपार्इंलाई संसद विघटन गर्न दिएन, अनि त्यतिबेला भारतको संविधानले यसो भन्छ, बेलायतको संविधानले यसो भन्छ भन्ने ? त्यसो भए भारत जानुहोस् । त्यसो भए बेलायत जानुहोस् । यो नेपाल हो श्रीमान्, यहाँ नेपालको संविधान लाग्छ ।

नेपालको संविधानमा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्न पाउने कुरा लेखिएको छैन । संविधान सभामा हामीले काम गर्दैगर्दा नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा मस्यौदा समितिमा छलफलका क्रममा कम्युनिष्ट पार्टीहरूले अदालतलाई संसद मातहत राख्न प्रस्ताव गरेका थिए । प्रस्ताव थियो, एउटा संसदीय समितिले अदालतलाई हेर्नुपर्छ । यो प्रस्ताव हामीले मानेनौँ । अदालतको स्वतन्त्रताका लागि हामीले रोक्यौँ । यही संसदले अदालतको सम्मान राख्यो । अब हामी चाहन्छौँ, अदालतले संसदको सम्मान राखोस् ।

‘संविधान मात्रै हेर्दिए पुग्छ’

अदालतमा कहिलेकाहीँ चिन्ता व्यक्त गरेको सुनिन्छ, बहुमत प्राप्त प्रधानमन्त्रीलाई सरकार चलाउन मन लागेन भने के गर्ने ? हामीले श्रीमान्लाई भनेका छौँ, त्यसो भए बहुमत प्राप्त प्रधानमन्त्रीले उनको घर जाने, घर बस्न मन नलागे वन जाने । त्यो भन्दा बाहेकको बाटो यो संविधानले देखाउँदैन । यो संविधानको धारा ७६ मा छलफल भइरहेको छ । धारा ७६ ले संविधानको मस्यौदा समिति, सम्माननीय अदालतका श्रीमान्हरूलाई हामी भन्न चाहन्छौँ, हामी जनताका प्रतिनिधि हौँ । नजानेर, नबुझेर धारा १, २, ३ लेखेको होइन । सरासर २०४७ सालको धारा ५३ जस्तो बहुमत प्राप्त प्रधानमन्त्रीले संसद भंग गर्न पाउनेछ भनेर लेखिहाल्थ्यौँ । लेख्न नआउने हो ? पढ्न नआउने हो ? बहुमत प्राप्त प्रधानमन्त्रीले गर्न पाउँदैन भनेरै त्यसकारणले गर्दा गर्न नपाइने व्यवस्था ग-यौँ ।

यति कुरा प्रष्टसँग लेख्दै गर्दा पनि संविधानको व्यख्या गर्दै गर्दा तलमाथि हुन्छ भने प्रश्न उठ्छ श्रीमान् । जवाफ दिनुपर्ने हुन्छ । किनकी अदालतले पनि लेखेको कुरा व्याख्या गर्ने हो । काल्पनिक कुरा अदालतले थप्न पाउँदैन । यो संविधानमा थप गर्न नपाउने अधिकार अदालतलाई पनि छैन । लेखेको कुरा व्याख्या गर्न पाउने मात्रै हो । यतिमात्रै होइन, तपाईं प्रत्येक नेपाली नागरिकहरूले यो कुरा मनन् गर्नुपर्छ, प्रधानमन्त्री ओलीको संसद विघटनको यो प्रस्ताव सदर हुने हो भने लोकतन्त्रमा जनताको निर्वाचनको यो भन्दा ठूलो अपमान हुने छैन ।

हाम्रो संविधानमा त लेखेको छैन छैन, कहिलेकाहीँ के कुरा गरिन्छ भने संसारको विभिन्न संविधानमा भएको व्यवस्थाको कुरा गरिन्छ । संसदीय व्यवस्थाको कुरा गरिन्छ । हाम्रो संविधानमा नलेखिएको तर संसदीय परम्पराको कसैले बहस गर्छ भने एकपटक पल्टाएर हेरौँ, एउटा संसद विघटन गरेको घटना कसैले मलाई बताइदिओस्, जहाँको प्रधानमन्त्रीले भन्छ ‘यो संसदमा सम्पूर्ण रुपमा मेरो बहुमत थियो, संसदमा मलाई केहीपनि समस्या भएको थिएन । तर राति सुतेको, बिहान उठ्दै गर्दा मलाई भंग गर्न मन लाग्यो, भंग गरिदिए ।’

