नेपाल, भारतलगायत दक्षिण एशियामा वनको सांस्कृतिक तथा आर्थिक महत्व छ। यसकै छत्रछायाँमा यहाँको सभ्यता र संस्कृतिको विकास भएको छ। भौतिक विकाशले ठूलो छलाङ मार्र्दै गर्दा उपभोक्तावादी संस्कृतिले सिर्जना गरेको प्रदुषणका कारण पनि वनको महत्व झनै बढ्न गएको छ। सही शब्दमा भन्नुपर्दा पृथ्वीमा जीवन जिउनका लागि वन रहनु एकदमै जरुरी छ किनकी जनावर र पशुपंक्षीहरूको घर हो वन।
तर आज जंगलको अवस्था देख्दा जो कोहीको पनि मन विचलित हुन्छ। आज मानिस यति स्वार्थी र लोभी भयो कि उ लगातार रुख काट्छ तर त्यसको क्षतिपूर्ति हुने गरी त्यसको बदलामा रूख रोप्दैन। जसका कारण दिनप्रतिदिन जंगल उजाडिदै गएको छ। त्युसमाथि विकाशका नाममा सडक, रेलमार्ग, विमानस्थल, रंगशाला र नहर बनाउने नाममा पनि जंगल विनास गरिँदैछ । जंगलको क्षेत्र कम हुँदै जानुको मुख्य कारण पनि यो हो।
यो कुरा जगजाहेर छ कि गएको वर्षको सुरुमा लामो समयसम्म अस्ट्रेलियाको जंगलमा विशाल आगलागी भयो। आगोलाई नियन्त्रणमा लिनका लागि अवलम्बन गरिएका प्रयासहरू असफल भए। यसबाट करोडौँ पशुपक्षी जलेर मरे। नेपालका वनमा पनि वर्षेनी सुख्खायामको समयमा डढेलो लाग्ने गरेको छ। डढेलोबाट वन विनाशमात्रै होइन, त्यहा बसोबास गर्ने कतिपय पशुपंक्षी ढडेर मरेका छन् भने कतिपय बास छाडेर अन्यत्र जान बाध्य भएका छन्। त्यसबाट त्यहाँका बन पैदावार नष्ट भएका छन् र त्यहाँको जैविक विविधितममा असर पार्ने गरेको छ । नेपालमा यसवर्ष डढेलोका कारण देशभरी प्रदुषण समेत बढेको छ।
आगो किन लाग्छ ?
जंगलमा आगो लाग्नुका मुख्य तीन कारण छन् : इन्धन, अक्सिजन र गर्मी। यदि गर्मीको मौसम छ भने चुरोटको ठुटाबाट पनि एकैछिनमा जंगलमा आगलागी हुनसक्छ। यसका अलावा कहिलकाहीँ प्राकृतिक रुपबाटै पनि आगो लाग्ने गर्छ। बिजुलीका तार सर्ट हुँदा आगो लाग्न सक्छ । जंगलमा हुने अधिकांश आगलागी भने मानिसकै लापरवाहीका कारणले हुने गर्छ। जस्तैः मान्छेले गर्ने आगजनी, बनभोज तथा क्याम्पफायरमार्फत आगो सल्कनु, चुरोट खाएर ठुटा फाल्नु, बलिरहेको फोहोर वन तथा खोल्छातिर फ्याँक्नु तथा चुरोट सल्काएर सलाई तथा प्रज्वलनशील सामग्री जंगलमा फाल्नु ।
आगलागी नियन्त्रणका ८ रणनीति र उपायहरू :
१. गर्मी याममा वनभोज या क्याम्पफायर जाँदा सबैले अत्यन्तै सचेत हुने । चुरोटका ठुटा या सलाईका काँटीलाई पुरै निभाएर मात्रै फोहर फाल्ने ठाउामा फाल्ने ।
२. जंगलका बीचबीचमा सानासाना ड्याङ बनाउने । त्यसो गर्दा अन्यत्रबाट आएको आगो सर्वत्र पुग्न पाउँदैन ।
३. जंगलमा सुकेका काठपातहरू बेलाबेला निकाल्ने। स्थानीयहरूलाई सहज रूपमा सुकेका काठपातको उपयोग गर्न दिने रणनीति स्थानीय सरकारहरूले अपनाउने ।
४. आगलागी फैलाउन सक्ने घाँस र खरहरूलाई गर्मी याम सुरु हुनुअघि नै पोल्ने, हटाउने ।
५. आगो लागेको सूचना वा संकेत दिने व्यक्तिलाई स्थानीय वातावरणीय संस्था वा स्थानीय निकायहरूले पुरस्कार र सम्मानको व्यवस्था गर्ने। आगो लगाउने व्यक्तिलाई पहिचान गरेर कारवाही गर्ने, गराउने।
६.जंगल हाम्रो अक्सिजन उत्पादक हो। यसर्थ, त्यति महत्वपूर्ण सम्पत्तिलाई आगोबाट जोगाउन केन्द्र, प्रदेश र स्थानीय सरकारहरूले पर्याप्त कर्मचारी, दमकल र अन्य उपकरणहरूको बेलैमा तयारी गर्ने। दमकलले आगो नियन्त्रण गर्न नसकिने अवस्था रहे अन्य सहज स्थानीय उपाय अवलम्वन गर्ने, गराउने । कमसेकम हिउँदे याममा अस्थायी रूपमै भएपनि प्रत्येक स्थानीय निकायले कर्मचारीहरूको व्यवस्था गरे तिनले आगलागी नियन्त्रणमा काम गर्नेछन् ।
७.रुख काट्ने, आगो लगाउने र बन मास्नेविरुद्ध कडा नियम र कानून तर्जुमा गर्ने।
८. बन र वातावरण संरक्षणको विषयलाई प्राथमिकतामा राख्न सरकारलाई दवाव दिने । सरकारले शिक्षा र स्वास्थ्यजत्तिकै महत्व वन र वातावरणलाई दिने ।