गुल्मीको धुर्कोट गाउँपालिकाले खेती गर्नेलाई अनुदान रकम दिने निर्णय गरेको छ।कोरोनाले खाद्य संकट हुन सक्ने भन्दै गाउँपालिकाले कृषिमा प्रोत्साहन गर्न अन्नबाली र फलफूल खेती गर्नेलाई अनुदान दिने निर्णय गरेको हो।
अनुदान लिन चाहनेलाई १५ दिनभित्र वडा कार्यालयमा सम्पर्क राख्न गाउँपालिकाले आग्रह गरेको छ।बाँझो जग्गामा सुन्तला, कागतीलगायत फलफूल खेती गरेमा प्रतिरोपनी तीन हजार रूपैंयाका दरले अनुदान उपलब्ध गराउने गाउँपालिकाको निर्णयमा उल्लेख छ।
बाँझो जग्गामा अन्नबाली, तरकारीबाली तथा मसलेदार खेती गरेमा प्रतिरोपनी चार हजार दरले अनुदान दिने गाउँपालिका प्रमुख भुपाल पोखरेलले बताए।लकडाउनका बेला गाउँपालिकाको तर्फबाट खाद्यान्न पाएका विपन्न र मजदुरले बाँझो जमिन लिजमा लिएर वा आफ्नै स्वामित्वमा रहेको जग्गामा खेती गरे प्रतिरोपनी पाँच हजारका दरले अनुदान रकम दिइने उनले बताए।
तर कसैले खेतीयोग्य जमिन बाँझो राखेको पाइए आगामी गाउँ सभाबाट पास हुने गरी भूमिकर वृद्धि गरिने पनि निर्णय भएको पोखरेलले बताए।अनुदान रकम लिन विगत २ वर्षदेखि खेतीयोग्य जमिन बाँझो रहेको हुनुपर्ने गाउँपालिकाले जनाएको छ।