प्रधानमन्त्रीको यो पत्रले यो भन्दा अरु केही भन्छ ? तपाईले पत्र पढ्नुभएको छ एकपटक ? प्रधानमन्त्री के भन्नुहुन्छ भने ‘मलाई दुई तिहाई बहुमत चाहियो, त्यसकारणले मैले संसद भंग गरिदिएँ । अब दुई तिहाई बहुमत दिनुस्।’ त्यसपछि प्रधानमन्त्री के भन्नुहुनेछ भने ‘दुई तिहाईले पुगेन, सम्पूर्ण चाहियो ।’ एउटा व्यवस्था वा अभ्यास कसैले देखाइदिओस्, जहाँ संसदमा समस्या नभईकन संसद विघटन भएको होस् । भएको छैन, कहीँपनि हुँदैन । हाम्रो मा त पाइंंदै पाइंदैन र पाइने ठाउँमा पनि हुँदैन । संसदमा समस्या आएपछि बल्ल संसद भंग गर्ने अभ्यास संविधानमा व्यवस्था भएका देशहरूमा छ । हाम्रोमा त त्यो पनि छैन । त्यसैले हामी श्रीमान्हरू तर्फ फर्किएर भनिरहेका छौँ, केही गर्नुपर्दैन, हाम्रो संविधानमात्रै हेर्दिए पुग्छ ।

‘अपहेलनाको मुद्दा खेप्न तयार छौँ’

प्रधानमन्त्रीले अदालतमा चलिरहेको कुरालाई ‘तमासा’ भनेर भन्नुभयो । तमासा भन्ने कुरालाई अदालतले कसरी लिन्छ, त्यो अदालतले जान्ने कुरा हो । केही पूर्व प्रधानन्यायधिशहरूले अदालतको ‘अ’ पनि उच्चारण गर्नुभएको थिएन । उहाँहरूले जम्मा एउटा कुरा गर्नुभयो, ‘प्रतिनिधि सभाको विघटन असंवैधानिक र यसले राजनीतिक गतिरोध उत्पन्न गरेको छ ।’ त्यति भनेको आधारमा पूर्व प्रधानन्यायधिशहरूलाई अदालतको अपहेलनाको मुद्दा लागेको छ ।

अदालतको प्रक्रिया छ, म प्रक्रियाको सम्मान गर्छु । मलाई विश्वास छ, अदालतले यसलाई दुधको दुध पानीको पानी बनाउनेछ । तर केवल एउटा कुरा सम्झाउन चाहन्छु, राजद्रोहको मुद्दा लागेको थियो मलाई । देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीको नेतृत्वमा भएको नागरिक आन्दोलनमा नारा लगाएको वाहनामा राजद्रोहको मुद्दा लागेर म हिरासतमा थिएँ । विशेष अदालतमा म माथिको मुद्दामा बहस चलिरहेको थियो । बहस चल्दै गर्दा थुप्रै युवा साथीहरू अदालत परिसरमा छिर्नुभयो । तलबाट नारा लाग्न थाल्यो, ‘ज्ञाने चोर देश छोड।’

त्यही बेलामा मेरो पक्षमा बहस गर्दै गरेका वकिलले भन्नुभयो, ‘श्रीमान, एकछिन अदालतमा मौनता चाहन्छु, एकछिन कोही नबोलिदिनुस् ।’ कोही बोलेनन्, पछि युवाहरू भित्रै पसे, नारा लगाउँदै गए, अब स्वर ठूल्ठूलो हुँदै गयो । अनि मेरा पक्षका वकिलहरूले भन्नुभयो, ‘श्रीमान्, मेरो पक्षलाई आज जुन् आरोप लागेको छ, त्यो आरोपको आधारमा आज यसलाई राजद्रोही भन्ने हो भने ती राजद्रोहीहरू त अदालतमा आइसके । यी सबैलाई तपाईंले राजद्रोही भन्नुपर्छ । अब कतिलाई राजद्रोही भन्नुहुन्छ ?’

