सामान्य दिनहरूमा दैनिक घरेलु काममा पुरुषभन्दा बढी समय खटिने महिलाहरू चाडपर्वका समय झनै बढी व्यस्त हुने गर्छन्। चाडपर्व शुरु नहुँदैदेखिको तयारी, सरसफाई, सामाग्रीहरू जोडजाम तथा पाहुनाहरूको स्वागत सत्कार लगायतका अधिकांश घरेलु काममा बढी खटिनुपर्ने हुँदा कतिपय महिलाहरू चाडपर्वको रंगरमाइलोमा भुल्लिन समेत समय पाइरहेका हुँदैनन्। भनिन्छ, चाडपर्वहरू वर्षभरीको थकान मेटाउन र दुःख पिर भुलेर मनोरञ्जनमा समय बिताउन मनाउने गरिन्छ। तर चाडपर्वमा बढ्दो कामको बोझले महिलाहरूको हकमा भने यो थकान मेटाउने र रमाइलो गर्ने भन्दा बढी थकित र दुखी हुने समयजस्तो बन्न पुग्छ।
पेड र अनपेड कामको बोझ
पितृसत्तात्मक समाजमा घरभित्रको काम महिलाहरूको लागि ‘ठेक्का’ नै मानिन्छ। यसवापत महिलाले न त कुनै मूल्य नै पाउँछन्, न कुनै सम्मान वा प्रशंसा। बिना मूल्य वा बिना पारिश्रमिकका यस्ता कामले महिलाहरूमा मानसिक समस्या नै निम्तिने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन्। चाडपर्वमा घरेलु कामको बोझ बढ्ने भएकाले महिलाहरूमा यो समस्या झनै बढी देखिन्छ। घरेलु कामका कारण महिलाहरूको मानसिक स्वास्थ्यमा पर्ने असरलाई नजरअन्दाज नै गर्ने गरिन्छ। यस विषयमा कमै अनुसन्धान भएको पाइन्छ।
हालैको एक अध्ययनले भनेको छ, बिना तलव काम गर्ने मानिसले मानसिक स्वास्थ्यसँग जोडिएको समस्याको बढी सामना गर्नुपर्छ। लिङ्गमा आधारित भूमिका निर्वाह गर्नुपर्ने र बिना तलब काम गर्नु परेका कारण महिलाहरू बढी यसबाट प्रभावित हुन्छन्। विश्वभरमा महिलाहरूले घरेलु काममा पुरुषले भन्दा बढी समय बिताउँछन्।
‘ल्यासेन्ट दि पब्लिक हेल्थ’को एक अध्ययन अनुसार अनपेड वा बिना पारिश्रमिकका कामका कारण महिलाहरूले खराब मानशिक अवस्थाको सामना गर्नुपरेको छ। कुल १९ अध्ययनहरूको समिक्षा गरी गरिएको यो अध्ययनले अनपेड लेवरका कारण महिलाहरूमा डिप्रेशन र मनोवैज्ञानिक तनावको लक्षणहरू देखिने बताएको छ।
बिना पारिश्रमिकको काम खासगरी लिङ्गको आधारमा विभाजन गर्ने गरिएको छ। पुरुषहरू देनिक ०.५ देखि २ घन्टा बिना पारिश्रमिकको काम गर्छन् भने महिलाहरू प्रतिदिन ३ देखि ६ घन्टासम्म यसखालको काममा समय बिताउँछन्। यति मात्र होइन पेड र अनपेड अर्थात् पारिश्रमिक पाउने वा नपाउने दुवै काममा महिलाहरूले समय गुजार्ने गर्छन।
रिसर्चका अनुसार यदि एक हप्तामा एक घन्टा अतिरिक्त बिना पारिश्रमिकको कामको भार बढ्छ भने थोरै नै भएपनि महिलाको मानसिक स्वास्थ्यमा पर्ने असर थपिन्छ। यदि १० घन्टाको बिना पारिश्रमिकको काम बढ्छ भने यसबाट मानिसमा डिप्रेसनको स्कोर ०.२ देखि ०.४ प्वाइन्टसम्म बढ्ने अनुसन्धानले देखाएको छ। यस समस्याबाट महिलाहरू बढी ग्रसित हुने गर्छन्। त्यसैले चाडपर्वमा घरेलु काम थपिने हुँदा त्यसबाट महिलालाई अरु सामान्य दिनको तुलनामा मानसिक समस्या थप हुनेगर्छ। यसले गर्दा महिलाहरूमा रिस उठ्ने, चिडचिडापन र डिप्रेसन बढ्ने बताइन्छ।
यस अनुसन्धानका प्रमुख जेन इरविनले भनेका छन्, “विश्वभरका ३५ भन्दा धेरै देशमा लैंगिक भेदभावका कारण हरेक भौगोलिक स्थिति र समयमा महिलाहरूलाई बढी बिना पारिश्रमिकको श्रम गर्नुपर्छ।” उनले भने, “पेड र अनपेड कामको दोहोरो बोझले महिलाहरूलाई समयको अभाव हुने र उनले खराब मानसिक स्वास्थ्यको सामना गर्नुपर्ने देखिन्छ। र महत्वपूर्ण कुरा, महिलाहहरू पेड काम (जागिर वा व्यवसाय)पछि पनि लगातार अनपेड काम गर्छन्।”अध्ययनले यो समस्याको समाधानका लागि बिना पारिश्रमिकको काम खासगरी घरेलु कामलाई लिङ्गको आधारमा नभएर न्यायिक हिसाबले विभाजन गर्न सुझाएको पनि छ।
