सन् २०२० नेपाल-चीन सम्बन्धमा ऐतिहासिक वर्ष : राजदूत यान्छी

नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले सन् २०२० नेपाल-चीन सम्बन्धका हिसाबले ऐतिहासिक वर्ष हुने बताएकी छिन् । उनले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमका दौरान भएका सहमति यसै वर्षबाट कार्यान्वयनमा लैजाने पनि जानकारी दिइन् ।

चिनियाँ नयाँ वर्षको अवसरमा अरनिको समाजले मंगलबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै राजदूत यान्छीले पुरानो वर्षलाई विदाई गरेर नयाँ वर्षलाइ स्वागत गरिने चिनियाँ नयाँ वर्ष पारिवारिक मिलन र सुखको पर्व भएको बताइन् । उनले नयाँ वर्षलाई ‘नयाँ युगमा नयाँ कार्य’को संज्ञा दिंदै नेपाल-चीन सम्बन्ध पनि नयाँ ढंगले विकसित हुने विश्वास व्यक्त गरिन् ।

उनले भनिन्, ‘नेपाल र चीनबीच दौत्य सम्बन्ध स्थापनाको ६५ वर्ष पुरा भएको अवसर तथा गतवर्ष चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका दौरान भएका सहमति कार्यान्वयनमा लैजाने वर्ष भएकाले सन् २०२० ऐतिहासिक र महत्वपूर्ण वर्ष हुने विश्वास लिएकी छु ।’

राजदूत यान्छीले हजारौं वर्ष पुरानो नेपाल(चीन सम्बन्ध आगामी दिनमा थप प्रगाढ बन्ने विश्वास पनि व्यक्त गरिन् । उनले पछिल्लो समय दुई देशबीचको सम्बन्ध शैक्षिक र सांस्कृतिक रुपले उच्चस्तरमा पुगेको भन्दै खुसि व्यक्त गरिन् । दुई देशबीचको सम्बन्धलाई जनस्तरमा पुर्याउन अरनिको समाजले खेलेको भूमिकाको उनले खुलेर प्रसंशा पनि गरिन् । जनादेश डटकम

फेसबुकबाट तपाईको प्रतिक्रिया