आज संविधानमा नलेखिएको आधारमा संसद विघटन गरेको कुरा गलत हो भनेर कसैले ख्याल गर्दै गर्दा नेपालको प्रधानमन्त्री विधिको शासनमा विश्वास गर्नुहुन्न, सेटिङको शासनमा विश्वास गर्नुहुन्छ भनेर कसैले भन्दै गर्दा अदालतको अपहेलनाको मुद्दा लाग्छ भने अपहेलनाको मुद्दा हामी सबैलाई लगाइयोस्, श्रीमान् । हामी सबै त्यो मुद्दा खेप्न तयार छौँ । न्यायको पक्षमा बोल्दै गर्दा अदालतको अपमान हुँदैन । हामी अदालतको मान बढाउन चाहन्छौँ । अदालतको शान बढाउन चाहन्छौँ ।

सर्वोच्च अदालत भन्ने नाम र मान संविधानले दिएको हो । तर सर्वोच्च अदालतप्रतिको सर्वोच्च विश्वास, अदालतले नै आर्जन गर्नुपर्छ । न्याय र फैसलाबाट आर्जन गर्नुपर्छ । न्याय गरेको देखिनुपर्छ र त्यसका निम्ति हामी बोलिरहेका छौँ । कतिपय साथीहरू भन्नुहुन्छ, ‘नेपाल कम्युनिष्ट पार्टी दुईवटा हुँदै गर्दा कुनै एउटाको पक्षमा नबोलौँ, कुनै अर्कोको पक्षमा नबोलौँ ।’ यसमा अलमलिनुपर्ने कारण केही पनि छ जस्तो मलाई लाग्दैन । कम्युनिष्ट पार्टीका साथीहरू अहिले दुईतिर फर्किएर बस्नुभएको छ । एउटाले अर्कोको वस्त्र उतार्नुहुन्छ र भन्नुहुन्छ, ‘ल हेर आज मैले उतारिदिएँ ।’ अर्कोले भन्नुहुन्छ, ‘उसले एउटा उता¥यो, मैले दुईवटा उतारिदिएँ ।’ उतार्दा उतार्दै केही दिनपछि दुवैथरी साथीहरू सर्वाङग नाङ्गिसकेपछि तपाई हामी कसैले पनि उहाँहरूलाई हेर्न सक्दैनौँ ।

‘मुर्ख शासक बदल्नुस्’

‘हामी यहाँ छौँ’ भनेर लेखेर बस्नुभएका साथीहरूलाई नेपाली जनता आफैंले प्रश्न गर्नुभएको छ । हिजो कांग्रेसका साथीहरूले संसद र सडकमा ‘राष्ट्रपति रानीजस्तो हुन खोजिबक्स्यो’ भन्दै गर्दा तपाईंहरू कहाँ हुनुन्थ्यो ? हिजो संसदमा ‘उपसभामुख चाहियो, होइन भने संवैधानिक परिषदमा प्रधानमन्त्रीले दादागिरी गर्नुहुन्छ,’ भन्दै गर्दा तपाईहरू कहाँ हुनुहुन्थ्यो ? हिजो निर्वाचन आयोगमा ‘स्वतन्त्र मान्छे लिए जाऔँ’ भन्दै गर्दा तपार्इंहरू कहाँ हुनुहुन्थ्यो ? आम जनताले गरेको प्रश्न हो ।

हामी यसमा अलमलिनु पर्दैन । किनभने आजको मूल प्रश्न यो होइन, आजको मूल प्रश्न सविधानमाथिको घात हो । आजको मूल प्रश्न संविधान विघटन गरिएको विषय हो । आजको मूल प्रश्न संविधानलाई ट्रयाकमा फर्काउने कुरा हो । आजको मूल प्रश्न व्यवस्था जोगाउने कुरा हो । खासगरी नौजवान साथीहरूलाई म अनुरोध गर्न चाहन्छु, ४६ सालमा म ९ कक्षामा पढ्थे, प्रदिप जी र हामी एउटै विद्यालयमा थियौँ । ठूलो परिवर्तन भयो । परिवर्तनपछि सब ठिकठाक हुन्छ जस्तो लाग्थ्यो । धेरै कुराहरू भनेको जस्तो भएन ।