सानैदेखिको ‘प्रशिक्षण’
लिङ्गका आधारमा विभाजन गरिएको कामका कारण महिलाहरूमा कामको बोझ बढी हुने गर्छ। पुरुषहरूले घरबाहिरको मात्र काम गर्ने र महिलाले घरभित्रको मात्र काम गर्ने भनेर गरिएको बाँडफाँड हिजोको समय अनुकूल हुनसक्छ, तर आज महिलाहरूले घरको चौघेरो नाघिसक्दा समेत उनीहरू घरेलु कामको सिंगो बोझबाट मुक्त हुन सकेका छैनन्। थोरै संख्यामा पुरुषहरूले घरको काममा महिलालाई सहयोग गर्ने गर्छन्, तर अधिकांश महिलाहरूले घरको दैनिक काम, बालबालिका तथा वृद्धवृद्धा स्याहारसहित आफ्नो जागिर तथा व्यवसाय सञ्चालन गर्ने गरेको गुनासो गर्छन्।
हामीले हाम्रै समाजमा देख्ने र भोग्ने गरेकाछौं, महिलालाई विवाहपछिको घरमा काम गर्नका लागि तयार पार्न बच्चा उमेर देखि ‘प्रशिक्षण’ नै गराइन्छ। यसरी काम नगरे ‘पछि लोग्नेको घरमा दुःख पाउँछेस्’ जस्ता भाष्य सायद हरेक छोरीहरूले सानै उमेरदेखि सुन्दै आएको हुनुपर्छ।
‘प्यू रिसर्च सेन्टर’का अनुसार केटीहरू किशोरावस्थादेखि नै केटाको तुलनामा बढी काम गर्न शुरु गर्छन्। अमेरिकामा विद्यालय जाने उमेरका केटीहरूले घरको काममा दैनिक औसत ३८ मिनेट खर्च गर्छन्। त्यस्तै केटाले एक दिनमा २४ मिनट खर्च गर्छन्। यो अध्ययनले देखाएअनुसार केटाको तुलनामा केटीहरूले सरसफाई र खाना बनाउनने काममा दुई गुणा समय बिताउँछन्। युनिसेफको आँकडा अनुसार दक्षिण एशिया, मध्यपूर्व र उत्तरी अफ्रीकाका देशहरूमा १० देखि १४ वर्षको उमेरमा केटीहरू घरको काममा केटाभन्दा दुई गुणा समय बिताउँछन्।
कोभिडको असर
ल्यानसेटले गरेको अध्ययनले कोभिड महामारीका कारण महिलाहरूमा कामको बोझ बढेको छ। साथै, आर्थिक स्थितिमा परेको नकारात्मक असरका कारण पनि महिलाहरू बढी मानसिक तनावबाट गुज्रिएका छन्। कोभिडका कारण कति महिलाहरूले काम छोड्नुपरेको, घरका बिरामी सदस्यको सेवा, बालबालिकाको विद्यालय बन्द लगायतका विभिन्न कारण घरेलु काममा बढी समय दिनुपरेको हो।
नेपाल, भारत लगायत दक्षिण एशियाका देशहरूमा रीतिरिवाज र परम्पराको आधारमा पनि महिलाहरू घरेलु तथा बिना पारिश्रमिकको काम गर्न बाध्य हुन्छन्। डाउन टू अर्थमा छापिएको एक रिपोर्टका अनुसार भारतमा महिलाहरूले दैनिक ३५२ मिनेटको समय घरको काममा बिताउँछन् भने पुरुषहरूको हकमा यो समय केवल ५१.८ मिनट प्रतिदिन छ।
महिलाको मानसिक स्वास्थ्यमाथिको बहस
महिलाको मानसिक स्वास्थ्यको मुद्दा राजनीतिक, आर्थिक र सामाजिक पाटोबाट हेर्न आवश्यक छ। महिलाहरूलाई मानसिक स्वास्थ्यप्रति सचेत रहन र उनलाई यसबाट बचाउन परिवारका सदस्यहरूले विशेष ख्याल गर्नुपर्ने हुन्छ। मानसिक तनावका कारण महिलाको शारीरिक स्वास्थ्यमा पनि धरै असर पर्छ, जसबाट धेरै प्रकारका रोगहरू हुने खतरा हुन्छ। त्यसैले बढी कामको बोझ हुने चाडबाड तथा कुनै रीतिरिवाज मान्नुपर्ने समय होस् वा दैनिक जीवन जहिलेसुकै महिलालाई आवश्यक भन्दा बढी मानसिक तथा शारीरिक तनाव हुने खालका काममा घरका पुरुष सदस्यहरूले पनि सहयोग र साथ दिन अत्यन्तै जरुरी हुन्छ।