विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिने उद्देश्यले जर्मनीले घर तथा कार्यालयबाहेक अन्य स्थानमा दुई जनाभन्दा बढी भेला हुन नपाइने नियम लागू गरेको छ ।यसैबीच जर्मनी चान्सलर एञ्जेला मार्केलको सम्पर्कमा आएका एक चिकित्सकलाई कोरोनाभाइरस सङ्क्रमण भएको थाहा भएपछि मार्केल क्वारन्टाइन अर्थात् एकान्तवासमा बस्नु भएको उनका प्रवक्ताले बताएका छन् ।
कोरोनाभाइरस प्रकोप नियन्त्रणका लागि जर्मनीमा दुई जनाभन्दा धेरैको सार्वजनिक जमघटमा प्रतिबन्ध लगाएको हो । एक टेलिभिजनमा सम्बोधन गर्नु हुदै चान्सलर मार्केलले सङ्क्रमणको दर घटाउन आफ्नै व्यवहार सबभन्दा प्रभावकारी माध्यम भएको बताएकी छिन् ।सार्वजनिक स्थानमा एक व्यक्ति अर्का व्यक्ति भन्दा डेढ मिटर, सकिन्छ भने दुई मिटरको दूरीमा रहनुपर्ने अनिवार्य गरिएको छ । कार्यालय वा चिकित्सककहाँ जान सकिने र स्वच्छ हावाका लागि एक्लै बाहिर निस्किन सकिने तर, अन्य लगभग सबै सार्वजनिक जमघट प्रतिबन्धित गरिएको समाचारमा जनाइएको छ ।
चान्सलर मार्केलले टेलिभिजनमा सम्बोधन गर्नु भएको केही समयपछि उनको कार्यालयले उनी स्वयम् क्वारन्टाइनमा बस्ने निर्णय भएको जानकारी दिएको थियो । गत शुक्रवार उनलाई न्युमोनियाको खोप दिएका एक चिकित्सकमा कोरोनाभाइरस सङ्क्रमण भएको पाइएपछि उनी आफै क्वारन्टाइनमा बस्नुपरेको हो । जर्मनीमा कोरोना भाइरस सङ्क्रमणको कारण ९४ व्यक्तिको मृत्यु भएको छ । हाल २४ हजार ८७३ जना सङक्रमित रहेका छन् । सोमबार प्राप्त एक समाचारका अनुसार २६६ उपचारपछि निको भएर घर फर्किएका छन् । –एएफपी