नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग साइबर सेना भनेर बनाइएका साइबर स्यालहरुमात्रै बाँकी रहेको टिप्पणी गरेका छन् ।
प्रचण्ड–नेपाल समूहले शुक्रबार काठमाडौंमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै भुसालले भने,‘ओलीजी तपाईं अझै सुध्रिनुभएन र अझै भ्रममा हुनुहुन्छ । अब तपाईंसँग पार्टीका कार्यकर्ता होइन, साइबर सेना भनेर बनाइएका साइबर स्यालहरुमात्रै बाँकी छन् । ’
उनले प्रधानमन्त्री ओलीले मिलाएको भनिएको सेटिङकै आधारमा सर्वोच्च अदालतले संसद विघटन नगर्ने पनि दाबी गरे । ‘तपाईसँग सेटिङवाला टोकन चाहिँ बाँकी छ । संविधान, कानुनविद्, बुद्धिजीवी, नागरिक समाज लगायत सबैले भनिरहेका छन्, संसद विघटन गरेर प्रधानमनत्री ओलीले गलत गर्नु भयो भनेर । सबै ओलीले जित्नु हुन्न भन्ने पक्षमै छन् ,’ भुसालले भने,‘अदालत तपाईंसँग डराएर संसद विघटन गर्ने निर्णयमा पुग्दैन । यो लडाइँ हामी जित्छौं, तपाईं हार्नुहुन्छ ।’
उनले स्यालहरुले रजाइँ दन्त्य कथामामात्रै हुने बताए । ‘स्यालहरुको रजाइँ दन्त्य कथामा मात्रै हुन्छ,’ उनले भने,‘ संसद पुनर्स्थापना हुँदैछ । यो लडाइँ हामी जित्दैछौँ । ’ भुसालले संसद पुनर्स्थापनाको पक्षमा वा असंवैधानिक काम गर्ने प्रधानमन्त्री ओलीको पक्षमा उभिने त्यो निर्णय आफैँले लिन कार्यकर्तालाई आग्रह गरे ।- शिलापत्र