माओवादी आयो, बन्दुक बोकेर । दरबार आयो, व्यवस्था नै बदल्छु भनेर । त्यो बेलाका युवाहरूको क्षणिक आवेग, क्षणिक नैरास्यताको दुरुपयोग गरेर अनेक शक्तिहरू आए । तर त्यसले हाम्रो पुस्ता खायो । हाम्रो पुस्ता गयो । यो बेला तपाईंको रिस पार्टीसँग हुन सक्छ, नेतासँग हुन सक्छ, रिस उठे पार्टी फेर्दिनुस्, नेता बदल्नुस् । तर पद्धति बदल्ने कुरामा साथ कसैले पनि नदिनुस् । यो पद्धति बदल्ने र भत्काउने कुरा फेरि एकपटक सुरु भयो भने, अर्को बिस वर्ष जान्छ, लेखेर राख्नुस् ।

तपाईलाई मनपरेन भने मुर्ख शासक बदल्नुस् । तर मुर्ख शासकको हुकुमले चल्ने पद्धतिले नेपालको हित हुँदोरहेनछ, भन्ने कुरा इतिहासले बताएको छ । पटक पटक प्रमाणित भएको छ । त्यसैले यो बेलामा कोहीप्रतिको माया राख्नुपर्दैन, कोहीप्रति दुराग्रह राख्नुपर्दैन । तपाईं कांग्रेस हुनै पर्दैन, कांग्रेस हुने, कांग्रेसलाई मत हाल्ने दिन आउँछ, त्यो दिन गर्नुहोला । यो पटक तपाई एउटा नागरिक भएर सोच्ने हो, यो पटक नेपालको भविष्यबारे सोच्ने हो ।

जसरी गंगालाल २२ वर्षको उमेरमा भोलि तपाई र मैले उज्यालो देख्न पाउँला कि नपाउँला भनेर बोले, बोले मात्र होइन, गोली खाए । तपाई आज तपाईं, तपाईंको भाविष्य र देशका लागि बोल्न तयार हो कि होइन ? बाहिर मैदानमा आउन तयार हो कि होइन ? यसैले म एउटै कुरा आग्रह गरेर टुंग्याउन चाहन्छु, कवि विनोदविक्रम केसीको कवितालाई थोरै मैले आफ्नो हिसाबले बनाएको छु ।

टाउकोमा लाठी खान तयार रहनुस्,
ढाडमा बुट खान तयार रहनुस्
छातीमा गोली खान तयार रहनुस्
मस्तिष्कलाई जेलको हावा खान तयार राख्नुस्
मनलाई मृत्युलाई मोई खानका लागि तयार राख्नुस्
नत्र तानाशाहसँग हार खाएर
इतिहासको गाली खान तयार रहनुस्

इतिहासको गाली खाने हो वा लड्ने हो ? संकल्प गर्ने हो कि होइन ? बोल्ने हो कि होइन ? लड्ने हो कि होइन ? डट्ने हो कि होइन ? यही साहस र संकल्पका साथ देशभरीका साथीहरू उठ्नुहुन्छ भन्ने विश्वास गर्दै मेरो कुरा टुंग्याउँछु ।

(प्रतिगमनविरुद्ध नेपाली कांग्रेले गत माघ १६ गते काठमाडौंको रत्नपार्कमा आयोजित विरोध सभामा नेपाली कांग्रेसका नेता थापाले दिएको मन्तव्य।)

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
nepal_readers

nepal_readers

नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

Discussion about this post

Connect with us

Recommended

दलाल पुँजीवादलाई बोकेर समाजवाद आउदैन – घनश्याम भूसाल

ल्याटिन अमेरिकामाथि सिआईएको असफल हस्तक्षेपहरू – शृंखला १ (ग्वाटेमाला)

2 years ago
दलाल पुँजीवादलाई बोकेर समाजवाद आउदैन – घनश्याम भूसाल

ल्याटिन अमेरिकामाथि सिआईएको असफल हस्तक्षेपहरू – शृंखला ३ (बोलिभिया)

2 years ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.