प्रतिनिधिसभा विघटनबारेको सुनुवाइ सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतबार पनि जारी छ । सो इजलासमा प्रधानमन्त्री खड्गप्रसाद ओलीले अदालतको अवहेलना हुनेगरी अभिव्यक्ति दिएको भन्दै कानुन व्यवसायीले प्रश्न उठाएका छन् । प्रधानमन्त्री ओलीले अदालतको अवहेलना गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले इजलासको ध्यानाकर्षण गराएका हुन् ।
‘बजारका कुरा सुनिसाध्य छैनन् । हामीले इजलासमा उठेका विषय मात्रै सुन्ने हो,’ जवाफमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले भने, ‘बजारको कुरो सुन्यो भने वर्तमान, पूर्व सबैलाई यहाँ नै ल्याएर जम्मा गर्नुपर्ने अवस्था छ, फेरि ठाउँ नहोला,’ जबराले भने । शुक्रवार प्रतिनिधिसभा विघटनको विषयलाई लिएर कामचलाउ प्रधानमन्त्री ओलीले ‘सर्वोच्च अदालतमा तमासा भइरहेको’ अभिव्यक्ति दिएका थिए ।